चितवन । रक्तदानको महत्व र मानवीय सेवाको भावना सानै उमेरदेखि विकास गराउने उद्देश्यले भरतपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गरेको छ। महानगरका अनुसार नेपालमै पहिलोपटक स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समेटिएको हो।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको पाठ्यक्रमको ‘विपद्’ विषयअन्तर्गत रक्तदानसम्बन्धी विषय राखिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए।
चितवनमा वर्षभरि रगतको अभाव भइरहने र बिरामीका आफन्तले नै रक्तदाता खोज्नुपर्ने अवस्था रहेकाले विद्यार्थीलाई रक्तदानप्रति प्रेरित गर्न यस्तो व्यवस्था गरिएको महानगरले जनाएको छ।
कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार चिकित्सक र शिक्षाविद्सँगको परामर्शपछि रक्तदानको आवश्यकता, महत्व र मानवीय पक्षलाई पाठ्यक्रममा समेटिएको हो।
चितवनमा भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पताल सञ्चालनमा छन्। क्यान्सर, प्रसूति तथा दुर्घटनाका बिरामीलाई नियमित रूपमा रगत आवश्यक पर्ने भएकाले जिल्लामा यसको माग उच्च छ।
जिल्लामा दैनिक करिब १५० युनिट रगतको माग हुने गरेको छ। रगत अभाव हुँदा बिरामीका परिवारले आफैँ रक्तदाता खोज्नुपर्ने बाध्यता अझै कायम छ।
भरतपुर महानगरभित्र १११ सामुदायिक र ९७ संस्थागत विद्यालय छन्। तीमध्ये कक्षा ६ देखि ८ सम्म पढाइ हुने ७४ सामुदायिक र ८० संस्थागत विद्यालयमा २५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।