काठमाडौं । दसैँको आगमनसँगै धनकुटाका गाउँबस्तीमा लिङ्गे पिङ हाल्ने चहलपहल बढ्न थालेको छ। कुनै समय दसैँको पहिचान बनेको पिङ पछिल्ला वर्षमा हराउँदै गए पनि स्थानीयवासीले पुरानो परम्परा जोगाउने प्रयास गरिरहेका छन्।
दसैँमा पिङ खेलेर धर्ती छाड्नुपर्ने मान्यता र रमाइलोको परम्परा जोडिएको छ। गाउँलेहरू भेला भएर बाबियो, बाँसलगायत सामग्री प्रयोग गरी लिङ्गे पिङ बनाउने गर्थे। कतिपय ठाउँमा काठबाट रोटेपिङसमेत तयार पारिन्थ्यो।
पहिले नौरथा सुरु भएसँगै गाउँगाउँमा पिङ हाल्ने र तिहारसम्म खेल्ने चलन थियो। अहिले भने पिङ भेट्नै गाउँ चहार्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन्। युवा पुस्ता गाउँमा कम हुनु र आधुनिक मनोरञ्जनका साधनप्रति आकर्षण बढ्नुले यो परम्परा ओझेलमा परेको उनीहरूको भनाइ छ।
स्थानीय खेम घिमिरेका अनुसार दसैँमा घर रङरोगन गर्ने र पिङ हाल्ने चलन अझै रहे पनि पहिलेजस्तो उत्साह र चहलपहल छैन। खिन्द्र अधिकारी पनि पिङलाई दसैँको संस्कृति र मौलिकतासँग जोडिएको परम्परा मान्छन्।
स्थानीयको पहलमा कतिपय गाउँ तथा बजारमा फेरि लिङ्गे पिङ हालिन थालेका छन्। पिङ केवल मनोरञ्जनको साधन मात्र नभई गाउँलेलाई एकै ठाउँमा जोड्ने र चाडपर्वको आत्मीयता बढाउने माध्यम पनि हो। यसको निरन्तरताका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक देखिन्छ।
दसैँको रौनक
दसैँको रौनक
दसैँको रौनक
दसैँको रौनक
दसैँको रौनक