२०८३ जेष्ठ २७

देशका विभिन्न स्थानमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

काठमाडौँ । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र भएका आगलागीका घटनाबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । अधिकांश घटनामा विद्युत् सर्ट तथा चुहावटलाई कारण मानिएको प्रहरीले जनाएको छ ।

दाङको गढवा गाउँपालिका–६ मा भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित ‘न्यू खुकुरी रेष्टुरेन्ट’ मा आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा गएराति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको सामान जलेको छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने मोरङको कानेपोखरी गाउँपालिका–१ मा रहेको किराना पसलमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ ।

कञ्चनपुर र कैलालीमा पनि आगलागीका घटना भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा रहेको एक घर तथा कैलालीको धनगढीस्थित जय श्री लटिनाथ ट्रेडर्समा आगलागी भए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लगातार बढिरहेका आगलागीका घटनापछि प्रहरीले विद्युत् लाइन, तार र उपकरणको नियमित जाँच गर्न तथा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Read More

एनपीएल विवाद फेरि चर्चामा, क्यानलाई कारबाही गर्ने सरकारको निर्णय रोकियो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) विरुद्ध कारबाही अगाडि बढाउने सरकारी प्रक्रिया फेरि अन्योलमा परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले क्यानसँग अन्तिम स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिए पनि राखेपले उक्त पत्र पुनः मन्त्रालयमै फर्काएको हो ।

मन्त्रालयले नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी छानबिनमा क्यानले आवश्यक सहयोग नगरेको निष्कर्ष निकाल्दै वैशाख १४ गते कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर राखेपले मन्त्रालयको निर्देशन स्पष्ट नभएको भन्दै थप खुलाउन आग्रहसहित पत्र फिर्ता पठाएको जनाएको छ ।

राखेपका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन आफूसँग नआएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको उजुरीसम्बन्धी विषयमा समेत अन्योल देखिएकाले स्पष्ट निर्देशन मागिएको हो । राखेप सदस्यसचिव रामचरित्र मेहताले “प्राविधिक कारण” ले पत्र फिर्ता गरिएको बताएका छन् ।

एनपीएलको पहिलो संस्करण आयोजना गर्दा पारदर्शिता, खरिद प्रक्रिया र विदेशी कम्पनीसँगको सम्झौतामा कानुनी प्रक्रिया पालना नभएको भन्दै क्यानविरुद्ध विभिन्न उजुरी परेका थिए । त्यसपछि मन्त्रालय र राखेप दुवैले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिहरूले क्यानले आवश्यक कागजात उपलब्ध नगराएको र जवाफमा पनि अस्पष्टता देखिएको निष्कर्ष निकालेका थिए । मन्त्रालयले खेलकुद विकास ऐनको दफा उल्लंघन भएको ठहर गर्दै आवश्यक परे क्यानलाई निलम्बनसम्म गर्न सकिने संकेत गरेको छ ।

यदि कारबाही प्रक्रिया अगाडि बढेमा नेपाली क्रिकेटमाथि गम्भीर असर पर्न सक्ने चर्चा सुरु भएको छ । क्यान निलम्बनमा परे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) बाट समेत प्रतिबन्धको जोखिम बढ्न सक्ने जानकारहरूको भनाइ छ ।

पहिलो संस्करणको एनपीएल सम्पन्न भएको लामो समय बितिसक्दा पनि विवादको छानबिन निष्कर्षमा नपुग्नुले नेपाली क्रिकेट प्रशासनमाथि प्रश्न उठेको छ ।

Read More

कांग्रेसले बोलायो जेनजी पुस्ता, संविधान संशोधनमा सुझाव संकलन गरिने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनको बहसलाई नयाँ पुस्तासँग जोड्ने प्रयास थालेको छ । यसअन्तर्गत कांग्रेसले जेनजी (Gen Z) अगुवाहरूसँग छलफल गर्दै रायसुझाव संकलन गर्ने भएको छ ।

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव समिति ले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका १८ जना जेनजी अगुवालाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।

छलफलमा कांग्रेस महामन्त्री गगन थापा, संविधानविद् तेजमान श्रेष्ठ, प्राडा. कृष्ण खनाललगायत सहभागी हुनेछन् ।

नयाँ पुस्ताको सोच, अपेक्षा र संविधानप्रतिको धारणा बुझेर संशोधन बहसलाई थप प्रभावकारी बनाउने उद्देश्य कांग्रेसको रहेको बताइएको छ ।

Read More

रौतहटमा अन्धविश्वासको क्रूर रुप: बोक्सी भन्दै एकल महिलालाई मलमुत्र खुवाइयो, एक जना पक्राउ

काठमाडौँ । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार करिब ५५ वर्षीया महिलामाथि केही व्यक्तिहरुले “आफन्तलाई बिरामी बनाएको” भन्दै गालीगलौज, लछारपछार र निर्घात कुटपिट गरेका थिए । यति मात्र नभई पीडितलाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको आरोप छ ।

घटनापछि फरार रहेका राजेन्द्र माझीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको छ ।

घटनाले समाजमा अझै पनि अन्धविश्वास र बोक्सी आरोपजस्ता कुप्रथाले जरो गाडिरहेको देखाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

Read More

भारतले निर्यात रोकेपछि नेपालमा चिनी संकटको संकेत: सरकारी मौज्दात न्यून, कालोबजारीको जोखिम बढ्यो

काठमाडौँ । भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्न भन्दै सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता बढेको छ । नेपाल सरकार भने बजारमा चिनीको अभाव नहुने दाबी गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार स्वदेशी उद्योग, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग गरी करिब ८ महिनालाई पुग्ने चिनी मौज्दात छ ।

तर मन्त्रालयकै केही अधिकारीहरूले भने वास्तविक अवस्था फरक रहेको संकेत गरेका छन् । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि अहिलेको मौज्दात त्यसको तुलनामा निकै कम रहेको उनीहरूको भनाइ छ । विशेषगरी दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा माग बढ्ने भएकाले बजारमा अभाव र मूल्यवृद्धिको जोखिम देखिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल केवल २ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ । यो चिनी खुद्रा बिक्रीका लागि मात्र पर्याप्त हुने र डिलरमार्फत बजार पठाउन सकिने अवस्था नरहेको कर्पोरेशनले जनाएको छ । सहुलियत भन्सारमा ३० देखि ४० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागिए पनि सरकारबाट स्वीकृति अझै आएको छैन ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि ९०० क्विन्टल मात्र चिनी बाँकी रहेको छ । कम्पनीले १५ हजार क्विन्टल चिनी खरिद प्रक्रिया अघि बढाएको र जेठ २५ गते टेन्डर खोल्ने तयारी गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसपटक स्वदेशी चिनी खरिदमा जोड दिइएको कम्पनीको भनाइ छ ।

भारतको प्रतिबन्धसँगै निजी व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्न सक्ने र कालोबजारी बढ्न सक्ने चिन्ता समेत बढेको छ । साल्ट ट्रेडिङले बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको छ ।

तर उद्योगीहरू भने बजारमा तत्काल संकट नआउने दाबी गर्छन् । उद्योगी वीरेन्द्र कनोडियाका अनुसार नेपालभर अहिले करिब १ लाख टन चिनी मौज्दात रहेको र यसले तत्कालको माग धान्न सक्ने अवस्था छ । उनका अनुसार दसैँ–तिहारमा केही दबाब परे पनि ठूलो संकट नआउने विश्वास गरिएको छ ।

यसैबीच उद्योगमन्त्री गौरीकुमारी यादवको उपस्थितिमा उद्योगी र सरोकारवालासँग छलफल गर्दै सरकारले कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न कडा निगरानी गर्ने चेतावनी दिएको छ । साथै दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न किसान, उद्योगी र सरकारबीच समन्वय बढाउने निर्णय समेत गरिएको छ ।

Read More

ऋषव पन्तमाथि १२ लाख जरिवाना

काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध भएको खेलमा निर्धारित समयमा ओभर पूरा गर्न नसकेपछि उनीमाथि कारबाही गरिएको हो ।

यो खेल लखनउस्थित अटल बिहारी वाजपेयी इकाना क्रिकेट रंगशालामा भएको थियो । चालु सिजनमा लखनउ टोलीबाट स्लो ओभर रेटको यो पहिलो गल्ती भएकाले नियमअनुसार पन्तलाई आर्थिक जरिवाना मात्रै गरिएको हो ।

इन्डियन प्रिमियर लिगको ओभर रेटसम्बन्धी नियमअनुसार टोलीले तोकिएको समयमा २० ओभर बलिङ पूरा गर्नुपर्छ । त्यसो नगरेमा दोषी ठहरिए कप्तानलाई १२ लाख रुपैयाँ जरिवाना गरिने व्यवस्था छ ।

यदि लखनउले यही सिजन फेरि स्लो ओभर रेटको गल्ती दोहोर्‍याए कप्तान पन्तमाथिको जरिवाना २४ लाख रुपैयाँ पुग्नेछ । साथै प्लेइङ–११ मा रहेका अन्य खेलाडीलाई पनि म्याच शुल्कको २५ प्रतिशत वा ६ लाख रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति जरिवाना लाग्नेछ ।

तेस्रोपटक पनि यस्तै गल्ती दोहोरिए कप्तानमाथि ३० लाख रुपैयाँ जरिवाना र एक खेल प्रतिबन्धको कारबाही हुन सक्ने नियममा उल्लेख छ ।

यता खेलको नतिजाले भने आइपिएलको अंक तालिकालाई थप रोचक बनाएको छ । प्लेअफ दौडबाट बाहिरिइसकेको लखनउले आफ्नै मैदानमा चेन्नईलाई हराउँदै उसको समीकरण बिगारेको हो । यो हारपछि चेन्नईको सिधै प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ ।

Read More

बाँकेको खजुरा मिनि पार्क रिसोर्टमा छापा, जुवातास खेलिरहेका एकराम हुसेन सहित समेत १३ पक्राउ

बाँके । खजुरा गाउँपालिका-४ स्थित खजुरा मिनि पार्क रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय एकराम हुसेन समेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

लेवान्डोस्कीले बार्सिलोना छोड्ने

काठमाडौँ । बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनपछि क्लब छाड्ने भएका छन् । क्लबले शनिबार औपचारिक रूपमा उनको बिदाइको घोषणा गरेको हो ।

३७ वर्षीय पोलिस स्ट्राइकरले यसै साता प्रशिक्षणका क्रममा सहकर्मी र प्रशिक्षक टोलीलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । उनले बार्सिलोनामा बिताएका चार वर्षलाई आफ्नो करिअरकै ‘सबैभन्दा अविस्मरणीय अध्याय’ बताएका छन् ।

लेवान्डोस्कीले सामाजिक सञ्जालमार्फत चार वर्षमा तीन लिग उपाधिसहित सात ट्रफी जित्न सफल भएको उल्लेख गर्दै समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले क्याटालोनियालाई ‘आफ्नो जीवनको विशेष स्थान’ समेत बताएका छन् ।

सन् २०२२ मा बायर्न म्युनिखबाट करिब ५ करोड युरोमा बार्सिलोना आएका उनले १९१ खेलमा ११९ गोल गरेका छन् । उनी क्लबका सर्वाधिक गोलकर्ताको सूचीमा १४औँ स्थानमा रहेका छन् । पहिलो सिजनमै उनले सर्वाधिक गोलकर्ता पुरस्कार जित्दै टोलीलाई लिग उपाधि दिलाएका थिए ।

बार्सिलोनाले पनि लेवान्डोस्कीको योगदानको प्रशंसा गर्दै उनले गोल, नेतृत्व र उत्कृष्ट प्रतिस्पर्धी भावना मार्फत क्लबमा गहिरो छाप छाडेको जनाएको छ ।

अब उनको नयाँ गन्तव्यबारे चर्चा सुरु भएको छ । युभेन्टस र अमेरिकन फुटबल लिगका केही क्लबसँग नाम जोडिए पनि साउदी क्लब अल हिलालले उनलाई वार्षिक ९ करोड युरो बराबरको प्रस्ताव गरेको बताइएको छ ।

Read More

लिफ्ट राखेपछि दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीको पहुँच

काठमाडौँ । काठमाडौँ महानगर- ७ सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा वहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच पुर्‍याउन काठमाडौँ महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो । नेपालका सामुदायिक विद्यालयहरुमा लिफ्ट जडान गरिएको यो नै पहिलो हुनुपर्छ । विद्यालयको दावी छ । 

विद्यालयमा लिफ्ट जडान भएपछि अभिभावक र विद्यार्थीमा खुशी देखियो । आफ्ना नानीबाबु विद्यालयको माथिल्लो तलामा पुग्न सक्ने भएपछि अभिभावकहरु भक्कानिएर हर्षका आँशु टिलपिल बनाउँदै हुनुहुन्थ्यो । 

व्हील चेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणाली सञ्चालनको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सवै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताइन् । 

विद्यालयमा श्रवण–दृष्टिविहीन भएका १८ जना बालबालिका छन् । पूर्ण र अति अशक्त अपाङ्गता भएका, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा वहुअपाङगता भएका र ४२ जना सामान्य तथा मध्यम प्रकृतिका सुस्तश्रवण, न्यूनदृष्टियुक्त, स्वर बोलाइ र मनोसामाविजक अपाङ्ता भएका बालबालिका अध्ययनरत छन् । यस्तो अवस्था भएका बालबालिकाहरुलाई विद्यालयले भर्ना नलिएको विषय धेरै पटक समाचार बनेका छन् । तर, यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ । विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको यस्ता बालबालिकाका अभिभावकलाई सिपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बन्न सघाउनु हो । यसरी हेर्दा विद्यालयको आयामिक शैक्षिक सेवा उपलब्ध गराइरहेको छ । 

वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि महानगरपालिकासँग वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको बताए । 

विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार वि. सं. २०२८ सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदिबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो । 

नेपाल बाल संगठनभित्र आश्रय लिई बसेका असहाय बालबालिकाको परनिर्भरतालाई अन्त्य गरेर दीर्घकालीन रुपमा उनीहरुलाई स्वावलम्वी तथा आत्मनिर्भर बन्न व्यवसायिक सिप सिकाइने प्रमुख लक्ष्यका विद्यालय स्थापना भएको हो । अहिले विद्यालयमा ४२७ जना बालबालिका अध्ययनरत छन् । शैक्षिक सत्र २०५६ देखि अहिलेसम्म २६  ब्याच   एसएलसी र एसईईमा परीक्षामा १ हजार ५ सय बढी विद्यार्थीहरुलाई ग्रेडेड गराएको छ । शैक्षिक सत्र २०८० मा ९४ प्रतिशत, २०८१ मा शतप्रतिशत विद्यार्थी सफल भए । शैक्षिक सत्र २०८२ मा ३ जना विद्यार्थीले ३.६ देखि ३.९ जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

Read More

संसद बैठकमा मोबाइल चलाएको बारे महावीर पुनले दिए स्पष्टीकरण

काठमाडौँ । संसद बैठकमा मोबाइल चलाएको भन्दै आलोचना भएपछि सांसद महावीर पुनले स्पष्टीकरण दिएका छन् ।

पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् ।

उनले भनेका छन्-  
मेरो भनाई सुन्नुहोस- मैले सदनमा माननीय सांसदज्यूहरु बोल्दै गर्दा मोबाईल चलाएको देखेर धेरैलाई रीस उठेको छ । माफ गर्नु होला । मैले मोबाईलमा काम लाग्ने केहि न केहि कुराहरु पढिरहेको हुन्छु र लेखिरहेको हुन्छु । मेरो आँखा मोवाईलमा भए पनि कानले चाँहि भाषण सुनेकै हुन्छ र सुनेको कुरा दिमागमा राखी रहेकै हुन्छु । कुनै अर्को मान्छे छेउमा आएर कुनै कुरा गयो भने त्यो पनि मज्जैसंग सुन्छु । मेरो बानी नै यस्तै छ त हजुर, के गर्ने ।

Read More