काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सात अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। असोज मसान्तसम्म सात अर्ब ५० करोड चार लाख ६८ हजार रुपैयाँ उठाउने लक्ष्य राखेको कार्यालयले लक्ष्यको ९५.१६ प्रतिशत हासिल गरेको हो।
कार्यालयका सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व सङ्कलन २४.९० प्रतिशतले बढेको छ। गत वर्ष पहिलो तीन महिनामा पाँच अर्ब ७१ करोड ४५ लाख ४९ हजार रुपैयाँ सङ्कलन भएको थियो। यस वर्षको सङ्कलन एक अर्ब ४२ करोड ३१ लाख रुपैयाँभन्दा बढी हो।
करका विभिन्न शीर्षकमध्ये आयकर र घरभाडा करमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ। आयकरतर्फ ८४ करोड २१ लाख रुपैयाँभन्दा बढी सङ्कलन हुँदा लक्ष्यको १२५.२८ प्रतिशत प्रगति भएको छ। घरभाडा करमा पनि लक्ष्यको १३३.२१ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको १००.९७ प्रतिशत सङ्कलन भएको छ।
तर, राजस्वको ठूलो हिस्सा ओगट्ने अन्तःशुल्कतर्फ भने लक्ष्यको ९१.२७ प्रतिशत मात्रै सङ्कलन भएको छ। ब्याज आम्दानीतर्फको प्रगति ६३.३५ प्रतिशत रहेको छ।
कार्यालयले चालु आर्थिक वर्षभरि ३४ अर्ब ९० करोड ६३ लाख ३१ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। असोज महिनामा मात्रै तीन अर्ब ४१ करोड ३२ लाख २० हजार रुपैयाँ सङ्कलन भएको छ, जुन मासिक लक्ष्यभन्दा बढी हो।
यसैबीच, समयमै व्यावसायिक विवरण नबुझाएका करदातालाई आर्थिक ऐन, २०८३ ले दिएको छुट सुविधा आगामी पुस मसान्तसम्म उपयोग गर्न सकिने कार्यालयले जनाएको छ। सुविधाबारे जानकारी दिन करदातालाई एसएमएस र फोनमार्फत सम्पर्क गर्नुका साथै अन्तरक्रिया तथा बजार अनुगमनलाई पनि निरन्तरता दिइएको सूचना अधिकारी अधिकारीले बताए।