२०८३ श्रावण १०

नेपाल एशियन गेम्सको क्रिकेटतर्फको महिला क्वालिफायर्सको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको ।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ४२ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले २९ रन, कबिता कुवरले १४ र सिता राना मगरले १३ रन बनाएकी थिइन् ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् ।

अब नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्याण्ड र चीन खेल्ने छन् । 

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।  

Read More

माथिल्लो त्रिशूली–१ जलविद्युतको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न

काठमाडौँ ।  माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजनामध्ये एक मानिन्छ ।

कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको आयोजनाको बाँध क्षेत्रमा तीनवटा वियर गेटमध्ये एकको जडान र परीक्षण गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ तथा विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायत सहभागी थिए ।

वियर गेट जलविद्युत आयोजनाको महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहाव नियन्त्रण गर्दै आवश्यक मात्रामा सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह स्थिर राख्ने र बढी पानीलाई सुरक्षित रूपमा नदीमा फर्काउने काम गर्छ। प्राविधिक मापदण्डअनुसार जडान तथा परीक्षण सफल भएपछि आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजना समयमै सम्पन्न गर्न आफ्नो तर्फबाट सहयोग रहने बताए । उनले आयोजना प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा जीविकोपार्जन सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव पनि दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट जडान सम्पन्न हुनु प्राविधिक दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउँदै आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय गर्ने जानकारी दिए ।

कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई तोकिएको लागत र समयमै सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनले नेपाल जलविद्युत क्षेत्रमा लगानीका लागि अत्यन्तै सम्भावनायुक्त देश भएको उल्लेख गर्दै भविष्यमा थप लगानी विस्तार गर्ने संकेत पनि दिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले यो आयोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य अझै मजबुत हुने बताए। उनले आयोजनाले नेपालको ऊर्जा उत्पादन, आपूर्ति सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट जडान सम्पन्न हुनु ठूलो प्राविधिक उपलब्धि भएको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध रहेको जानकारी दिए ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा संरचना निर्माण भइरहेको छ भने उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माण भइरहेको छ। उत्पादन हुने विद्युत आन्तरिक खपतका लागि प्रयोग गरिनेछ।

आयोजनाको मुख्य निर्माण कार्य सन् २०७८ पुसबाट सुरु भएको हो। हालसम्म ९.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ। २९२ मिटर लामो ठाडो सुरुङ निर्माण कार्य पनि पूरा भइसकेको छ। विद्युतगृहको सिभिल संरचना सम्पन्न भइसकेको छ भने टर्वाइन र जेनेरेटर जडान लगायत इलेक्ट्रो–मेकानिकल काम जारी छ।

आयोजनाको समग्र भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ। उपकरण जडान कार्य सन् २०२६ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ भने सम्पूर्ण आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने योजना छ। सन् २०२४ र २०२५ मा आएको त्रिशूली नदीको बाढीका कारण केही ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

आयोजनाबाट वार्षिक करिब १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये करिब ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

काठमाडौँ नजिकको लोड सेन्टरमा रहेको र हिउँदमा समेत करिब १०४ मेगावाट स्थिर ऊर्जा उत्पादन गर्न सक्ने भएकाले यो आयोजना राष्ट्रिय ऊर्जा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

आयोजनाले स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुधार, सांस्कृतिक संरक्षण, जीविकोपार्जन तथा रोजगारी सिर्जनामा सहयोग गर्दै आएको छ। हालसम्म करिब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि खर्च गरिएको छ। साथै स्थानीयका लागि सीपमूलक तालिम तथा रोजगारी कार्यक्रम पनि सञ्चालनमा छन्।

Read More

इङल्याण्डका फरवार्ड गार्डन बार्सिलोनामा

काठमाडौँ । बार्सिलोना र न्यूक्यासल युनाइटेडबीच एन्थोनी गोर्डनको विषयमा ट्रान्सफर सम्झौता भएको छ ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले इङ्ग्ल्यान्डका फरवार्ड गोर्डनलाई भित्र्याउन करिब ७० मिलियन युरो (झन्डै ८१.४ मिलियन डलर) को शुल्कसहित अतिरिक्त बोनससमेत हुने गरी सहमति जनाएको छ। २५ वर्षीय गोर्डनलाई लिन बायर्न म्युनिख र लिभरपुलले पनि चासो देखाएका थिए तर अन्ततः बार्सिलोना नै उनको प्रमुख गन्तव्य बनेको हो । 

न्यूक्यासलले उनलाई छोड्न त्यति सहज रूपमा नचाहे पनि बार्सिलोनाको प्रस्ताव आर्थिक रूपमा आकर्षक देखिएपछि क्लब पुनर्निर्माणका लागि सहमत हुन बाध्य भएको बताइएको छ।

बायर्न म्युनिखले अन्तिम चरणसम्म प्रयास गरेको भए पनि बार्सिलोनाले विश्वकप अघि नै सम्झौता टुंग्याउने चाहना देखाएको थियो । यसअघि बार्सिलोनाले लामो समयदेखि निको विलियम्सलाई भित्र्याउने प्रयास गरेको थियो तर उनी एथ्लेटिक क्लबमै बसेपछि क्लबले पछि मार्कस रासफोर्डलाई म्यानचेस्टर युनाइटेडबाट ऋणमा अनुबन्ध गरेको थियो । बार्सिलोनाको चासो पहिलो पटक मे महिनामा सार्वजनिक भएको थियो, जब गोर्डनका एजेन्ट एडम डगडेलले क्लबका खेलकुद निर्देशक डेकोसँग भेट गरेका थिए । डेको हाल लन्डनमा विभिन्न सम्भावित खेलाडीका प्रतिनिधिसँग छलफल गरिरहेको बताइएको छ ।

यस सिजन च्याम्पियन्स लिगमा गोर्डनको प्रदर्शन निकै प्रभावशाली रह्यो । उनले १२ खेलमा १० गोल गरेका थिए र न्यूक्यासललाई अन्तिम १६ सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, जहाँ उनीहरू बार्सिलोनासँग नै पराजित भएका थिए । 

बार्सिलोनाले यसैबीच नयाँ स्ट्राइकरको खोजी पनि गरिरहेको छ, किनभने रोबर्ट लेवान्डोस्कीले अर्को महिना क्लब छोड्ने घोषणा गरिसकेका छन् । क्लबले गोर्डनको सम्भावित आगमन स्ट्राइकर खोजसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको बताइएको छ। एथ्लेटिको मड्रिडका जुलियन अल्भारेज र चेल्सीका जोआओ पेड्रोलाई पनि विकल्पका रूपमा हेरिएको छ ।

त्यस्तै बार्सिलोनामा मार्कस रासफोर्डको भविष्य पनि अझै अनिश्चित रहेको छ । उनी ऋण अवधि सकिएपछि युनाइटेड फर्कनेछन्, यद्यपि बार्सिलोनासँग उनलाई स्थायी रूपमा राख्ने विकल्प अझै खुला छ । तर त्यसका लागि तलब संरचना र बजेट व्यवस्थापन प्रमुख चुनौती देखिएको छ । पछिल्ला वर्षमा क्लबको आर्थिक स्थिति सुधार हुँदै गए पनि नयाँ खेलाडी दर्ता गर्न अन्य खेलाडी बिक्री आवश्यक पर्न सक्ने संकेत गरिएको छ। मैदानमा भने हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोना पछिल्ला दुई सिजनमा उत्कृष्ट लयमा छ र लगातार ला लिगा उपाधि जितेको छ ।

Read More

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा १६.३५ प्रतिशत वृद्धि, डिजेल र पेट्रोल आयात बढ्यो

काठमाडौँ ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार तथ्याङ्कअनुसार आयात मूल्य र परिमाण दुवैमा परिवर्तन देखिएको छ।

चालु आर्थिक वर्षको १० महिनामा कुल छ थरिका पेट्रोलियम पदार्थको आयात रू १ खर्ब ८१ अर्ब ७० करोड बराबर पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको १० महिनामा भने रू १ खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम आयातबाट चालु आर्थिक वर्षको १० महिनामा रू ६७ अर्ब १९ करोड राजस्व संकलन भएको छ।

पेट्रोलियम आयात विवरण (१० महिनाको तुलनात्मक तथ्याङ्क)

इन्धन विवरणचालु आव मूल्य/परिमाणगत आव मूल्य/परिमाण
डिजेलरू १ खर्ब ५७ करोड मूल्य, ८ लाख ९५ हजार २४६ किलोलिटररू ७९ करोड ५७ करोड मूल्य, ९ लाख ८५७ किलोलिटर
पेट्रोलरू ३५ अर्ब ७९ करोड मूल्य, ३ लाख ९० हजार ६१५ किलोलिटररू ३१ अर्ब ७१ करोड मूल्य, ३ लाख ६७ हजार ३४४ किलोलिटर
एलपीजी ग्यासरू २५ अर्ब ५४ करोड मूल्य, २४ करोड २७ लाख ३ हजार १५० किलोग्रामरू ३० अर्ब २८ करोड मूल्य, २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम

तथ्याङ्कअनुसार डिजेल र पेट्रोलको आयातमा वृद्धि देखिए पनि एलपीजी ग्यासको आयातमा कमी आएको छ।

पेट्रोलियम आयातमा देखिएको समग्र वृद्धि आन्तरिक माग, उपभोग संरचना तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित रहेको सरोकारवाला निकायहरूले बताएका छन्।

Read More

सरकारी प्रभावकारी व्यवस्थापनले सिँचाइ क्षेत्र विस्तार, सिञ्चित भूमि १५ लाख हेक्टर नाघ्यो

काठमाडौँ, १४ जेठ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र सिँचाइयोग्य क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणले सिँचाइ पूर्वाधार तथा सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको देखाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भई कुल १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा पुगेको छ।

यसमा वर्षभर सिँचाइ सुविधा उपलब्ध हुने क्षेत्र ५ लाख ३२ हजार ६५५ हेक्टर रहेको छ। वर्षभर सिँचाइ सुनिश्चित गर्न सरकारले विभिन्न ठूला तथा रणनीतिक आयोजना कार्यान्वयन गरिरहेको छ।

सिँचाइ, तटबन्ध तथा जलस्रोत व्यवस्थापनको प्रमुख प्रगति

विवरणतथ्याङ्क
कुल सिञ्चित क्षेत्र (संघीय आयोजना)१५ लाख ९० हजार ३८८ हेक्टर
वर्षभर सिँचाइ सुविधा प्राप्त क्षेत्र५ लाख ३२ हजार ६५५ हेक्टर
भूमिगत सिँचाइबाट विस्तार भएको क्षेत्र५ लाख ४६ हजार ४४८ हेक्टर
लिफ्ट तथा जलाशय सिँचाइबाट विस्तार६ हजार ८८ हेक्टर
भूमिगत सिँचाइ (समग्र विस्तार)१० लाख ३७ हजार ८४८ हेक्टर
सतह सिँचाइ मर्मतसम्भार२ हजार ५५७ हेक्टर
नयाँ सतह सिँचाइ विस्तार१७४ हेक्टर
तटबन्ध निर्माण (ठूला तथा मझौला नदी)१,५१८ किमी
तटबन्ध निर्माणबाट जग्गा उकास१३ हजार ८९१ हेक्टर
नदी नियन्त्रण कार्यक्रमका लागि बजेट विनियोजनरु ५ अर्ब ५९ करोड
निर्माण भएको तटबन्ध (विभिन्न नदीहरू)१,४९४ दशमलव ७१ किलोमिटर
जोखिमयुक्त बजार संरक्षण कार्य१५ वटा बजार
पहिरो व्यवस्थापन कार्य जारी स्थान५३ स्थान
तयार भएका बेसिन गुरुयोजना१२ वटा
लिफ्ट सिँचाइ विस्तार३ हजार १६४ वटा प्रणाली

मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभागअन्तर्गत १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र स्थापना तथा सञ्चालनमा रहेका छन्।

नदी कटान, डुबान तथा पहिरो जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशी लगायत प्रमुख नदी प्रणालीमा नदी नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ।

सरकारले जोखिम न्यूनीकरण, सिँचाइ विस्तार र जलस्रोत व्यवस्थापनमार्फत कृषि उत्पादन वृद्धि र जलवायु अनुकूलन क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ।

Read More

दक्षिण एसियामा वनक्षेत्रमा नेपाल दोस्रो स्थानमा, भुटान शीर्षमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये वन क्षेत्रको अनुपातमा भुटान पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार क्षेत्रीय वन आवरणमा उल्लेखनीय अन्तर देखिएको छ।

विश्वको कुल भूभागमध्ये करिब ३२ प्रतिशत भूभाग वनले ढाकेको छ। दक्षिण एसियाली मुलुकहरूबीच तुलना गर्दा भुटानमा सबैभन्दा बढी वन क्षेत्र ६९ दशमलव ७१ प्रतिशत रहेको छ भने नेपाल ४६ दशमलव शून्य आठ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ।

दक्षिण एसियाली देशहरूमा वन क्षेत्रको स्थिति

देशवन क्षेत्र (प्रतिशत)
भुटान69.71%
नेपाल46.08%
श्रीलङ्का34.1%
चीन22.96%
भारत21.71%
बङ्गलादेश12.8%
पाकिस्तान4.8%
माल्दिभ्स2.7%
अफगानिस्तान1.9%


आर्थिक सर्वेक्षणअनुसार सन् २०२४ मा नेपालको वन क्षेत्र कुल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत रहेको थियो। यसमध्ये ४३ दशमलव ३८ प्रतिशत वन क्षेत्र र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको उल्लेख गरिएको छ।

नेपालमा वन क्षेत्रको ऐतिहासिक वृद्धि

नेपालमा वन क्षेत्रको विस्तार पछिल्ला दशकहरूमा क्रमिक रूपमा वृद्धि भएको देखिन्छ। सन् १९९० को दशकमा ३९ दशमलव छ प्रतिशत रहेको वन क्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत पुगेको थियो भने सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो।

संरक्षित क्षेत्र तथा वन व्यवस्थापन

देशको कुल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किलोमिटर संरक्षित क्षेत्रका रूपमा कायम गरिएको छ, जुन कुल भू–भागको २३ दशमलव चार प्रतिशत हो।

विवरणपरिमाण
संरक्षित क्षेत्र34,420 वर्ग किमी
कुल भू–भागको हिस्सा23.4%

साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ।

समुदाय तथा साझेदारीमा आधारित वन व्यवस्थापन

आर्थिक सर्वेक्षणअनुसार वन व्यवस्थापनमा सामुदायिक तथा साझेदारी मोडेलको उल्लेखनीय योगदान देखिएको छ।

  • मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन्, जसले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ।
  • ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ।
  • २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।
  • ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भइरहेको छ।

आर्थिक सर्वेक्षणले नेपालमा सामुदायिक सहभागितामा आधारित वन व्यवस्थापन प्रणालीले वन संरक्षण र दिगो उपयोगमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ।

Read More

तेज तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार गुणस्तर नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको विश्लेषण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभेटिएपछि सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।

विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) बमोजिम बिक्री–वितरण नगर्न वा नगराउन आदेश जारी गरिएको जनाएको छ । विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादन आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेल हो । उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ भने उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना तोकिएको छ । यो तेल सिद्धार्थ आयल इन्डस्ट्रीजद्वारा रुपन्देहीको गुरबानियामा उत्पादन गरिएको विभागले जनाएको छ ।

Read More

एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

काठमाडौँ । एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गत इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो । इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन् ।

Read More

रणवीर सिंहले छोडेका चर्चित फिल्म: एनिमलदेखि कबिर सिंहसम्म

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह यतिबेला विभिन्न कारणले चर्चामा छन् । डन- ३ लाई लिएर फरहान अख्तर र रणवीर सिंहबीच विवाद भएको खबर सार्वजनिक भएपछि उनी थप चर्चामा आएका हुन् । चलचित्रबाट बाहिरिएपछि वेस्टर्न इन्डिया सिने इम्प्लोइजले उनीमाथि प्रतिबन्ध लगाएको बताइएको छ । यसबीच रणवीरले यसअघि अस्वीकार गरेका केही चर्चित चलचित्रबारे पनि चर्चा भइरहेको छ ।

सञ्जय लीला भन्सालीको चलचित्र ‘लभ एन्ड वार’ का लागि पनि रणवीर सिंहसँग छलफल भएको बताइएको छ । तर चलचित्रमा मुख्य भूमिका नरहेको कारण उनले प्रस्ताव अस्वीकार गरेका थिए । पछि उक्त भूमिका विक्की कौशललाई दिइएको थियो । अब उनी रणबीर कपुर र आलिया भट्टसँग चलचित्रमा देखिनेछन् ।

बलिवुडको सफल चलचित्र एनिमल पनि सुरुमा रणवीर सिंहलाई प्रस्ताव गरिएको बताइन्छ । तर कथाको गाढा र हिंसात्मक शैली मन नपरेपछि उनले चलचित्र गर्न अस्वीकार गरेका थिए । पछि उक्त भूमिकामा रणबीर कपुर देखिएका थिए ।

त्यस्तै फिल्म ‘शाम बहादुर’ का लागि पनि रणवीर सिंहको नाम चर्चामा आएको थियो । तर पछि यो भूमिका विक्की कौशलले निभाए । त्यसैगरी फिल्म ८३ मा कपिल देवको भूमिका निभाइसकेपछि तुरुन्तै अर्को जीवनीमा आधारित चलचित्र गर्न नचाहेकाले उनले चलचित्र छोडेको बताइन्छ ।

निर्देशक सन्दीप रेड्डी वाङ्गाले ‘कबिर सिंह’ का लागि पनि रणवीर सिंहलाई प्रस्ताव गरेका थिए । तर चलचित्रको हिंसात्मक र गम्भीर कथावस्तु धेरै अन्धकारपूर्ण लागेको भन्दै उनले प्रस्ताव अस्वीकार गरेका थिए । त्यस्तै ‘बम्बे भेलभेट’ चलचित्रमा जोनी बलराजको भूमिकाका लागि पनि रणवीर सिंहको नाम अगाडि आएको थियो । तर अन्ततः उक्त भूमिका रणबीर कपुरले निभाएका थिए ।

Read More

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानले अर्थ, वातावरण, युवा, श्रमिक, बालअधिकार, सार्वजनिक सेवा तथा गैरसरकारी संस्थासम्बन्धी विषय समेटेर उपसमिति बनाएको हो ।

अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्राध्यापक डा. गोविन्दराज पोख्रेल चयन भएका छन् । उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा काम गर्ने जनाइएको छ ।

जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन् । यस उपसमितिले हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ ।

त्यस्तै नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन् । यस उपसमितिले युवापुस्तादेखि नागरिक समाजका प्रबुद्ध वर्गसम्म संवाद र समन्वयमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । त्यस्तै बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन् । उक्त उपसमितिले बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्मका विषयमा काम गर्ने जनाइएको छ ।

त्यसैगरी सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल चयन भएका छन् । त्यस्तै गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएकी छन् ।

प्रतिष्ठानका अनुसार सबै उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने बताइएको छ ।

Read More