२०८३ श्रावण १२

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

जर्मनीबाट ५ हजार सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णय

काठमाडौँ । अमेरिकाले आफ्ना नेटो साझेदार जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ। यो कदमसँगै युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे फेरि बहस चर्किएको छ।

यस निर्णयअघि जर्मनीका चान्सलर फ्रेडरिक मर्जले ट्रम्प नेतृत्वको अमेरिकी सरकारको कडा आलोचना गरेका थिए । उनले पछिल्लो महिनामा भएको एक कार्यक्रममा अमेरिका सँग स्पष्ट योजना नभएको टिप्पणी गर्दै भनेका थिए, ‘अमेरिकालाई नै थाहा छैन कि यो युद्धबाट कसरी बाहिर निस्किने ।’ उनले इरान वार्ता टार्न माहिर रहेको भन्दै अमेरिकालाई परिणामविहीन दौडधुपमा लाग्नुपरेको र यसले अमेरिकाको छवि कमजोर बनाएको टिप्पणी गरेका थिए ।

यी अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका थिए । उनले मर्जलाई लक्षित गर्दै उनी ‘धेरै खराब काम गरिरहेका व्यक्ति’ भएको आरोप लगाएका थिए । ट्रम्पका अनुसार मर्जलाई वास्तविक अवस्थाको बुझाइ छैन र उनी इरानसँगको विषयमा गलत धारणा राख्छन् ।

ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने विचार भइरहेको संकेत दिएका छन् । उनका अनुसार यी देशहरूले इरानविरुद्ध अमेरिकाको पूर्ण साथ नदिएको र हॉर्मुज जलमार्गसम्बन्धी सञ्चालनमा सहभागी हुन अस्वीकार गरेको कारण असन्तुष्टि बढेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार जर्मनीबाट सैनिक फिर्ता प्रक्रिया पूरा हुन ६ देखि १२ महिना लाग्न सक्छ । बीबीसीका अनुसार पछिल्लो वर्ष डिसेम्बरसम्म जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ थिए, जुन जापानपछि सबैभन्दा ठूलो संख्या हो । जापानमा करिब ५५ हजार सैनिक छन् । इटालीमा करिब १२ हजार र बेलायतमा करिब १० हजार अमेरिकी सैनिक रहेका छन् ।

ट्रम्पले पहिले पनि जर्मनीबाट सैनिक घटाउने प्रस्ताव अघि सारेका थिए । त्यसबेला उनले जर्मनीले नेटोको रक्षा खर्च लक्ष्य पूरा नगरेको आरोप लगाएका थिए । सन् २०२० मा १२ हजार सैनिक हटाउने योजना अघि बढाइएको थियो तर अमेरिकी संसद्ले रोक लगाएको थियो र पछि बाइडेन प्रशासनले उक्त निर्णय उल्ट्याएको थियो ।

यसैबीच, पछिल्लो वर्ष अमेरिकाले रोमानियामा पनि सैनिक संख्या घटाउने निर्णय गरेको थियो । यो ट्रम्पको रणनीतिक सोच अन्तर्गत युरोपबाट ध्यान घटाएर इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रित हुने योजनासँग जोडिएको बताइएको छ । रोमानियाका रक्षा मन्त्रीले अमेरिकाले आफ्नो सुरक्षा क्षमतामा बढी ध्यान दिन सुझाव दिएको बताएका थिए ।

अमेरिकाको यो निर्णयको देशभित्र पनि केही रिपब्लिकन नेताहरूले आलोचना गरेका छन् । यता रुससँग बढ्दो तनावका बीच पूर्वी युरोपका धेरै देशहरूले पनि अमेरिकी सैनिक घटाउने कदमलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

Read More

चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

काठमाडौँ । काठमाडौँ महानगर- २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति वि. सं. २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व बिभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो । 

संग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नम्बर २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनसहित सरोकारवाला कार्यालयका अधिकारीसहित संग्रहालय पुगेका थिए । यस क्रममा पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी सहभागी थिए । 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुखअरुणा नकर्मीले वुद्ध मूर्ति हस्तान्तरण गरेका थिए । 

मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो । यसरी राखिएको मूर्ति वैशाख १८ गते वुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरियो । हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख डंगोल, वडाध्यक्ष महर्जन, जनप्रतिनिधिहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गरेका थिए । 

उत्सवमा सहभागी कार्यवाहक प्रमुख डंगोलले, मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताए । ‘नेपाल मण्डलभित्रका मूर्तिहरु केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरु सचेत हुनुहुन्छ । महानगरपालिकाका तर्फबाट हामीले गर्नु पर्ने काम पूर्ण प्रतिवद्ध भएर गर्नेछौँ ।’

त्यस अवसरमा वडा २३ का अध्यक्ष महर्जनले, मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठुलो योगदान पुगेको उल्लेख गरे । राष्ट्रिय संग्रहालयका प्रमुख नकर्मीले, सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बिच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गरे । 

सम्पदा संरक्षणकर्मी गणपतिलाल र सञ्जयले, विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए । 

चोरिएका मूर्ति तथा कलात्मक बस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यस अघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ । यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ । 

Read More

एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनसँग माग- विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग विस्थापित सुकुम्वासीका लागि  ‘ज्ञ’ क्रान्तिको खाकाको माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सरकारले आफैं सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको उल्लेख गर्दै विस्थापित सुकुम्वासीका लागि ‘ज्ञ’ क्रान्तिको खाकाको माग गरेका हुन् ।

उनले भनेका छन्-  ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्बासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?’

पोखरेलले २०७५ सालमा वारा-पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लियो, ११५० भन्दा बढी घाइते भए, झण्डै २५०० घरमा क्षति पुग्यो र हजारौं मानिस घरवारविहीन बनेको प्रसंग उल्लेख गर्दै त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको उल्लेख गरेका छन् ।

तर आज अवस्था फरक देखिएको बताउदै उनले सरकारले आफैं सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौंलाई घरवारविहीन बनाएको र बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने निश्चित रहेको दाबि गरेका छन् । 

उनले अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पारेको उल्लेख गर्दै मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् ।

Read More

हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ भन्दै अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दै प्रश्न गरेका छन् ।      

उनले भनेका छन्- ‘गुम्बा र मन्दिर भत्काउने बालेनलाई के भन्नु हुन्छ ? अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा फेरि ! नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्ला जस्तो देखियो !’

सरकारले सुकुम्बासी बस्तिमा डोजर चलाएको विषयमा साम्पाङले लगातार विरोध गर्दै आएका छन् । 

Read More

सेती नदी मोडेर बाँध निर्माण तीव्र: तनहुँ परियोजना अघि बढ्दै, ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँ जलविद्युत् आयोजना मा हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ। १४० मेगावाट क्षमताको यो आयोजना तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन छ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र प्रसारण लाइन गरी तीनवटै प्याकेजमा काम तीव्र गतिमा अघि बढिरहेको छ। मुख्य बाँध निर्माणका लागि सेती नदी लाई समेत मोडेर आवश्यक पूर्वाधार तयार गरिएको छ भने अहिले कङ्क्रिटिङ कार्य जारी छ।

विद्युत्गृह र सुरुङतर्फको काम झण्डै सम्पन्न भइसकेको छ भने दमौली–भरतपुर २२० केभी प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ।

बहुराष्ट्रिय लगानीमा निर्माण भइरहेको यस आयोजनाले पूरा भएपछि देशको ऊर्जा आपूर्तिमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।

Read More

रोल्पा दुर्घटनाको तीन दिन पछि रास्वपाको विज्ञप्ति: सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठ्यो

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा जीप दुर्घटना भएको तीन दिनपछि विज्ञप्ति जारी गरेर दुख व्यक्त गरेको छ ।

रास्वपा प्रवक्ता मनिष झाले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बैशाख १७ गते भएको उक्त दुर्घटनामा एकैपटक ठूलो मानवीय क्षति भएको भन्दै पार्टीले यो घटनाले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको जनाउदै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ स्थित भिरालो सडक खण्डमा दुर्घटनामा परेर २० जनाको मृत्यु भएको थियो । जीप करिब ७०० देखि ८०० मिटर गहिरो भिरमा खसेको थियो ।

यस घटनाले फेरि एक पटक सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरेको छ । यस्ता घटना परिवार र समुदायमा दीर्घकालीन पीडा छोड्ने भएकाले यसतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट छौ ।’

Read More

युद्धका कारण इरानको करिब ४ अर्ब ८० करोड डलर बराबरको तेल आम्दानी गुम्यो

काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सार्वजनिक गरेको हो।

पेन्टागनका प्रवक्ता शोन पार्नेलले समुद्रमा लागू गरिएको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको र त्यसको असर स्पष्ट देखिन थालेको बताएका छन्। उनका अनुसार यसले इरानको आर्थिक स्रोत जुटाउने क्षमतामा ठूलो धक्का पुगेको छ।

तर इरानले भने अमेरिकाको दाबी अस्वीकार गरेको छ । दक्षिण अफ्रिकास्थित इरानी दूतावासले अमेरिका नै युद्धमा कमजोर बनेको दाबी गर्दै यस्तो अभिव्यक्ति निराशाबाट आएको प्रतिक्रिया भएको जनाएको छ ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका सँग फेरि वार्ताका लागि तयार रहेको बताएका छन् । तर उनले वार्ता अघि धम्कीपूर्ण भाषा बन्द गर्नुपर्ने शर्त राखेका छन् ।

इरानको प्रेस टिभीका अनुसार अराघचीले टर्की, कतार, साउदी अरेबिया, इजिप्ट, इराक र अजरबैजानका समकक्षीहरूसँग हालको अवस्थाबारे जानकारी गराउँदै इरानले युद्ध सुरु नगरेको र कुनै पनि नयाँ आक्रमणको जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

उनले पाकिस्तानको मध्यस्थतामा हालै भएको वार्तामा इरानले इमान्दारीपूर्वक सहभागिता जनाएको उल्लेख गर्दै अमेरिका प्रति विश्वास कम रहेको पनि बताए । उनका अनुसार विगतमा अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेको अनुभव रहेको छ।

अर्कोतर्फ अमेरिकाले पश्चिम एशियामा आफ्ना सहयोगी देशहरूलाई सुदृढ बनाउन ८ अर्ब ६० करोड अमेरिकी डलरभन्दा बढीको हतियार सम्झौता स्वीकृत गरेको छ । यी सम्झौतामा हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र र अन्य सैन्य उपकरण समावेश छन् । अल जजीराका अनुसार यस प्याकेजमा इजरायलसहित कतार, कुवेत र संयुक्त अरब इमिरेट्स समेटिएका छन् ।

Read More

युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् ।

ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको व्यापार सम्झौताको पालना नगरेकाले यस्तो निर्णय लिनुपरेको हो । उनले युरोपेली कम्पनीहरूले अमेरिका भित्रै उत्पादन गरेमा त्यस्ता सवारीमा कुनै कर नलाग्ने स्पष्ट पारे ।

उनले हाल अमेरिकामा अटोमोबाइल तथा ट्रक उत्पादनका लागि नयाँ कारखाना स्थापना भइरहेको र ती क्षेत्रमा १०० अर्ब डलरभन्दा बढी लगानी भित्रिएको दाबी गर्दै यसले रोजगारी सिर्जना गर्दै औद्योगिक विकासलाई तीव्र बनाउने दाबि गरेका छन् ।

गत वर्ष ट्रम्प र युरोपेली संघ बीच ‘टर्नबेरी सम्झौता’ भएको थियो । यो सम्झौता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनसँग जुलाई महिनामा भएको थियो, जसको नाम स्कटल्याण्डस्थित ट्रम्पको गोल्फ मैदानका आधारमा राखिएको हो ।

उक्त सम्झौताको उद्देश्य अमेरिका र युरोपेली संघबीच बढ्दो व्यापारिक तनाव कम गर्नु थियो । सम्झौताअनुसार युरोपेली संघबाट आउने अधिकांश सामानमा १५ प्रतिशत भन्सार शुल्क निर्धारण गरिएको थियो, जुन यसअघि प्रस्तावित ३० प्रतिशतभन्दा कम थियो ।

यसको बदलामा युरोपेली संघले अमेरिकामा लगानी बढाउने र केही आर्थिक नीतिमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो । तर पछि इस्पात र एल्युमिनियममा लगाइने शुल्कलगायत विषयमा दुवै पक्षबीच विवाद चर्किएको थियो ।

यसैबीच, अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति आफैंले आर्थिक आपतकाल घोषणा गरेर युरोपेली संघका सामानमा भन्सार शुल्क बढाउने अधिकार नभएको फैसला दिएपछि केही अवस्थामा शुल्क घटाएर १० प्रतिशतसम्म ल्याइएको थियो ।

नयाँ निर्णयले जर्मनी र फ्रान्सजस्ता देशको अटोमोबाइल क्षेत्रमा ठूलो असर पर्ने अनुमान गरिएको छ । शुल्क बढेपछि युरोपेली सवारी साधन अमेरिकी बजारमा महँगो हुने र माग घट्ने सम्भावना छ । यसले उत्पादन र नाफामा प्रत्यक्ष असर पार्नेछ । विश्लेषकहरूका अनुसार निर्यात घटेमा युरोपेली कम्पनीहरूले उत्पादन कटौती गर्न सक्ने र रोजगारीमा पनि असर पर्ने जोखिम छ । यससँगै युरोपको आर्थिक वृद्धि दरमा समेत सुस्तता आउन सक्ने देखिएको छ ।

अर्कोतर्फ, यसको असर अमेरिकामा पनि पर्नेछ । युरोपेली सवारी महँगो हुँदा उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने र बजारमा विकल्प सीमित हुन सक्नेछ ।

यसबीच युरोपेली संघले पनि जवाफी कदमस्वरूप अमेरिकी वस्तुमा भन्सार शुल्क बढाउन सक्ने आशंका गरिएको छ । यदि यस्तो भएमा यो विवाद ठूलो व्यापार युद्धमा परिणत हुन सक्ने र दुवै पक्षलाई नोक्सान पुग्ने देखिन्छ ।

यसका साथै, इरानसँग सम्बन्धित विषयमा पनि अमेरिका र युरोपेली देशहरूबीच मतभेद कायम छ । फ्रान्स, स्पेन र इटालीले अमेरिकालाई इरानमाथि आक्रमणका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने बताइसकेका छन् ।

ट्रम्प प्रशासनले इरानमाथि कडा प्रतिबन्ध र दबाबको नीति अपनाउँदै आएको छ भने युरोपेली देशहरू कूटनीतिक वार्ता र सम्झौतामार्फत समाधान खोज्ने पक्षमा रहेका छन् ।

Read More

सहि तरिकाले पानी कसरी पिउने ?

काठमाडौँ । गर्मी बढेसँगै शरीरमा पानीको आवश्यकता पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । चर्को घाम, पसिना र तापक्रम वृद्धिका कारण शरीरमा पानीको कमी हुने जोखिम उच्च रहने चिकित्सकहरू बताउछन् ।

यस्तो अवस्थामा धेरै मानिसले बढी पानी पिउनु नै पर्याप्त ठान्छन् । तर स्वास्थ्यविद्हरूका अनुसार पानीको मात्रा मात्र होइन, पिउने तरिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरले त्यसलाई पूर्ण रूपमा उपयोग गर्न नसक्ने र छिट्टै बाहिर निकाल्ने गर्छ । बरु दिनभर थोरै-थोरै गरेर पानी पिउँदा शरीरले राम्रोसँग सोस्ने र लामो समयसम्म पानीको सन्तुलन कायम रहने बताइन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेट एकदेखि दुई गिलास पानी पिउनु लाभदायक मानिन्छ । यसले शरीरभित्र सफाइ गर्न मद्दत गर्नुका साथै पाचन प्रक्रियालाई सक्रिय बनाउने हुँदा दिनभर शरीर ऊर्जावान रहने चिकित्सकहरूको भनाइ छ ।

खाना खाने बेलामा वा तुरुन्तपछि पानी पिउनु उपयुक्त नहुने बताइन्छ । यसले पाचन प्रक्रियामा असर पार्न सक्छ । त्यसैले खाना खाएको करिब आधा घण्टापछि पानी पिउनु राम्रो मानिन्छ ।

गर्मीमा धेरै चिसो पानी पिउँदा तुरुन्त राहत मिल्ने भए पनि यसले घाँटी दुख्ने, टाउको दुख्ने वा पाचन समस्या निम्त्याउन सक्ने जोखिम हुन्छ । त्यसैले सामान्य वा हल्का चिसो पानी पिउनु सुरक्षित विकल्प मानिन्छ ।

प्यास लागेपछि मात्र पानी पिउने बानी पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् । प्यास लाग्दा शरीरमा पानीको कमी सुरु भइसकेको हुन्छ । त्यसैले समय-समयमा पानी पिउँदै रहनु उपयुक्त हुन्छ । साथै नरिवल पानी, कागती पानी र मठ्ठाजस्ता प्राकृतिक पेय पदार्थले पनि शरीरलाई सन्तुलित राख्न सहयोग पुर्‍याउने जनाइएको छ ।

(यो सामग्री विभिन्न स्वास्थ्यसम्बन्धी अध्ययन तथा जानकारीका आधारमा तयार गरिएको हो ।)

Read More