२०८३ श्रावण १०

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको अवस्था कस्तो छ ?

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कार्यालयका अनुसार संघीय शासन प्रणाली लागू भएपछि प्रदेशस्तरमा आर्थिक गतिविधिको मापन, आर्थिक असमानता न्यूनीकरण तथा नीति निर्माणलाई प्रभावकारी बनाउन प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्न थालिएको हो । यो कार्य आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको थियो ।

यस वर्षको प्रारम्भिक अनुमानअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत रहनेछ । बागमतीको अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि कोशी प्रदेशको १० खर्ब ४३ अर्ब रुपैयाँ अर्थात् १५.८ प्रतिशत, लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब रुपैयाँ अर्थात् १४.२ प्रतिशत, मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत योगदान रहने अनुमान छ । त्यसैगरी, गण्डकी प्रदेशको योगदान ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७ प्रतिशत तथा कर्णाली प्रदेशको ४.२ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले स्थिर मूल्यका आधारमा आर्थिक वृद्धिदर पनि सार्वजनिक गरेको छ । त्यसअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा उच्च आर्थिक वृद्धिदर बागमती प्रदेशमा ५.४ प्रतिशत रहनेछ भने गण्डकी प्रदेशमा ५.०१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा कम आर्थिक वृद्धिदर मधेश प्रदेशमा १.३१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

प्रदेशगत आर्थिक गतिविधिको विश्लेषण गर्दा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै देखिएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा ठूलो रहेको कार्यालयले जनाएको छ ।

कोशी र मधेश प्रदेशमा व्यापार क्षेत्र दोस्रो ठूलो हिस्सामा रहेको छ । गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र दोस्रो स्थानमा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको छ ।

आर्थिक गतिविधिको वृद्धिदरका आधारमा विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय स्तरमा यस क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि यही क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवाको वृद्धिदर सबैभन्दा धेरै रहने अनुमान गरिएको छ । यता मधेश प्रदेशको कृषि क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनतर्फ बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय २६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको १६५१ अमेरिकी डलर, कोशी प्रदेशको १४१० अमेरिकी डलर, लुम्बिनी प्रदेशको १२०८ अमेरिकी डलर, सुदूरपश्चिम प्रदेशको ११७० अमेरिकी डलर, कर्णाली प्रदेशको ११०८ अमेरिकी डलर तथा मधेश प्रदेशको ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

राष्ट्रिय स्तरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५१३ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस आधारमा बागमती र गण्डकीबाहेक अन्य सबै प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ ।

औद्योगिक वर्गीकरणअनुसारको प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ।आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ।त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ  भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी  र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा; मधेश, वागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ।

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक वर्गीकरणअनुसारको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२०.९३%) रहने प्रारम्भिक अनुमान रहेकोमा कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तिय तथा विमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ।   

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने वागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेश प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ।

कोशी प्रदेश

आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. १० खर्ब ४३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ९ खर्ब ८२ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि यस प्रदेशले १५.८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.१३ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्यको (३२.५%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिले (३३.१%) योगदान गरी अग्रस्थानमा हुने र प्रशासनिक सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा औद्योगिक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.७६%) र सबैभन्दा थोरै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनको (०.३९%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.२९%) र सबैभन्दा थोरै निर्माणको (-०.७०%) रहने संशोधित अनुमान गरिएको छ। 

मधेश प्रदेश

आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ८ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब १८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १३.२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर १.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३४.९७%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्‌ (०.१४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषिको (३५.८७%) योगदान सहित अग्रस्थानमा हुने र खानी तथा उत्खनन्को (०.१४%) मा न्यून रहने संशोधित अनुमान गरिएको छ। मधेश प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१०.९१%) र सबैभन्दा थोरै कृषि  (-१.२६%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (८.७६%) र सबैभन्दा थोरै निर्माण (०.७८%) को रहने संशोधित अनुमान गरिएको छ।  

बागमती प्रदेश

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २४ खर्ब २३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. २२ खर्ब ५७ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ३६.४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.४० प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान थोक तथा खुद्रा व्यापारको (२१.७%) रहने र सबैभन्दा न्यून योगदान पानी आपूर्ति  तथा  फोहोर व्यवस्थापनको (०.३%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा थोक तथा खुद्रा व्यापारको (२१.४%) योगदान अग्रस्थानमा हुने र पानी आपूर्ति  तथा फोहोर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। बागमती प्रदेशमा ‌औद्योगीक वर्गिकरण अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२२.८८%) र सबैभन्दा थोरै सार्वजनिक प्रसाशन तथा रक्षा (०.६१%) को हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१८.७८%) र सबैभन्दा थोरै खानी तथा उत्खनन् (१.३९%) को रहने संशोधित अनुमान गरिएको छ।

गण्डकी प्रदेश

आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५ खर्ब ९२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. ५ खर्ब ५४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ८.९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर ५.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.९२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (२५.७%) रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.३%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि, वन तथा मत्स्य (२६.२%) को योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.३%) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२३.९%)  र सबैभन्दा थोरै सार्वजनिक प्रशासन तथा रक्षाको (०.६५%) हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (१२.०२%) र सबैभन्दा थोरै (१.४२%) खानी तथा उत्खनन्‌को रहने संशोधित अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश

आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ९ खर्ब ३६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले १४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य (२९.८%) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक तथा सहयोगी सेवा (०.४%) को रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३०.१%) योगदान अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवाको योगदान अन्तिम स्थान (०.४%) मा रहने संशोधित अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (९.१८%) र सबैभन्दा थोरै (-०.१९%) सार्वजनिक प्रसाशन तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँस (८.३८%) र सबैभन्दा थोरै (१.३५%) निर्माणको रहने संशोधित अनुमान गरिएको छ।

कर्णाली प्रदेश

आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. २ खर्ब ७७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा रु. २ खर्ब ६३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर २.९४ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३१.५२%) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन्को (०.१५%) रहने प्रारम्भिक अनुमान रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३१.४%) अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६%) मा रहने संशोधित अनुमान गरिएको छ। कर्णाली प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (६.५४%) र सबैभन्दा थोरै (०.०५%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (८.४०%) र सबैभन्दा थोरै (१.२६%) खानि तथा उत्खनन्को रहने संशोधित अनुमान गरिएको छ।

सुदुरपश्चिम प्रदेश

आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ४ खर्ब ६३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा  रु. ४ खर्ब ४१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशले ७.१ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा यस प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वार्षिक  वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान र आर्थिक वर्ष २०८१/८२ मा ३.२१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्यको (३३.४%) रहने र सबैभन्दा कम प्रशासनिक तथा सहयोगी सेवाको (०.१%) रहने प्रारम्भिक अनुमान रहेको छ।आर्थिक वर्ष २०८१/८२ मा पनि कृषि, वन तथा मत्स्यको (३३.६%) योगदान सहित अग्रस्थानमा हुने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१%) मा रहने संशोधित अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा ‌औद्योगीक वर्गिकरण ‍अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर सबैभन्दा धेरै वित्तिय तथा विमा सेवाको (७.९८%) र सबैभन्दा कम (-०.१८%) सार्वजनिक सेवा तथा रक्षाको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (७.७१%) र सबैभन्दा कम निर्माण (-२.०४%) को रहने संशोधित अनुमान गरिएको छ ।

Read More

जापानको फुकुओका र गुन्मामा राहदानी तथा कन्सुलर सेवाका लागि घुम्ती शिविर सञ्चालन गरिदै

काठमाडौँ । जापानका फुकुओका र गुन्मा क्षेत्रमा नेपाली नागरिकका लागि राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नेपाली राजदूतावास, टोकियोले गैरआवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिहरूसँगको सहकार्यमा उक्त शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

राजदूतावासका अनुसार क्युसु क्षेत्रको फुकुओकामा आगामी जुन ५, ६ र ७ गते तीन दिनसम्म तथा गुन्मा क्षेत्रमा जुन १४ गते घुम्ती शिविर सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ ।

शिविरमार्फत विद्युतीय राहदानी नवीकरणका लागि प्रत्यक्ष विवरण दर्ता, बालबालिकाको नयाँ राहदानी आवेदन तथा नवीकरण, यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत राजदूतावासबाट प्रदान गरिने सम्पूर्ण कन्सुलर सेवा उपलब्ध गराइने राजदूतावासले जनाएको छ ।

फुकुओका शिविरबाट करिब १५ सय जना तथा गुन्मा शिविरबाट करिब ५ सय जनाले सेवा लिने अपेक्षा गरिएको छ । राजदूतावासले शिविरमार्फत प्राप्त आवेदनका आधारमा तयार भएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने जानकारी पनि दिएको छ ।

यसैबीच, नेपाल सरकार तथा नेपाली राजदूतावासले निर्धारण गरेको राजस्वबाहेक अन्य कुनै पनि रकम कसैलाई नबुझाउन र नलिन राजदूतावासले आग्रह गरेको छ । साथै राजस्व रकम तोकिएको स्थानमा मात्रै बुझाउन समेत अनुरोध गरिएको छ ।

Read More

सुरक्षा चुनौतीका कारण थाइल्याण्डले विदेशीको भिसारहित बसाई अवधि घटायो

काठमाडौँ । थाइल्याण्ड सरकारले ९० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसारहित बसाइ अवधि घटाउने निर्णय गरेको छ । यसमा बेलायत, अष्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, स्पेन र संयुक्त राज्य अमेरिकाका नागरिकहरू पनि पर्ने भएका छन् ।

सन् २०२४ जुलाईदेखि ती देशका पर्यटकहरूले थाइल्याण्डमा ६० दिनसम्म बिना भिसा बस्न पाउने सुविधा पाउँदै आएका थिए । कोभिड महामारीपछि देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकारले यो व्यवस्था लागू गरेको थियो ।

तर थाइल्याण्ड सरकारले उक्त सुविधा हटाउने योजना अनुमोदन गरेको छ । अब कुन देशका नागरिकले कति समयसम्म भिसा बिना बस्न पाउने भन्ने कुरा देश–देशबीचको सम्झौता अनुसार छुट्टाछुट्टै तय गरिने भएको छ । सरकारका अनुसार सुरक्षा चुनौती र भिसा प्रणालीमा देखिएको जटिलता यस निर्णयका प्रमुख कारण हुन् ।

थाइल्याण्डमा पछिल्ला महिनाहरूमा लागूऔषध र मानव बेचबिखनसँग सम्बन्धित मुद्दामा विदेशी नागरिकहरूको संलग्नतासहितका उच्च–प्रोफाइल पक्राउका घटनाहरू सार्वजनिक भएका थिए ।

प्रधानमन्त्री अनुतिन चानवीराकुनले सरकारले अहिलेको अवस्था अनुसार नीति परिमार्जन आवश्यक रहेको बताएका छन् । उनका अनुसार यो कदम अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई सन्तुलनमा राख्न आवश्यक भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार अब धेरै देशका नागरिकले ३० दिनभन्दा बढी बस्न चाहिँ भिसा आवेदन दिनुपर्नेछ । केही देशसँगको आपसी सम्झौताका आधारमा भने छुट्टै अवधि लागू हुन सक्नेछ । नयाँ व्यवस्था राजपत्रमा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ ।

मन्त्रालयले एउटै देशका लागि फरक–फरक भिसा छुट व्यवस्था हुँदा विदेशीहरूमा अन्योल बढेको भन्दै त्यसलाई घटाउने उद्देश्य पनि रहेको जनाएको छ ।

पर्यटन थाइल्याण्डको अर्थतन्त्रको प्रमुख आधार हो । सन् २०१९ मा करिब ४ करोड पर्यटक पुगेकोमा कोभिड महामारीका कारण त्यो संख्या ठूलो मात्रामा घटेको थियो । पछिल्ला दुई वर्षमा मात्र पर्यटन पुनः सुधारतर्फ गएको छ भने यस वर्ष हालसम्म करिब १ करोड २० लाखभन्दा बढी पर्यटक पुगिसकेका सरकारी तथ्यांकले देखाएको छ ।

तर पछिल्ला समय विदेशी नागरिक संलग्न आपराधिक घटनाहरू बढ्दै गएपछि सरकार थप कडाइ गर्न बाध्य भएको बताइएको छ।

Read More

तीन वटा सेवाकालीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ ।

मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औं बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्‍याउने बताइएको छ ।

परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।

Read More

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूमिहीन नागरिकहरुलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ११ बजेनै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भूमिहीन नागरिकहरुलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षाको कार्यसूची रहेको जानकारी दिइएको छ ।

Read More

एस्टन भिल्ल्लाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौँ । एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा योउरी टिएलेमान्स, एमिलिआनो बुएन्डिया र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए ।

एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । अहिलेसम्म युरोपा लिगको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने सेभिया रहेको छ । सेभियाले ७ पटक उपाधि जितेको छ ।

Read More

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ ।

बिहान साढे ९ बजे बस्ने बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ । 

समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको सभा कक्षमा हुने बताइएको छ । 

Read More

आइपिएलमा मुम्बईको अर्को हार, कोलकोताको प्लेअफको आशा जिवितै

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । मुम्बईका लागि कोर्बिन बोचले सर्बाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले २६ र तिलक बर्माले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर सौरभ दुवे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले २-२ विकेट लिएका थिए ।

कोलकोताको यो जितपछि प्लेअफको आशा जीवित राखेको छ । कोलकोताको १३ खेलमा १३ अंक भएको छ र हाल छैठौं स्थानमा रहेको छ । अब आफ्नो अन्तिम खेलमा कोलकोताले  सँग खेल्ने छ । त्यस्तै प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको मुम्बईको यो यस सिजनमा नवौं हार हो । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र नवौं स्थानमा रहेको छ ।    

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ । 

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै मन्त्री गौतमले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् । त्यसैगरी उनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी तथा तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित  मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More