काठमाडौं । सरकारले युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको व्यावहारिक ज्ञान र सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले कात्तिक १८ र १९ गते ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिम दिन लागेको हो।
चार सत्रमा सञ्चालन हुने तालिममा प्रत्येक सत्रमा ५०० जनाका दरले कुल दुई हजार युवाले सहभागी हुने अवसर पाउनेछन्। तालिम बिहान १० देखि दिउँसो १२ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म सञ्चालन हुनेछ।
सहभागीलाई ChatGPT र Claude जस्ता एआई उपकरणको प्रयोग, प्रभावकारी प्रम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार गर्ने, तस्बिर र भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने सीप सिकाइनेछ।
युवालाई अध्ययन, रोजगारी र व्यावसायिक काममा एआई प्रविधिको प्रभावकारी उपयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।
तालिम लिन इच्छुक युवाले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीलाई तालिमको सत्र र सहभागितासम्बन्धी विवरण उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ।