काठमाडौं । नेपाली युवाले विकास गरेका गेमलाई विश्व बजारमा थप स्थापित गर्ने र सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने योजनासहित सरकारले नीतिगत सुधारको तयारी थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गेम डेभलपर तथा आईटी क्षेत्रका प्रतिनिधिसँग छलफलपछि उनीहरूले भोगिरहेका समस्या समाधानका लागि गृहकार्य अघि बढाइएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले लुडो र कलब्रेकजस्ता विश्वभर लोकप्रिय गेम नेपालीले नै निर्माण गरेको उल्लेख गरेका छन्। उनका अनुसार लुडो करिब २० करोड र कलब्रेक १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। नेपालमा सयौँ युवा गेम विकासको क्षेत्रमा सक्रिय छन्।
प्रधानमन्त्री शाहले गेमिङ तथा आईटी क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक नीति, नियम र वातावरण पुनरावलोकन गरिने बताएका छन्। नेपालबाटै अन्तर्राष्ट्रियस्तरको ठूलो प्रविधि कम्पनी निर्माण गर्न सहज हुने वातावरण बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
यसका लागि कर प्रणाली सहज बनाउने, अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान नीतिगत जटिलता हटाउने र कम्पनीलाई आम्दानीसँगै पुनः लगानी गर्न प्रोत्साहित गर्ने योजना अघि सारिएको छ।
त्यस्तै, गेम जाम, स्टार्टअप कार्यक्रम र ह्याकाथनलाई प्रोत्साहन गर्नुका साथै आईटी क्षेत्रका प्रतिनिधि, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित छलफल गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइने प्रधानमन्त्रीले बताएका छन्।
सरकारले गेमिङ र आईटी उत्पादनको विकास तथा निर्यात बढाउन आवश्यक इकोसिस्टम निर्माणमा लगानी गर्ने योजना बनाएको छ। नीतिगत सुधार र व्यावहारिक सहजीकरण प्रभावकारी रूपमा कार्यान्वयन हुन सके नेपाली युवाको सिर्जनशीलता स्वदेशमै रोजगारी, उद्यम र विदेशी आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ।