२०८३ श्रावण १०

चीनले चन्द्रमाको दक्षिणी ध्रुवको वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने

काठमाडौँ । चीनको चन्द्र अन्वेषण अभियान ‘चाङ–ई–७’ ले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने भएको छ । यो अभियान यसै वर्षको अन्त्यतिर प्रक्षेपण गरिने चीनको मानव अन्तरिक्ष निकायले जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार निकायका प्रवक्ता झाङ जिङ्बोले अभियानमा परिक्रमा, अवतरण, रोभर सञ्चालन तथा ‘हपिङ’ प्रविधिसहितको व्यापक अन्वेषण पद्धति अपनाइने बताएका छन् । चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा केन्द्रित यो रोबोटिक अभियानको मुख्य उद्देश्य पानीको बरफ खोज्नु र भविष्यमा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने सम्भावनाको अध्ययन गर्नु रहेको छ ।

गत अप्रिलमा ‘चाङ–ई–७’ यानलाई दक्षिणी टापु प्रान्त हाइनानस्थित प्रक्षेपण केन्द्रमा पुर्‍याइएको थियो । अहिले त्यहाँ प्रक्षेपणअघिका आवश्यक तयारी भइरहेको जनाइएको छ । झाङका अनुसार अभियानसँग सम्बन्धित सबै काम योजनाअनुसार सहज रूपमा अघि बढिरहेका छन् ।

सन् २०२३ मा भारत चन्द्रमाको कम अध्ययन गरिएको दक्षिणी ध्रुव नजिक सफल अवतरण गर्ने पहिलो देश बनेको थियो । भारतले ‘चन्द्रयान–३’ अभियानमार्फत ‘प्रज्ञान’ रोभरलाई चन्द्र सतहमा उतारेको थियो ।

त्यसपछि चीनको ‘चाङ–ई–६’ अभियानले चन्द्रमाको पृथ्वीबाट नदेखिने टाढाको भागबाट पहिलोपटक नमुना सङ्कलन गरेर पृथ्वीमा फर्काउने उपलब्धि हासिल गरेको थियो ।

चीनले सन् २०३० सम्म चन्द्रमामा मानवसहितको अन्तरिक्ष यान अवतरण गराउने लक्ष्य पनि अघि सारेको छ । झाङका अनुसार चीनले मानवयुक्त तथा मानवविहीन चन्द्र अभियानलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।

Read More

एम्बाप्पेको स्पेनिस ला लिगामा लगातार दोस्रो बर्ष धेरै गोल, जिते पिचिची ट्रफी

काठमाडौँ । रियल म्याड्रिडका किलीयन एम्बाप्पेले स्पेनिस ला लिगाको लगातार दोस्रो सिजन लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । योसंगै एम्बाप्पेले प्रतिष्ठित पिचिची ट्रफी जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

फ्रेन्च फरवार्ड एमबाप्पेले यस सिजन ३१ खेलमा २५ गोल गरेका छन् । उनले सर्वाधिक गोलकर्ताको सूचीमा मुरिकीको २३ तथा बुडिमिरको १७ गोललाई पछि पारेका हुन् ।

रियल म्याड्रिडबाट दुई सिजन खेलिसकेका एमबाप्पेले ला लिगामा ६५ खेल खेल्दै ५६ गोल गरिसकेका छन् । लगातार दुई वर्ष पिचिची ट्रफी जित्ने उपलब्धि हासिल गर्ने उनी रियल म्याड्रिडका महान खेलाडीहरूको सूचीमा समावेश भएका छन् ।

यसअघि अल्फ्रेडो डी स्टेफानो, फेरेन्स पुस्कास, अमान्सियो, हुगो साञ्चेज र क्रिस्टियानो रोनाल्डोले मात्रै रियल म्याड्रिडबाट लगातार दुई पटक पिचिची ट्रफी जितेका थिए । 

Read More

ह्वाइट हाउस नजिक चल्यो गोली, आक्रमणकारीको मृत्यु

काठमाडौँ । अमेरिकाको ह्वाइट हाउस नजिक भएको गोलीकाण्डपछि अमेरिकी राजधानी क्षेत्रमा ठूलो सुरक्षा सतर्कता अपनाइएको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ ।

रिपोर्टअनुसार एक संदिग्ध व्यक्तिले ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा पुगेर करिब ३० राउन्ड गोली चलाएको थियो । त्यहाँ अमेरिकी सिक्रेट सर्भिसका सुरक्षाकर्मी तैनाथ थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी घाइते भएका थिए । उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

घटनामा एक सर्वसाधारण नागरिक पनि गोली लागेर गम्भीर घाइते भएका छन् । उनलाई आक्रमणकारीको गोली लागेको वा जवाफी फायरिङका क्रममा घाइते भएको भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

गोलीकाण्डपछि ह्वाइट हाउस परिसरमा तनावको माहोल बनेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । त्यहाँ रहेका पत्रकार र कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । सशस्त्र सिक्रेट सर्भिस एजेन्टहरूले सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिएका थिए भने करिब ४० मिनेटसम्म लकडाउनजस्तै अवस्था बनेको थियो ।

एफबीआई, सिक्रेट सर्भिस तथा अन्य सुरक्षा निकायले घटनास्थल घेरा हालेर अनुसन्धान सुरु गरेका थिए भने ह्वाइट हाउसको नर्थ लन खाली गराइएको थियो । एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् ।

सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्समार्फत १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभेन्यु क्षेत्रमा गोली चलेको सूचना प्राप्त भएको जनाएको छ । उक्त क्षेत्र ह्वाइट हाउसबाट करिब एक ब्लक टाढा पर्छ ।

यस घटनाभन्दा केही दिनअघि मात्रै ट्रम्पकी छोरी इभान्कालाई हत्या धम्की दिइएको थियो । त्यस प्रकरणमा इराकी मूलका एक युवक पक्राउ परेका थिए । उनी इरानी सेनासँग सम्बन्धित रहेको दाबी गरिएको थियो । पक्राउ परेका व्यक्तिसँग इभान्का र उनका पति जारेड कुशनरको फ्लोरिडास्थित घरमा रहेका थिए ।

यसअघि पनि वासिङ्टन डिसीमा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता रात्रिभोजका क्रममा गोली चलेको थियो । कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया तथा उपराष्ट्रपति जेडी भान्ससहित उच्च अधिकारी सहभागी थिए ।

Read More

गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप

काठमाडौँ । प्रविधि क्षेत्रका ठूला कम्पनी गुगल, मेटा र टिकटकमाथि युरोपेली सङ्घका उपभोक्ता समूहहरूले गम्भीर आरोप लगाएका छन् । ती कम्पनीहरूले आफ्ना प्रयोगकर्तालाई आर्थिक ठगीबाट जोगाउन असफल भएको भन्दै औपचारिक उजुरी दर्ता गरिएको हो । आरोप पुष्टि भए ती कम्पनीहरूले ठूलो जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

यो विवादको केन्द्रमा युरोपेली सङ्घको ‘डिजिटल सेवा ऐन’ रहेको छ । युरोपेली उपभोक्ता समूह ‘बिईयूसी’ले युरोपेली आयोगसमक्ष दिएको उजुरीमा गुगल, मेटा र टिकटकलगायतका मञ्चहरूले आफ्ना प्रयोगकर्तालाई नक्कली तथा ठगीपूर्ण विज्ञापनबाट सुरक्षित राख्न नसकेको उल्लेख गरिएको छ ।

डिजिटल सेवा ऐनअनुसार ठूला प्रविधि कम्पनीहरूले आफ्ना मञ्चमा रहेका गैरकानुनी वा हानिकारक सामग्री पहिचान गरी तत्काल हटाउनुपर्ने कानुनी दायित्व हुन्छ । तर उपभोक्ता समूहले ती कम्पनीहरूले यसमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।

‘बिईयूसी’का महानिर्देशक अगस्टिन रेयनाका अनुसार समस्या केवल नक्कली विज्ञापनमा सीमित छैन । कम्पनीहरूले उजुरी आएपछि पनि प्रभावकारी कदम नचालेको उनको भनाइ छ । उनले चेतावनी दिँदै यदि तत्काल कडा कदम नचालिए ठगी गर्ने समूहहरूले हरेक दिन लाखौँ युरोपेली उपभोक्तासम्म पहुँच बढाइरहने बताएका छन् ।

उपभोक्ता समूहहरूले सार्वजनिक गरेको तथ्याङ्कले पनि चिन्ता बढाएको छ । गत वर्ष डिसेम्बरदेखि यस वर्ष मार्चसम्म करिब ९ सय शंकास्पद तथा कानुनविपरीत विज्ञापन फेला परेको दाबी गरिएको छ । तर तीमध्ये केवल २७ प्रतिशत विज्ञापन मात्र हटाइएको बताइएको छ ।

त्यस्तै कुल उजुरीमध्ये ५२ प्रतिशतलाई सीधै अस्वीकार गरिएको वा बेवास्ता गरिएको उपभोक्ता समूहको दाबी छ । यसले सामाजिक सञ्जाल मञ्चहरूको सुरक्षा प्रणाली र उजुरी व्यवस्थापन कमजोर रहेको देखाएको उनीहरूको भनाइ छ ।

आरोपपछि गुगल, मेटा र टिकटकलगायत कम्पनीहरूले भने आफ्नो बचाउ गरेका छन् । उनीहरूले प्रयोगकर्ताको सुरक्षाका लागि निरन्तर काम भइरहेको दाबी गरेका छन् ।

गुगलका प्रवक्ताले कम्पनीको विज्ञापन नीति निकै कडा रहेको र ९९ प्रतिशतभन्दा बढी नक्कली विज्ञापन प्रयोगकर्तासम्म पुग्नुअघि नै रोक्ने गरिएको बताएका छन् । साथै ठगी गर्ने समूहभन्दा एक कदम अगाडि रहन सुरक्षा प्रणाली नियमित अद्यावधिक गरिरहेको जनाइएको छ ।

मेटाले पनि गत वर्ष मात्रै १५ करोड ९० लाखभन्दा बढी ठगीसम्बन्धी विज्ञापन हटाइएको जनाएको छ । तीमध्ये ९२ प्रतिशत विज्ञापन कसैले उजुरी गर्नुअघि नै कृत्रिम बुद्धिमत्ता तथा अन्य उपकरणमार्फत पहिचान गरिएको कम्पनीको दाबी छ ।

टिकटकले पनि नियम उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही भइरहेको जनाएको छ । तर अनलाइन ठगी अहिले सम्पूर्ण प्रविधि उद्योगकै साझा चुनौती बनेको उसले स्वीकार गरेको छ ।

अब यस विषयमा नियामक निकायहरूको निर्णयलाई चासोका साथ हेरिएको छ । यदि अनुसन्धानमा डिजिटल सेवा ऐन उल्लङ्घन भएको पुष्टि भए ती कम्पनीहरूले वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

यो घटनाले सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रभावप्रति विश्वभर चिन्ता बढिरहेको संकेत गरेको छ । विशेषगरी बालबालिका तथा संवेदनशील प्रयोगकर्तालाई अनलाइन ठगी र आर्थिक अपराधबाट जोगाउन ठूला प्रविधि कम्पनीमाथि नैतिक र कानुनी दबाब बढ्दै गएको छ ।

Read More

लखनउलाई हराउदै पञ्जावको आइपिएल प्लेअफको सम्भावना कायमै

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पञ्जावले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले १०१ रनको शतकीय पारी खेलेका थिए भने प्रभसिमरन सिंहले ६९ रन बनाएका थिए । त्यस्तै लखनउका बलर मोहमद शामीले २ र अर्जुन तेन्दुलकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

 लखनउका लागि जोश इङलिशले सर्बाधिक ७२ रन बनाए भने आयुष बदानीले ४३, अब्दुल समादले ३७ र कप्तान ऋषव पन्तले २६ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेन्द्र चहल र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जावको प्लेअफको सम्भावना कायम रहेको छ । पञ्जाको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा रहेको छ । अब पञ्जावको प्लेअफको तय आज हुने खेलको नतिजाबाट हुने छ ।

त्यस्तै यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको लखनउले भने यस सिजनका १४ खेलमा १० खेलमा हार बेहोरेको छ ।

Read More

एमालेको सचिवालय बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजपनि बस्दैछ । 

जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार र शनिबार पनि बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज आइतबार पनि बस्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

शुक्रबार र शनिबारको बैठकमा उपाध्याक्ष, महासचिव, उपमहासचिव र चार सचिवहरुले आफ्नो धारणा राखेका छन् भने आजको बैठकमा बाँकी पाँच सचिवले आफ्नो धारणा राखेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डा र समसामयिक विषयमा छलफल हुने भट्टले जानकारी दिएका छन् ।

सचिवालयको आजको बैठक बिहान ११: ३० बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्नेछ ।

Read More

काभा भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुदैछन् ।

आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का इरान र श्रीलंकाबीच खेल हुदै छ । त्यस्तै दोस्रो खेल पुल बी का बंगलादेश र काजकिस्तानबीच दिउसो साढे २ बजेदेखि खेल हुदैछ ।

त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र माल्दिभ्सबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । माल्दिभ्सले किर्गिस्तान र भारत दुवैसँग सोझो सेटमा पराजय बेहोरेको थियो । नेपाल सेमिफाइनलमा पुग्न आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने भएको छ ।

जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा भईरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।   कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित  मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू–भागमा तातो दिन तथा तराई  भू–भागमा तातो लहर  हुने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका  थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भु_भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। 

Read More

२०८३ जेठ १० गते आईतबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ १० गते आईतबार ईस २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ३५ मिनेटदेखि १० बजेर १८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा सकारात्मक प्रगति हुने संकेत देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू फेरि अघि बढ्न सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ, तर सानो विषयमा विवाद हुन नदिन संयमित बोली उपयोगी हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्यतर्फ थकान र तनावले असर गर्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक सुधार देखिन सक्छ। आर्थिक रूपमा लाभको संकेत छ, विशेष गरी रोकिएको रकम प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा निकटता बढ्ने सम्भावना छ। खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ, किनकि सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह बढ्नेछ। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा धैर्य र सोचविचार आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले समाधान भेटिनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा हतार नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान महसुस हुन सक्छ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ।

Read More