काठमाडौं । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन रोकिएका छन्। हिमपात र वर्षाले भन्सार जाँचपास तथा मालसामान ढुवानी प्रभावित भएको हो।
दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ सामान लिन पुगेका कन्टेनर मौसम प्रतिकूल बनेपछि नाका क्षेत्रमा थन्किएका हुन्। समुद्री सतहबाट चार हजार ६१० मिटर उचाइमा रहेको कोरला क्षेत्रमा चिसो अत्यधिक बढेको छ। उपल्लो मुस्ताङमा तापक्रम माइनस १२ डिग्रीसम्म झरेको छ।
लोमान्थाङ गाउँपालिकाले हिमपात, आँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै कोरला नाका तथा आसपासका क्षेत्रमा अनावश्यक आवागमन नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरेको छ।
कोरला नाकास्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार बिहीबारदेखि उपल्लो मुस्ताङमा वर्षा र उच्च क्षेत्रमा हिमपात भइरहेको छ। बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले मौसम प्रतिकूल रहे पनि सडक आवागमन पूर्ण रूपमा बन्द नभएको जानकारी दिए।
उनका अनुसार केही कन्टेनर चीनतर्फ प्रवेश गरिसकेका छन् भने अन्य कन्टेनर र विद्युतीय सवारीसाधन भन्सार जाँचपास तथा मालसामान लोड गर्ने प्रक्रियाको प्रतीक्षामा छन्।