काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अघि बढेको आरोप लगाएका छन्। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको पछिल्लो व्यवहारले संविधान, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता बढाएको बताए।
मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र विवाद चर्किएपछि उन्मुक्ति दिने प्रवृत्ति आपत्तिजनक रहेको थापाको भनाइ छ। शासकको इच्छालाई नै कानुन ठान्ने सोच विकसित भए त्यसले मुलुकमा गम्भीर समस्या निम्त्याउने उनले चेतावनी दिए।
थापाले नागरिकले जस्तै सरकारले पनि कानुनको पालना गर्नुपर्नेमा जोड दिए। सरकार कानुनभन्दा माथि हुन नसक्ने उनको भनाइ थियो।
विचौलियासम्बन्धी विषयमा पनि गहिरो अनुसन्धान हुनुपर्ने थापाले बताए। यसमा संलग्न जोसुकै भए पनि दोषीमाथि कारबाही हुनुपर्ने उल्लेख गर्दै उनले निष्पक्ष अनुसन्धान र कारबाहीमा कांग्रेसको पूर्ण साथ रहने बताए।