२०८३ असार ११

शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

बन्दीप्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले परमादेश जारी गर्दै गोल्छालाई जमानतमा छाड्न आदेश दिएको हो ।  इजलासले जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न भनेको छ । 

गोल्छालाई बैशाख १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३ मा नाम मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो । सिआइबीले वैशाख २० देखि लागु हुने गरी चौथो पटक चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको थियो ।

सर्वोच्चको संयुक्त इजलासले सिआइबीले जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने कार्य भएको भन्दै जिल्ला अदालतको आदेश उत्प्रेषणको आदेशले बदर गरेको छ । 

Read More

काठमाडौँ महानगरको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।

महानगरको शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार लगायतका विषयक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

विद्यालय छुट्टी विषयमा अन्यौल नहुन विद्यालयहरुलाई आग्रह गर्दै उनले, पाठयक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताइन् । 

अभिमुखीकरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केदारभक्त माथेमाले परिवर्तित सन्दर्भमा शिक्षा प्रणालीको अभ्यासका विषयमा धारणा राख्दै महानगरपालिकाले अघि सारेका कार्यक्रमले सामुदायिक शिक्षाको गुणस्तरमा सुधार हुँदै गएको अनुभूति भएको बताए । सूचना प्रविधिमा आधारित, प्रयोगात्मक र व्यावहारिक शिक्षाबाट नै दक्ष जनशक्ति उत्पादन गर्न सकिनेमा उनको जोड थियो । 

कार्यक्रममा प्रधानाध्यापकका तर्फबाट धारणा राख्दै विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल र सरस्वती निकेतन माध्यमिक विद्यालय, ओन्देका प्रधानाध्यापक रविना महर्जनले, ‘महानगरपालिकाले विद्यालय शिक्षामा लगानी बढाएसँगै विद्यालयमा विद्यार्थी खुशी भएर पढ्न थालेको, प्रविधिमा आधारित सिकाइमा वृद्धि भएको, प्राविधिक धारबाट समय सापेक्ष जनशक्ति उत्पादन भएकोमा जोड दिँदै, यसलाई वृद्धि गर्न महानगरपालिकाले थप लगानी गर्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाले शिक्षकहरुलाई प्रदान गरेको तालिमलाई विशिष्टकृत बनाउँदै लैजानु पर्ने, कतिपय तालिम सञ्चालन गर्न विद्यालयलाई दिनुपर्ने, तालिमबाट प्राप्त सिप कक्षा कोठामा प्रयोग भए नभएको हेर्ने प्रणाली बनाउनु पर्नेमा जोड दिए । 

यस्तै शिक्षकहरुलाई शिक्षणमा प्रोत्साहन गर्न, वृत्ति विकासका लागि कसैकोमा जानु नपर्ने पद्धति विकास गर्न आग्रह गरेका थिए । 

शिक्षण सिकाइमा प्रभावकारिता बढाउन महानगरपालिकाले सामुदायिक विद्यालयमा नेपाल भाषा प्रशिक्षण गराउने १७२ जना र संस्थागत विद्यालयमा प्रशिक्षण गराउने १५० जनालाई क्षमता विकास तालिम प्रदान गरिएको छ । ५२८ जना शिक्षकलाई डिजिटल बोर्डको सिर्जनात्मक उपयोग सम्बन्धी, १२४ जना इसीडी शिक्षकलाई तालिम प्रदान गरिएको बताउँदै शिक्षा विभागका प्रमुख नमराज ढकालले विषयगत प्रश्नपत्र निर्माण र मूल्याङ्कनका लागि ५१० जना र मनोसामाजिक तथा मनोवैज्ञानिक परामर्शका लागि १४० जना शिक्षकलाई तालिम प्रदान गरिएको जानकारी दिए । 

महानगरपालिकाको शिक्षा विभागले अहिले सामुदायिक विद्यालयमा दरवन्दी मिलानको काम गरिरहेको छ । गरिखाने शिक्षा महानगरको इच्छा गौरवका कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई डिजिटल बोर्ड प्रदान गरेको छ । फर्निचरको लागि १५ करोड खर्च खर्च गरेको छ । पुस्तक रहित शुक्रवार अन्तर्गत कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई १६ विधामा ६८२ वटा उपसमूह बनाएर सिर्जनात्मक सिप कक्षा सञ्चालन गरिरहेको छ । 

शिक्षामा सिप कार्यक्रम अन्तर्गत कक्षा ९ मा १७२ समूह निर्माण गरेर सिप विकास कक्षा सञ्चालन गरिरहेको छ । सुन्दर विद्यालय कार्यक्रम अन्तर्गत कक्षा कोठा तथा विद्यालय परिसर सजावटको काम गरेको छ । विद्यालयहरुको भौतिक पूर्वाधार सुधारका लागि २२ वटा विद्यालयको विकास गुरुयोजना तयार पारिसकेको छ । 

गुणस्तरीय तथा जीवनउपयोगी शिक्षाका लागि सरोकारवालालाई जिम्मेवारी वोध गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

Read More

काँग्रेसले बोलायो संसद समन्वय वोर्डको प्रथम बैठक

काठमाडौँ  । नेपाली काँग्रेसले संसद समन्वय वोर्डको प्रथम बैठक बोलाएको छ ।

काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक वैशाख २२ गते मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा वोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

Read More

दिपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले  प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी दिपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सोमबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले भट्टलाई अदालत उपस्थित गराउन आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले  भट्टराई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भट्टलाई पक्राउ गर्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र  महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरलाई रिटमा विपक्षी बनाइएको छ ।

भट्टलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो ।  

Read More

बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो । अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो ।

उनको हेटौँडा-५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेका थिए । 

छापामारी पछि मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् छापा मारिएको प्रति आपत्ति जनाएका हुन् । 

यस्तै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

Read More

आइपिएल टिम राजस्थान रोयलको बिक्री कानुनी विवादमा 

काठमाडौँ । भारतको लोकप्रिय क्रिकेट प्रतियोगिता आइपिएल फ्रेन्चाइजी राजस्थान रोयल्स टोलीको स्वामित्वसम्बन्धी १५ हजार ६ सय करोड भारूको ठूलो सम्झौता कानुनी विवादमा तानिन सक्ने संकेत देखिएको छ।

मिडिया रिपोर्टअनुसार उद्योगपति लक्ष्मी मित्तल, उनका छोरा आदित्य मित्तल र अदार पूनावालाले उक्त टोलीमा बहुमत हिस्सा खरिद गरेका छन् । तर यो प्रक्रिया पारदर्शी नभएको भन्दै प्रश्न उठ्न थालेपछि विवाद चुलिएको हो ।

यसअघि प्रतिस्पर्धामा रहेको सोमानी समूहले उक्त सम्झौताप्रति असन्तुष्टि जनाउँदै कानुनी कदम चाल्ने तयारी गरेको जनाएको छ । मिडिया रिपोर्टका अनुसार यस विषयमा कानुनी र जनसम्पर्क टोलीसँग छलफल भइसकेको र छिट्टै कानुनी नोटिस पठाइने तयारी भइरहेको छ । साथै, भारतीय क्रिकेट नियामक निकायलाई समेत पत्र पठाउने तयारी गरिएको जनाइएको छ ।

सोमानी समूहले सम्झौताका क्रममा धेरै महत्वपूर्ण प्रश्नको जवाफ नदिइएको दाबी गरेको छ । उनीहरूले बक्यौता भुक्तानीको अवस्था, कानुनी मुद्दाहरूको स्थिति लगायतका विषयमा स्पष्टता नआएको गुनासो गरेका छन् । आफूहरू सम्झौता टुंग्याउन तयार हुँदा पनि जानाजानी ढिलाइ गरिएको र अर्कोतर्फ गोप्य रूपमा वार्ता अघि बढाइएको आरोप लगाइएको छ ।

सम्झौताअनुसार मित्तल परिवारसँग करिब ७५ प्रतिशत स्वामित्व रहनेछ भने अदार पूनावालासँग झण्डै १८ प्रतिशत हिस्सा रहनेछ । बाँकी ७ प्रतिशत हिस्सा हालका स्वीकृत लगानीकर्तासँग रहनेछ, जसमा मनोज बादाले पनि समावेश छन् ।

नयाँ संरचनाअनुसार टोलीको सञ्चालक समितिमा लक्ष्मी मित्तल, आदित्य मित्तल, वनिशा मित्तल भाटिया, अदार पूनावाला र मनोज बादाले रहने जनाइएको छ । बादाले भविष्यमा पनि टोलीसँग आवद्ध रहनेछन् ।

सम्झौतापछि लक्ष्मी मित्तलले क्रिकेटप्रति आफ्नो लगाव रहेको र आफ्नो परिवारको सम्बन्ध राजस्थानसँग जोडिएकाले उक्त टोलीसँग जोडिन पाउँदा खुशी लागेको बताएका थिए । त्यस्तै, आदित्य मित्तलले टोलीले नयाँ प्रतिभा विकासमा खेलेको भूमिकालाई निरन्तरता दिने बताए भने अदार पूनावालाले यसलाई गौरवपूर्ण इतिहास बोकेको टोली भन्दै भविष्यको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

Read More

केहीबेर खुलेको बीपी राजमार्ग फेरी बन्द

बनेपा । सोमबारे बन्द भएको बिपी राजमार्ग केहीबेर खुलेसँगै फेरी बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको बिभिन्न स्थानहरुमा अत्यधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।

मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा राजमार्ग सुचारु गरिने प्रहरीले जानकारी दिएको छ ।

यसअघि सोमबार बिहान बन्द गरिएको राजमार्ग दिउसो केहि बेर खुला गरिएको थियो ।

Read More

पर्यटक बनेर कम्बोडिया पुगेका नेपालीलाई दुताबासको आग्रह

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बसिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै महत्वपूर्ण सूचना जारी गरेको छ ।

दूतावासका अनुसार विभिन्न उद्देश्य, विशेषगरी पर्यटक बनेर कम्बोडिया पुगेका केही नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेको जानकारी प्राप्त भएको भन्दै केही नेपाली अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा संलग्न रहेको सूचनासमेत आएको दूतावासले जनाएको छ ।

दूतावासले अनलाइन ठगी अन्तरदेशीय अपराध भएकाले त्यसमा संलग्न हुनेलाई कडा सजाय हुने चेतावनी दिएको छ । कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, यस्ता अवैध केन्द्रहरू बन्द गर्ने र संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान पनि तीव्र बनाइएको छ ।

दूतावासले नेपाली नागरिकलाई भिसा अवधिभन्दा बढी समय नबस्न, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र यदि संलग्न भइसकेको भए तत्काल त्यस्ता काम छाडेर नेपाल फर्कन आग्रह गरेको छ ।

यसका साथै, उच्च तलब र आकर्षक सुविधाको लोभमा पर्यटकीय भिसामा कम्बोडिया वा अन्य देशमा रोजगारीका लागि नजान पनि अनुरोध गरिएको र वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित निकायसँग सम्पर्क गरी रोजगारको आधिकारिकता पुष्टि गर्न र श्रम स्वीकृति लिएर मात्र विदेश जान दूतावासले सुझाएको छ ।

नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले कम्बोडियामा रहेका नेपालीको विवरण संकलन भइरहेको जनाउँदै दूतावासले अनलाइन फाराम भरी सहयोग गर्न आग्रह गरेको छ ।

साथै परिवारका सदस्य, आफन्त वा चिनेजानेका कोही व्यक्तिहरू श्रम स्वीकृति बिना लामो समयदेखि कम्बोडियामा बसिरहेका छन् वा समस्यामा परेका छन् भने त्यसबारे जानकारी दूतावास वा परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा दिन पनि आग्रह गरिएको छ ।

दूतावासले कम्बोडिया पुर्‍याउने व्यक्तिविरुद्ध नेपाल फर्केपछि वा त्यहीँबाट समेत नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन समेत सबैलाई अनुरोध गरेको छ ।

Read More

तमिलनाडुको राजनीतिमा थलपति विजयको उदय

काठमाडौँ । दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार जोसेफ विजयले तमिलनाडु प्रदेश सभाको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँदै सबैलाई चकित पारेका छन् ।

‘थलपति’ नामले चिनिने विजयको दल तमिलगा वेट्री कडगमले प्रारम्भिक मतगणनामा मुख्यमन्त्री एमके स्टालिनको द्रविड मुनेत्र कडगमलाई पछि पारेको छ । पछिल्लो अपडेट अनुसार विजयको दल १०१ सिटमा अगाडि रहेको छ भने सत्तारुढ द्रविड मुनेत्र कडगम (डिएमके) ५७ सिटमा सीमित देखिएको छ। विपक्षी अन्ना द्रविड मुनेत्र कडगम (एडिएमके) पनि ७१ सिटमा अगाडि रहेकोछ ।

विजय स्वयं पेराम्बुर र तिरुचिरापल्ली क्षेत्रबाट करिब १२ हजार मतले अगाडि रहेको जनाइएको छ । उनी तमिलनाडुसँगै हिन्दी भाषी क्षेत्रमा समेत लोकप्रिय मानिन्छन् । प्रारम्भिक अनुमानमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको भए पनि हाल देखिएको रुझान अझै चकित पार्ने खालको छ ।

चलचित्र क्षेत्रमा सफल यात्रा बनाएपछि विजय यसै चुनावबाट राजनीतिमा होमिएका हुन् र यो नतिजाले उनको राजनीतिमा भएको उदयको रुपमा हेरिएको छ । गत वर्ष सेप्टेम्बरमा करूरमा आयोजित उनको दलको सभामा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको थियो । उक्त घटनाप्रति उनले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २० लाख रुपैयाँ र घाइतेलाई दुई-दुई लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

२२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो । उनका पिता एस ए चन्द्रशेखर तमिल चलचित्रका चर्चित निर्देशक हुन् भने आमा शोभा गायिका थिइन् । सानैदेखि चलचित्र क्षेत्रमा हुर्किएका उनले बाल कलाकारका रूपमा अभिनय सुरु गरेका थिए । पिताकै निर्देशनमा बनेको ‘वेट्री’ चलचित्रबाट बाल कलाकारका रूपमा देखिएका विजयले पछि ‘नालय थीरपू’ (१९९२) मार्फत नायकका रूपमा यात्रा थालेका थिए। प्रारम्भिक चरणमा चलचित्रले अपेक्षित सफलता नपाए पनि त्यसले उनको भविष्यको आधार तयार गरेको थियो ।

सुरुआती समयका उनका चलचित्रहरू मुख्यतः मनोरञ्जनमुखी शैलीका भए पनि पछि उनले विभिन्न विषयमा आधारित चलचित्रमार्फत छुट्टै पहिचान बनाएका छन्। ‘गिल्ली’ जस्तो सफल चलचित्रले उनलाई जनप्रिय बनायो भने ‘कथी’, ‘थेरी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता चलचित्रले थप उचाइमा पुर्‍यायो। उनी उत्कृष्ट नृत्यका लागि पनि परिचित छन् ।

Read More

शल्यक्रियापछिको पुनःस्थापना प्रक्रियाका लागि कतार पुगिन् साम्बा

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो उपचार र पुनःस्थापनाबारे जानकारी दिएकी छन् ।

लामो प्रयासपछि कतारको अस्पेटार अस्पताल पुगेकी उनले अब केही महिना त्यहीँ बसेर शल्यक्रियापछिको पुनःस्थापना प्रक्रिया अगाडि बढाउने बताएकी छन् । यस कठिन समयमा साथ दिने समर्थक, क्लब र सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्- ‘लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु । सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ ।’ 

उनका अनुसार शल्यक्रियापछिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। आफू पुनः मैदान फर्किने लक्ष्यमा केन्द्रित रहेको उनले बताइन् ।

यसैबीच, नेपालमा फुटबलको वर्तमान अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेकी छन् । नेपाली फुटबल छिट्टै सुधार हुने विश्वास व्यक्त गर्दै उनले आफ्नो लक्ष्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन् ।

Read More