काठमाडौं । दसैँ बिदामा पनि ताप्लेजुङका मैवाखोला र मेरिङ्देन गाउँपालिकामा आकस्मिक उपचार तथा प्रसूति सेवा बन्द नहुने भएको छ। स्वास्थ्य सेवामा अवरोध हुन नदिन दुवै पालिकाले स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर खटाएका छन्।
मैवाखोला गाउँपालिकाले कात्तिक ७ गतेसम्मका लागि विभिन्न स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा ११ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ। गाउँपालिकाले आवश्यक परेको अवस्थामा तोकिएका स्वास्थ्यकर्मीलाई सम्पर्क गरी सेवा लिन आग्रह गरेको छ।
त्यस्तै, मेरिङ्देन गाउँपालिकाले पनि विभिन्न वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको जिम्मेवारी तोकेको छ। दसैँको समयमा आकस्मिक उपचार वा प्रसूति सेवा आवश्यक परेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ।
चाडपर्वका बेला पनि स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने र कुनै पनि नागरिकलाई आकस्मिक उपचारबाट वञ्चित हुन नदिने उद्देश्यले व्यवस्था मिलाइएको दुवै गाउँपालिकाले जनाएका छन्।