काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार अर्थतन्त्र सुधारमा केन्द्रित हुन नसकेको आरोप लगाएका छन्। अर्थतन्त्र दबाबमा रहेको र प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीमा समेत असर परेको अवस्थामा सरकारले प्राथमिकता बदल्नुपर्ने उनको भनाइ छ।
सरकारका कामकारबाहीबारे धारणा सार्वजनिक गर्दै थापाले अर्थतन्त्र सुधार गर्नुपर्ने समयमा सरकार अन्य विषयमा अल्झिएको टिप्पणी गरे। उनले सरकारका नीतिका कारण कर्मचारी, व्यवसायी, प्रहरी र संवैधानिक निकायसम्म त्रासको वातावरण बनेको दाबी गरे।
थापाका अनुसार मुलुकमा बढ्दो विश्वासको संकटले आर्थिक गतिविधि प्रभावित भइरहेका छन्। शिथिल अर्थतन्त्रलाई गति दिन डर र दबाब सिर्जना गर्नुको सट्टा भरोसा र विश्वासको वातावरण बनाउनुपर्ने उनले बताए।
उनले अर्थतन्त्र सुधारका लागि प्रमुख प्रतिपक्षी कांग्रेससँग सहकार्य गर्न सरकारलाई आग्रह गरे। आवश्यक विधेयक पारित गर्ने तथा आर्थिक सुधारका काममा सहयोग गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै थापाले सरकारलाई प्रतिपक्षको सहयोग उपयोग गर्न सुझाव दिए।