काठमाडौं । सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको कारण र वास्तविकता पत्ता लगाउन कोशी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।
मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
आइतबार दिउँसो भोजपुरबाट सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ आउँदै गरेको पानीबोट अरुण र दूधकोशी नदीको दोभानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सुनसरीका लिला राई र आर्या राई तथा भोजपुरका रत्नबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घटनामा अन्य तीन जना अझै बेपत्ता छन्।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रिपरिषद्ले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री शेर्पाले बताए।
बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।