ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपैयाँ बराबरको एक्साभेटर अनुदानमा प्राप्त गरेको छ। भौगोलिक रूपमा विकट गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार निर्माणलाई गति दिने उद्देश्यले गरिएको दुई वर्षदेखिको पहलपछि मेसिन उपलब्ध भएको हो।
गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गामका अनुसार गाउँपालिकाले चीन सरकारसँग एक्साभेटर उपलब्ध गराउन अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा अनुदान प्राप्त भएको उनले बताए।
गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चङ्बाङले बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेसिन बुझ्ने प्रक्रिया पूरा गरेका छन्। अध्यक्ष हाङ्गामका अनुसार एक्साभेटर एक साताभित्र गाउँपालिकामा आइपुग्नेछ।
मेसिन सञ्चालनमा आएपछि ग्रामीण सडक निर्माण, मर्मत, स्तरोन्नति तथा नयाँ सडक विस्तारमा सहजता हुने गाउँपालिकाको अपेक्षा छ। यसबाट विभिन्न बस्तीलाई सडक सञ्जालसँग जोड्न र स्थानीय बासिन्दाको आवागमन सहज बनाउन सहयोग पुग्ने अध्यक्ष हाङ्गामले बताए।
एक्साभेटर प्राप्तिका लागि फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले समन्वयमा सहयोग गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्राप्त मेसिनलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकासमा उपयोग गर्ने जनाएको छ।