काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ। वर्षा रोकिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजर लगाएर पहिरो र लेदो हटाउन थालिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सडकमा थुप्रिएको पहिरो पन्छाउने काम जारी छ। तर, राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ।
शुक्रबार र शनिबारको अविरल वर्षाले बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार बिहानदेखि सवारी आवागमन ठप्प हुँदा काठमाडौं आउजाउ गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।