काठमाडौं । बाँके र बर्दियामा सञ्चालित सिक्टा र बबई सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टाले १०० र बबईले ५० हेक्टर क्षेत्रमा सतह सिँचाइ विस्तार गरेका हुन्।
सिक्टा आयोजनाले थप ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्यसहित चारवटा ठेक्काका लागि ५४ करोड तीन लाख रुपैयाँ लागतका बोलपत्र आह्वान गरिसकेको छ। पुस मसान्तसम्म दुई अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने योजना छ। बबई आयोजनाले पनि सोही अवधिसम्म थप ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए।
यसैबीच कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति साउनको आठ प्रतिशतबाट बढेर भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। वित्तीय प्रगति पनि ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ। आयोजनाले पुस मसान्तसम्म १६० हेक्टर जग्गा उकास गर्ने र १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य लिएको छ।
भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ३.४ प्रतिशत र वित्तीय प्रगति ३.४९ प्रतिशत पुगेको छ। आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ।
त्यस्तै, सुनकोशी–मरिन डाइभर्सन आयोजनाले पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।