नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले नेपाली फुटबलको विवाद समाधानका लागि नर्मलाइजेसन कमिटी गठन गर्नुपर्ने बताएका छन्। फिफा, एएफसी र सरकारले विश्वास गरेर जिम्मेवारी दिए आफू नेतृत्व लिन तयार रहेको उनको भनाइ छ।
जापानको नागोयामा हुने २०औँ एसियाली खेलकुदमा ‘सेफ द मिसन’को जिम्मेवारी सम्हाल्न लागेका घलेले खेलाडीको तयारी, स्रोतसाधनको अभाव र व्यवस्थापकीय चुनौतीबारे पनि चिन्ता व्यक्त गरेका छन्।
यसपटकको एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना कस्तो छ?
विगतको तुलनामा तयारी राम्रो भएको छ। खेलाडीमा पनि प्रशिक्षणप्रति आत्मविश्वास बढेको देखिन्छ। तर, पदकको सम्भावना भएका खेलाडीलाई सामान्य प्रशिक्षणले मात्र पुग्दैन। उनीहरूलाई विशेष प्रशिक्षण, आवश्यक सामग्री र पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्छ।
खेलाडीले आवश्यक सामग्री र प्रशिक्षक नपाएको गुनासो गर्छन् नि?
केही खेलका सामग्री निकै महँगा छन्। गल्फमा हामीले करिब २० वर्षअघिका सामग्री प्रयोग गरिरहेका छौँ। आवश्यक सामग्रीको सूची पनि बुझाएका छौँ, तर पर्याप्त सम्बोधन भएको छैन। राज्यले सहयोग गर्नुपर्छ, खेल संघहरू पनि आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।
एसियाडमा नेपाली टोलीको व्यवस्थापनमा कस्ता चुनौती छन्?
हवाई टिकटको लागत, खेलाडीको आवास र खेलस्थलबीचको दूरी प्रमुख चुनौती हुन्। सबै खेल एउटै ठाउँमा नहुने भएकाले व्यवस्थापन कठिन हुन्छ। खेलाडीलाई समयमै पुर्याउने, अभ्यासको अवसर दिने र आवश्यक फिजियोथेरापिस्ट तथा मनोवैज्ञानिकको व्यवस्था गर्नुपर्छ।
एन्फाको निलम्बन फुकुवा गर्न अब के गर्नुपर्छ?
एन्फाभित्र एकता छैन। निलम्बन फुकुवाका लागि नर्मलाइजेसन कमिटी गठन गर्नु सबैभन्दा व्यावहारिक उपाय हो। एन्फाले देशको कानुन र फिफाको नियम दुवैलाई स्वीकार गरेर निर्वाचनको बाटोमा जानुपर्छ। तदर्थ समिति बनाएर दुईवटा एन्फा खडा गर्नु समाधान होइन।
नर्मलाइजेसन कमिटीको जिम्मेवारी तपाईंलाई दिइयो भने स्वीकार गर्नुहुन्छ?
किन नगर्ने? मैले लामो समय फुटबल र गल्फमा काम गरेको छु। अहिले व्यवसायको जिम्मेवारी पनि छोराहरूलाई सुम्पिसकेको छु। आगामी १० वर्ष फुटबलका लागि समय दिने सोच बनाएको छु। फिफा, एएफसी र सरकारले विश्वास गरेर जिम्मेवारी दिए म काम गर्न तयार छु। मसँग अन्तर्राष्ट्रिय सम्पर्क पनि छ।