काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौंको असन बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ। फूलपातीका लागि आवश्यक पूजासामग्रीदेखि खाद्यान्न, कपडा र जुत्तासम्म किन्न बिहानैदेखि ग्राहकको घुइँचो लागेको छ।
उखु, अदुवा, माला, चुनरी, चिउरा, मसला र टीकाका सामग्री किन्नेहरू बजारमा व्यस्त देखिन्छन्। दसैँको तयारीले व्यापारीलाई पनि भ्याइनभ्याइ छ। असनमा आमाको पसलमा सघाउँदै आएकी इशा शाक्य सामान मिलाउन र ग्राहकलाई बिक्री गर्न व्यस्त हुनुहुन्छ। उहाँकी आमा शान्ति शाक्य कामसँगै पढाइ र खर्च व्यवस्थापन गर्न युवापुस्ताले पनि श्रम गर्नुपर्ने बताउनुहुन्छ। दसैँका लागि किनमेल गर्नेको चाप फूलपातीसम्म अझ बढ्ने व्यापारीहरूको अपेक्षा छ।
परम्परागत बजार असनमा चाडपर्वको रौनकसँगै व्यापारिक गतिविधि पनि बढेको छ।