२०८३ जेष्ठ २३

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइयो

काठमाडौँ । आज १९औँ गणतन्त्र दिवस लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा सरसफाइ, दीप प्रज्वलन तथा कर्मचारी सम्मानलगायतका कार्यक्रम सम्पन्न भएका छन्।

राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने बताएका छन्।

मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै ती उपलब्धिको संरक्षणका लागि सचेत नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र संसदीय मूल्य–मान्यतामाथि आघात पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्दै जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू सक्रिय रहेको दाबी पनि गरे।

कार्यक्रमका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार पनि वितरण गरेको थियो। विभिन्न मन्त्रालयका उत्कृष्ट कर्मचारीहरूलाई उक्त अवसरमा सम्मान गरिएको छ।