काठमाडौं । पोखराको गन्नी फुटबल क्लबले चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। रामपुर–७, किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा भएको फाइनलमा चितवनको हनामी बीएफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै गन्नी च्याम्पियन बनेको हो।
निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। पहिलो हाफको नवौँ मिनेटमा आशिष गुरुङले गोल गर्दै गन्नीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा कृष्ण आलेले गोल गरेपछि हनामीले खेल बराबरीमा ल्याएको थियो। टाइब्रेकरमा हनामीका आलेको प्रहार बाहिरिएपछि गन्नीले उपाधि पक्का गर्यो। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका गन्नीका आशिष गुरुङ म्यान अफ द म्याच घोषित भए।
उपाधिसँगै गन्नीले तीन लाख ६६ हजार ६६६ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता हनामीले दुई लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र मेडल पाएको छ। सेमिफाइनलमा पराजित सम्पूर्ण युवा क्लब र सूर्यपुर एफसीले जनही ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा हनामीका रोशन पहरी सर्वोत्कृष्ट खेलाडी घोषित भए। गन्नीका दीप कार्की उत्कृष्ट गोलकिपर, आशिष गुरुङ उत्कृष्ट खेलाडी र किस्मत श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने। ठकुरी कल्याण समाजका गणेश हमाल सर्वाधिक गोलकर्ता तथा सम्पूर्ण युवा क्लबका सुगम ठकुरी इमर्जिङ खेलाडी घोषित भए।
ज्योतिपुञ्ज युवा क्लबको ३०औँ वार्षिकोत्सवका अवसरमा असोज २३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात जिल्लाका १० टोली सहभागी थिए। प्रतियोगिताले रामपुरको खेलकुद पहिचान बलियो बनाउनुका साथै नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ।