काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज कात्तिक १५ गतेदेखि सडक दस्तुर उठाउन थालिएको छ। आइतबार राति १२ बजेदेखि लागू भएको व्यवस्थाअनुसार सुरुङमार्ग भएर काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ।
आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार नेपाल राजपत्रमा प्रकाशित सवारीसाधनको वर्गीकरणअनुसार दस्तुर निर्धारण गरिएको हो।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। ठूला सवारीसाधनका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ।
सुरुवाती चरणमा शुल्क भुक्तानीका लागि नगद र क्यूआर कोडको व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्यागमार्फत स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी भइरहेको आयोजना प्रमुख नेपालले बताए।
सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले शुल्क संकलन गर्नेछन्। संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने दस्तुर व्यवस्थापन तथा अनुगमनको जिम्मेवारी सडक बोर्ड नेपाल र सडक विभागले सम्हाल्नेछन्।