काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आइतबारदेखि बिहीबारसम्म १ हजार ४४ जनाको उद्धार गरिएकोमा ७० जना विदेशी नागरिक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएपछि स्थानीय तथा पर्यटक प्रभावित क्षेत्रमा फसेका थिए। उनीहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिएको हो।
कार्यालयका अनुसार आइतबार ९६, सोमबार ३२१, मंगलबार १८६ र बुधबार ४४१ जनाको उद्धार गरिएको थियो। उद्धारसँगै प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, टेन्ट, म्याट, सिरक, सोलार र जेनेरेटरलगायत राहत सामग्री पनि पुर्याइएको छ। सडक र पदमार्गमा क्षति पुगेपछि राहत वितरणमा समेत हेलिकोप्टर प्रयोग भइरहेको छ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले पनि बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता तीव्र बनाएको छ। रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्नुका साथै त्रिपाल, ब्ल्याङ्केट, म्याट्रेस र अन्य अत्यावश्यक सामग्री पठाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा राहत वितरण भइरहेको रेडक्रसले जनाएको छ। प्रभावित क्षेत्रको क्षति आकलन गर्न विज्ञ टोलीसमेत परिचालन गरिएको छ।