२०८३ असार १२

राष्ट्रसंघको महासचिवमा महिला उम्मेदवारको पक्षमा चीन

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदमा महिलालाई चयन गर्न चीनले समर्थन जनाएको छ ।

चीनले विश्व संस्थाको नेतृत्वमा पहिलोपटक महिला देख्न पाउँदा खुशी हुने जनाएको हो । संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा अहिलेसम्म कुनै महिलाले महासचिवको जिम्मेवारी सम्हालेकी छैनन् । अहिले नयाँ महासचिव चयन प्रक्रिया सुरु भइसकेको छ ।

उक्त पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट र संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनकी महासचिव रेबेका ग्रिनस्पान महिला उम्मेदवारका रूपमा दौडमा रहेका छन् । यसैगरी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी र सेनेगलका पूर्व राष्ट्रपति म्याकी साल पनि प्रतिस्पर्धामा छन् ।

संयुक्त राष्ट्रसंघमा चीनका स्थायी प्रतिनिधि फू कोंगले महिलालाई महासचिव बनाउने पक्षमा आफूहरू रहेको बताएका छन् । उनले ८० वर्षपछि महिला नेतृत्व देख्न पाउनु महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरेका छन् ।

गत महिना उम्मेदवारहरूले सदस्य राष्ट्र र नागरिक समाजसँग अन्तरक्रियामार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । सो क्रममा उनीहरूले किन आफू योग्य उम्मेदवार हुन् भन्ने विषयमा प्रश्नहरूको सामना गरेका थिए ।

चीनले भने हालसम्म कुनै एक उम्मेदवारलाई प्राथमिकता नदिएको जनाएको छ । फू कोंगले महासचिव चयनका लागि चीनका केही मापदण्ड रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ अहिले संवेदनशील मोडमा रहेको र बहुपक्षीय प्रणालीप्रति प्रतिबद्ध, स्वतन्त्र र सशक्त नेतृत्व आवश्यक रहेको बताएका छन् ।

राष्ट्रसंघको महासचिवको निर्वाचनको प्रक्रिया शुरु भएको छ । महसचिवको मनोनयनपछि अन्तरक्रियात्मक सत्रहरू जारी रहेका छन् र उनीहरूले आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन् र प्रश्नहरूको जवाफ दिइरहेका छन् ।  यद्यपि महासभाले साधारण बहुमतले विजेता निर्धारण गर्छ, सुरक्षा परिषद्ले अन्तिम निर्णय गर्छ, किनकि संयुक्त राष्ट्र संघको बडापत्रले सुरक्षा परिषद्को सिफारिसमा महासभाले महासचिव नियुक्त गर्ने आदेश दिएको छ । नयाँ महासचिवको कार्यकाल जनवरी १, २०२७ देखि शुरु हुने छ ।

Read More

गुलशन र आसिफ चम्किदा ओमानमाथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले ओमानलाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको हो ।

नेपालले दिएको २५७ रनको लक्ष्य पछाएको ओमानले ३९.३ ओभरमा अल आउट हुदै १७५ रन बनाएको थियो । 

ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाएका थिए भने हम्माद मिर्जाले ३४ र हसनैन उल वहावले २९ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर गुलशन झाले ५ विकेट लिएका थिए भने करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ९४ रन बनाएका थिए भने अर्जुन कुमालले ४८ रन बनाएका थिए । त्यस्तै आरिस सेखले २४ बलमा आक्रामक ४३ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिएका थिए । त्यसैगरी ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २-२ तथा जितेन रामानान्दी र आर्यन विस्टले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले यस सिरिजका ४ खेलमा ३ खेल जितेर ६ अंक हासिल गरेको छ । नेपाल एक खेल ओमानविरुद्ध पहिलो खेलमा हार बेहोरेको थियो । यो सिरिजपछि लिग- २ को अंक तालिकामा नेपालको २४ खेलमा १८ अंक भएको छ र सातौं स्थानमा रहेको छ ।

त्यसैगरी ओमानको भने २८ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

Read More

शेखर गोल्छालाई म्याद थप्न अदालतको अस्वीकार

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ ।

सोमबार सर्वोच्च आदेशपछि धरौटीमा छुटेका गोल्छालाई पुन: पक्राउ गरिएकोमा मंलगबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । न्यायाशीध मोना सिंहको इजलासले यसअघि नै सर्वोच्चले धरौटी लिएर रिहा गर्न आदेश दिएकोले सोहि अनुसार गर्नु भन्दै गोल्छाको म्याद थप गर्न अस्वीकार गरेको हो  ।

गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको थियो ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।

Read More

चलचित्र ‘लालीबजार’लाई प्रदर्शन गर्न अनुमति दिने सक्कल फाइल झिकाइयो

काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’लाई प्रदर्शन गर्न अनुमति दिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र जाँच समितिले गरेको निर्णयको सक्कल फाइल मगाएको छ । साथै अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता समेत दिएको छ ।

मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउने आदेश दिदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ ।

वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रदर्शन रोक्न दायर गरिएको रिटमा बैशाख १५ मा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

Read More

बजेट अधिवेशन बैशाख २८ देखि बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

यसअघि  बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो । 

सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ । 

Read More

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ३ अर्ब ४३ करोड ९० लाख ६८  हजार ३९२ मा कारोबार भएको थियो ।  आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा ११.१६ प्रतिशतले बढेको छ सोलु हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर ९.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २३ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Read More

समस्याग्रस्त सहकारीका सहकारीको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौं । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ’ मन्त्री रावलले भनिन् । समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ ।

समितिले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ ।

समितिका अनुसार, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ ।

समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।

Read More

युएईमा गरिएको आक्रमणको भारतद्वारा निन्दा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमणप्रति भारतले असन्तुष्टि जनाएको छ ।

भारत सरकारले उक्त घटनामा तीन जना भारतीय घाइते हुनु दुःखद रहेको भन्दै यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

भारतले सबै पक्षलाई तत्काल हिंसा रोक्न र सर्वसाधारणलाई निशाना नबनाउन आग्रह गरेको छ । साथै पश्चिम एसियामा शान्ति र स्थायित्व कायम राख्न वार्ता र कूटनीतिक माध्यम नै उचित उपाय हुने बताएको छ । भारतले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज क्षेत्रमा जहाजहरूको आवागमन अवरोधबिना जारी रहनुपर्नेमा जोड दिएको छ ।

यसअघि युएईले उक्त आक्रमण इरानतर्फबाट भएको दाबी गरेको थियो । उसले १२ बैलिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोनलाई अवरोध गर्न सफल भएको जनाएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सर्वसाधारण र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने कार्य अस्वीकार्य हुने बताएका छन् ।

अर्कोतर्फ इरानले फुजैराहस्थित तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक सैन्य अधिकारीले उक्त क्षेत्रमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन् । ती अधिकारीका अनुसार अमेरिकाले होर्मुज क्षेत्रमा जबर्जस्ती मार्ग खोल्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो । यस घटनाले क्षेत्रीय स्थायित्वमा खतरा उत्पन्न गरेको इरानको आरोप छ ।

उक्त घटना अमेरिकाले होर्मुज क्षेत्रमा ‘प्रोजेक्ट फ्रिडम’ नामक अभियान सुरु गरेलगत्तै भएको बताइएको छ, जसको उद्देश्य जहाजहरूको आवागमन पुनः सुचारु गराउने रहेको छ । यसको प्रतिक्रियास्वरूप इस्लामिक रिभोलुसनरी गार्डले अनुमति बिना कुनै पनि सैन्य वा व्यापारिक जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ ।

इरानले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आफ्नो नियम पालना गर्ने जहाजहरूलाई मात्र आवागमन गर्न दिइने जनाएको छ । यसअघि पनि इरानी नौसेनाले चेतावनीका रूपमा अमेरिकी युद्धपोततर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरिएको छ ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट पक्राउ

काठमाडौं । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय  सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Read More