२०८३ श्रावण १३

यस्तो छ चालु आर्थिक वर्षमा प्रमुख आर्थिक सूचकको अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यससँगै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

तथ्याङ्क  कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको आधारमा गरिएको प्रारम्भिक अनुमानअनुसार उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको हो ।

तथ्याङ्क कार्यालयले प्रमुख आर्थिक सूचकको अवस्था (प्रचलित मूल्यमा) को अनुमान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि आठ महिनासम्मका उपलब्ध आँकडा प्रयोग गरिएको जनाएको छ भने बाँकी छ देखि चार महिना अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको जनाएको छ ।   

कुल  उत्पादन (Gross output):

आर्थिक वर्ष २०८२/८३ मा  आधारभूत मूल्यको कुल  उत्पादन रु. ९९ खर्ब २२ अर्ब ९० करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल उत्पादन रु. ९३ खर्ब ८४ अर्ब ५० करोड रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा कुल उत्पादन रु. ८७ खर्ब ८१ अर्ब २ करोड कायम गरिएको छ।

मध्यवर्ती उपभोग (Intermediate consumption):

आर्थिक वर्ष २०८२/८३ मा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग रु. ४१ खर्ब २७ अर्ब ३२ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मध्यवर्ती उपभोग रु. ३९ खर्ब ३० अर्ब ९ करोड रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा मध्यवर्ती उपभोग रु.३६ खर्ब ७६ अर्ब २१ करोड कायम गरिएको छ।

कुल स्थिर पुँजी निर्माण (Gross fixed capital formation):

आर्थिक वर्ष २०८२/८३ मा GDP को २६.२६ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को २३.५७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार उक्त वर्षमा GDP को २४.५१ प्रतिशत कुल स्थिर पुँजी निर्माण भएको छ।

अन्तिम उपभोग खर्च (Final consumption expenditure):

आर्थिक वर्ष २०८२/८३ मा GDP को ९०.२९ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ९३.११ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ९३.३१ प्रतिशत अन्तिम उपभोग खर्च भएको छ।

वस्तु तथा सेवा निर्यात (Export):

आर्थिक वर्ष २०८२/८३ मा GDP को  ९.९७ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ८.८३ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को  ७.५५ प्रतिशत निर्यात भएको छ।

वस्तु तथा सेवा आयात (Import):

आर्थिक वर्ष २०८२/८३ मा GDP को ३४.५२ प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ३३.७२ प्रतिशत आयात हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ३२.६२ प्रतिशत आयात भएको छ।

कुल राष्ट्रिय बचत (Gross national saving):

आर्थिक वर्ष २०८२/८३ मा GDP को ४४.७७ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा GDP को ३८.३९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को ३५.६० प्रतिशत कुल राष्ट्रिय बचत भएको छ।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (Worker’s Remittance):

आर्थिक वर्ष २०८२/८३ मा GDP को ३३.०२ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८३ मा GDP को २७.८० प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा GDP को २५.०९ प्रतिशत विप्रेषण प्राप्त भएको छ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (Percapita GDP):

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१६ यू.यस. डलर हुने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४५६ यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/८२ मा भन्दा आर्थिक वर्ष २०८२/८३ मा कम हुन गएको अनुमान रहेको छ।

प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Percapita GNI):

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४८० यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/८२ मा र आर्थिक वर्ष २०८२/८३ मा बराबर रहन गएको अनुमान रहेको छ।

प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (Percapita GNDI):

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २,०४४ यू.यस. डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,९९४ यू.यस. डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,८७७ यू.यस. डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ ।

Read More

शेखर गोल्छालाई २४ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले हिरासतमा रहेका उद्यमी व्यवसायी शेखर गोल्छालाई २४ घण्टा भित्र उपस्थित गराउन आदेश दिएको छ ।

कानुन विपरीत आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै  गोल्छाको श्रीमती सिमा गोल्छाले सोमबार दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको हो ।

इजलासले आदेशमा भनेको छ- ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेपछि सोमबार नै थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीले अनुमति दिएको थियो । 

Read More

नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् । 

काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

Read More

शेखर गोल्छा पक्राउविरुद्धमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई सकियो

काठमाडौं । उद्यमी व्यवसायी शेखर गोल्छा पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

 कानुन विपरीत आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै  गोल्छाको श्रीमती सिमा गोल्छाले सोमबार दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेपछि सोमबार नै थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीले अनुमति दिएको छ । 

Read More

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ

उदयपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वेलका नगरपालिका-४ गौरीशंकर शिवालय टोल बस्ने ४५ वर्षीय हरि आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

हरिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

ट्रम्पले अस्वीकार गरे इरानको नयाँ प्रस्ताव

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्र दोस्रो पटक इरानको नयाँ प्रस्ताव अस्वीकार गरेका छन् ।

मिडिया रिपोर्टअनुसार ट्रम्पले इरानले पठाएको पछिल्लो प्रस्ताव पनि स्वीकार गर्ने पक्षमा नरहेको संकेत दिएका छन् । इरानले प्रस्तावमा पहिले होर्मुज जलडमरूमध्य खोल्ने र त्यसपछि मात्र परमाणु कार्यक्रमबारे वार्ता गर्ने योजना अघि सारेको थियो ।

ट्रम्पले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँगको बैठकमा यही धारणा स्पष्ट पारेका हुन् । यो प्रस्ताव पछिल्ला केही दिनमा अमेरिकासम्म पुगेको बताइएको छ ।

बैठकपछि अब अमेरिका के कदम चाल्छ भन्ने स्पष्ट भइसकेको छैन । अमेरिकी अधिकारीहरूले इरानभित्र निर्णय प्रक्रियामा मतभेद रहेको र अन्तिम निर्णय कसको हातमा छ भन्ने अझै स्पष्ट नभएको बताएका छन् ।

यता इरानले भने अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । प्रस्तावमा पहिले होर्मुज जलडमरूमध्य खोल्ने र अमेरिकाले इरानमाथिको समुद्री नाकाबन्दी हटाउने सर्त राखिएको छ । त्यसपछि युद्ध अन्त्यतर्फ जाने बाटो खुल्ने र त्यसपछि परमाणु विषयमा वार्ता गर्ने उल्लेख छ ।

न्यूयोर्क टाइम्सका अनुसार यो जानकारी तीन इरानी अधिकारीले दिएका हुन् । रिपोर्टमा इरानका विदेशमन्त्री अब्बास अराघचीले यो योजना आइतबार पाकिस्तानलाई दिएका थिए । त्यसअघि पनि इरानको अर्को प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए ।

Read More

नयाँ चलचित्र ‘गौथली’ आउँदै

काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ चलचित्र ‘गौथली’ आउँदै छ ।

यो चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ बनाएका थिए । निर्माण पक्षले वितरकहरू फाइनल गरेसँगै चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन १ गते (जुलाई १७) लाई तय गरेको हो ।

यस चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । उनका साथमा चलचित्रमा नेपाली कला क्षेत्रका शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पार्श्व संगीत एलिस कार्कीको छ ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन् । डिजिटल अधिकार ‘ओएसआर डिजिटल’सँग रहेको छ । ‘गौथली’को प्रतीकात्मक अर्थ– घर, परिवार र सामीप्यतालाई दर्शाउछ ।

Read More

आइपिएल: स्यान्टनर बाहिरिएपछि मुम्बई इन्डियन्समा भित्रिए केशव महाराज

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चोटका कारण बाहिरिएका मिचेल स्यान्टनरको स्थानमा दक्षिण अफ्रिकाका बायाँ हातका स्पिनर केशव महाराजलाई अनुबन्ध गरेको छ ।

स्यान्टनरले यस सिजनमा चार खेलमा पाँच विकेट लिएका थिए । चेन्नई सुपर किङ्सविरुद्ध वान्खेडे रंगशालामा भएको खेलमा क्याच लिने प्रयासका क्रममा उनको काँधमा चोट लागेको थियो । चोटपछि उनी खेलका क्रममा ड्रेसिङ रुममा काँधमा बरफ राखेर बसेका देखिएका थिए, र टोलीले उनको सट्टा कनकसन विकल्प प्रयोग गरेको थियो ।

महाराज दक्षिण अफ्रिकाका अनुभवी खेलाडी हुन् । उनले हालसम्म ५४ अन्तर्राष्ट्रिय टी- २० खेल खेलिसकेका छन् । यसअघि उनले सन् २०२४ मा राजस्थान रोयल्सबाट आइपीएलमा दुई खेल खेलेका थिए ।

विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका महाराजले क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, साथै एसए- २० र पहिलेको म्जान्सी सुपर लिगमा पनि अनुभव बटुलेका छन् ।

पछिल्लो एसए- २० सिजनमा उनले प्रिटोरिया क्यापिटल्सको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए । सो सिजनमा उनले १२ खेलमा १२ विकेट लिएका थिए । समग्रमा टी- २० करियरमा उनले २०८ इनिङ्समा १९१ विकेट लिएका छन्, जसमा उनको औसत ७.१२ रहेको छ ।

मुम्बई इन्डियन्ससँग अहिले स्पिन आक्रमणमा महाराजसँगै एम घजनफर, मयंक मार्कन्डे, रघु शर्मा तथा अलराउन्डर विल ज्याक्स रहेका छन् ।

मुम्बईले हालसम्म खेलेका सात खेलमध्ये दुई मात्र जितेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । टोलीले अब बुधबार आफ्नै मैदान वान्खेडे रंगशालामा सनराइजर्स हैदराबादसँग खेल्ने तालिका रहेको छ ।

Read More

स्वास्थ्य मन्त्रालयमा जलेका गाडीको नाममा इन्धन दुरुपयोग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।

आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि अनुसन्धान अगाडी बढाइएको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।

Read More