काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
गएराती समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै बंगलादेश २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
अब पहिलो सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा भारत र भुटान खेल्ने भएका छन् । सेमिफाइनलका खेल बुधबार हुने छन् । त्यस्तै फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।
काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको वक्तव्यमा पूर्वनिर्धारित कार्यसूचीबिना जेठ १७ गते प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको सीमा विवादसम्बन्धी राष्ट्रिय अडान कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।
श्रम संस्कृतिले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालका तर्फबाट उठाइँदै आएको लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र फिर्ता हुनुपर्ने मागलाई ओझेलमा पार्ने तथा नेपालले आफ्ना केही भूभाग भारतलाई छोड्नुपर्ने जस्तो राष्ट्रघाती मनसाय प्रकट गरेको दाबी गरिएको छ ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको उक्त भनाइले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सीमा अवस्था र राष्ट्रिय अडानबारे गम्भीर अन्योल सिर्जना गरेको समेत जनाएको छ । पार्टीले सरकारले नेपाली सेनालाई सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन नगरेको आरोप लगाउँदै देशको भौगोलिक अखण्डता र सीमा सुरक्षाप्रति सरकार प्रतिबद्ध नरहेको टिप्पणी गरेको छ । त्यस्तै श्रम संस्कृतिले सीमामा निगरानी बढाउनुको सट्टा नेपालले नै भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति आउनु चिन्ताजनक भएको उल्लेख गरिएको छ ।
त्यसैगरी श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउँदै आफ्नो विरोध रहेको स्पष्ट पारेको छ । साथै देशको सार्वभौमिकता, सीमा सुरक्षा र भौगोलिक अखण्डताको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने माग पनि गरेको छ ।
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै जाँदा वीरगञ्ज नाका हुँदै हुने ईभी आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्र रु चार अर्ब दुई करोडभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४३.६० प्रतिशतले बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नौ हजार ४२ वटा ईभी आयात भएका थिए। यसले विद्युतीय सवारी बजारमा तीव्र विस्तार भइरहेको संकेत गर्छ।
विद्युतीय सवारीसाधन आयातको तुलनात्मक अवस्था (१० महिना)
सूचक
गत आव
चालु आव
परिवर्तन
कुल आयात मूल्य
रु १.६५ अर्ब
रु ४.०२ अर्ब
+१४३.६०%
कुल आयात संख्या
९,०४२
१५,२७१
+६८.९%
राजस्व सङ्कलन
रु ८१.४७ करोड
उल्लेखनीय वृद्धि
—
५१–१०० किलोवाट ईभी कार/जीप/भ्यान संख्या
६
६५७
+१०,८५०%
५१–१०० किलोवाट ईभी कार/जीप/भ्यान मूल्य
रु २.०६ करोड
रु १.८७ अर्ब
अत्यधिक वृद्धि
सवारीबाट राजस्व
रु १.१९ अर्ब
—
विद्युतीय मोटरसाइकल/स्कुटर संख्या
४,८३४
८,८६७
+८३.४%
विद्युतीय मोटरसाइकल/स्कुटर मूल्य
रु ६०.९६ करोड
रु १.१७ अर्ब
+९२%
विद्युतीय मोटरसाइकल/स्कुटरबाट राजस्व
रु २०.१५ करोड
रु ३८.५५ करोड
+९१.३%
तथ्याङ्कले मध्यम क्षमताका विद्युतीय कार, जीप र भ्यानको माग उल्लेखनीय रूपमा बढेको देखाएको छ। ५१ देखि १०० किलोवाट क्षमताका सवारीको आयात संख्या एक वर्षमै छ वटाबाट ६५७ वटामा पुगेको छ। यस्ता सवारीको आयात मूल्य रु दुई करोडको हाराहारीबाट बढेर रु एक अर्ब ८७ करोड पुगेको छ।
दुईपाङ्ग्रे विद्युतीय सवारीको बजार विस्तार
विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात पनि निरन्तर उकालो लागेको छ। चालु आवको १० महिनामा आठ हजार ८६७ वटा यस्ता सवारी नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा संख्या र मूल्य दुवैमा करिब दोब्बर वृद्धि देखिएको छ।
समग्र सवारीसाधन तथा पार्टपुर्जा आयातमा पनि उच्च वृद्धि
विद्युतीय सवारीसाधनको वृद्धिसँगै समग्र सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात कारोबार पनि विस्तार भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु ३१ अर्ब ३१ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ९ अर्ब ६५ करोड बढी हो, जसले ४४.५८ प्रतिशत वृद्धिदर देखाउँछ। यद्यपि विद्युतीय सवारीको आयात बढिरहेका बेला परम्परागत इन्धनबाट चल्ने निजी सवारीको आयातमा भने केही कमी आएको देखिन्छ।
समग्र सवारीसाधन तथा पार्टपुर्जा आयातको तुलनात्मक अवस्था (१० महिना)
सूचक
गत आव
चालु आव
परिवर्तन
कुल सवारीसाधन तथा पार्टपुर्जा आयात मूल्य
रु २१.६६ अर्ब
रु ३१.३१ अर्ब
+४४.५८%
पेट्रोल/डिजेल जीप, कार र भ्यान संख्या
८५५
६२८
-२६.५%
पेट्रोल/डिजेल जीप, कार र भ्यान मूल्य
रु १.८१ अर्ब
रु १.२५ अर्ब
-३०.९%
पेट्रोल/डिजेल जीप, कार र भ्यानबाट राजस्व
रु ३.१७ अर्ब
—
अन-एसेम्बल्ड मोटरसाइकल संख्या
५१,४२३
—
अन-एसेम्बल्ड मोटरसाइकल मूल्य
रु ५.२१ अर्ब
रु ७.३२ अर्ब
+४०.५%
अन-एसेम्बल्ड मोटरसाइकलबाट राजस्व
रु ७.०९ अर्ब
—
बजारको बदलिँदो प्रवृत्ति
वीरगञ्ज भन्सारको तथ्याङ्कले नेपाली सवारी बजार क्रमशः विद्युतीकरणतर्फ उन्मुख भइरहेको देखाउँछ। एकातिर विद्युतीय कार, स्कुटर र मोटरसाइकलको आयात तीव्र गतिमा बढिरहेको छ भने अर्कोतर्फ पेट्रोल तथा डिजेलबाट चल्ने केही श्रेणीका सवारीको आयात घट्दो अवस्थामा छ।
सञ्चालन खर्चमा बचत, सरकारी नीतिगत सहुलियत तथा बढ्दो चार्जिङ पूर्वाधारका कारण विद्युतीय सवारीप्रति उपभोक्ताको रुचि बढेको अनुमान गर्न सकिन्छ। साथै, मोटरसाइकल तथा तिनका पार्टपुर्जाको उच्च आयातले दुईपाङ्ग्रे सवारीको बजार अझै सशक्त रहेको संकेत दिएको छ।
समग्र तथ्याङ्कले वीरगञ्ज नाकाले नेपालको सवारीसाधन आयात व्यापारमा अझै प्रमुख भूमिका निर्वाह गरिरहेको र विद्युतीय सवारी क्षेत्र आगामी वर्षहरूमा अझ तीव्र गतिले विस्तार हुने सम्भावना रहेको देखाएको छ।
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले पदबाट राजीनामा दिएको दाबी गरिएको छ । इरान इन्टरनेसनलको एक प्रतिवेदनअनुसार उनले देशका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई आफ्नो राजीनामापत्र पठाएका छन् ।
प्रतिवेदनमा पेजेशकियानले आफ्नो पत्रमा देशको सत्ता अहिले पूर्ण रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डरहरूको नियन्त्रणमा पुगेको उल्लेख गरेको दाबी गरिएको छ ।
उनले फेब्रुअरीमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता आफ्नो सरकारलाई महत्वपूर्ण निर्णय प्रक्रियाबाट लगभग बाहिर राखिएको पनि बताएका छन् । पेजेशकियानका अनुसार सरकारलाई ठूला निर्णयहरूमा सहभागी नगराइएकाले वास्तविक नियन्त्रण सैन्य नेतृत्वको हातमा पुगेको छ ।
यद्यपि सर्वोच्च नेता मोज्तबा खामेनेईले उनको राजीनामा स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
यससँगै राष्ट्रपति पेजेशकियानको राजीनामाबारे विरोधाभासी दाबीहरू सार्वजनिक भएका छन् भने यसको आधिकारिक पुष्टि भने अझै हुन सकेको छैन ।
काठमाडौँ । म्यानमारको उत्तरपूर्वी क्षेत्रमा विस्फोटक पदार्थ भण्डारण गरिएको एक घरमा शक्तिशाली विस्फोट हुँदा करिब ५० जनाको मृत्यु भएको छ भने झण्डै ७० जना घाइते भएका छन् ।
उद्धारकर्मी र स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट नामखाम नगरपालिकाअन्तर्गत काउङतुप गाउँमा भएको हो । उक्त क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा पर्दछ र त्यहाँ तआङ राष्ट्रिय मुक्ति सेनाको नियन्त्रण रहेको छ। यो म्यानमारको सैन्य सरकारसँग बेला–बेलामा सशस्त्र झडपमा संलग्न रहने जातीय विद्रोही समूह हो ।
एक उद्धारकर्मीका अनुसार विस्फोटका कारण आसपासका एक सयभन्दा बढी घरमा क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यमले मृतकको संख्या ५० देखि ५५ जनाबीच रहेको जनाएका छन् । सार्वजनिक गरिएका तस्बिर र दृश्यहरूमा विस्फोटपछि आकाशतर्फ उठेको धुवाँ, भत्किएका भवन र चारैतिर फैलिएको भग्नावशेष देखिएको छ ।
चीनको सरकारी प्रसारण संस्थाले पनि घटनामा धेरै मानिसको मृत्यु तथा घाइते भएको पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार विस्फोट भएको स्थानमा खानी उत्खननका काममा प्रयोग हुने ठूलो परिमाणमा विस्फोटक पदार्थ भण्डारण गरिएको थियो ।
सन् २०२१ फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता कब्जा गरेयता म्यानमार निरन्तर द्वन्द्व र अस्थिरताको सामना गर्दै आएको छ । सैनिक शासनविरुद्ध देशभर सुरु भएका विरोध प्रदर्शनपछि विभिन्न समूहले हतियार उठाएका थिए । त्यसयता देशका धेरै क्षेत्र सशस्त्र संघर्षको चपेटामा परेका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो ।
नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो । यो नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने अवधि दिइएको छ । यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ । अन्तिम योग्यता क्रमको सूची पछि मात्र शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया सुरु हुन्छ ।
ढकालका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क पाएका छन् । तेस्रोमा ५ जना विद्यार्थीको ९० अङ्क छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा १ हजार रुपियाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिनेछ । यस्तै, फाराममा नाम, लिङ्ग लगायतका विवरण फरक परेको वा योग्यता नपुग्ने आरक्षण क्षेत्रमा आवेदन दिई फाराम स्वीकृत भएकोले उक्त क्षेत्र हटाउनु परेमा (क्षेत्र थप गर्न भने नमिल्ने) प्रमाण पुग्ने कागजात संलग्न गरी जेठ २० गतेभित्र निवेदन दिन सकिने उल्लेख छ ।
छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि ०८३ वैशाख ३ गते सूचना प्रकाशन गरिएको थियो ।
छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । दुवै दलले संयुक्त घोषणा गर्दै राष्ट्रिय सद्भावना पार्टी सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकायसहित नेपाली कांग्रेसमा विलय भएको जानकारी दिएका हुन् ।
संयुक्त घोषणाअनुसार परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, मूल्य, मान्यता र विधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा समाहित भएको हो ।
राष्ट्रिय सद्भावना पार्टीले मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, महिला, अल्पसंख्यक तथा अन्य शोषित, पीडित र उपेक्षित समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै वर्तमान अवस्थामा लोकतान्त्रिक, संघीय र समावेशी गणतन्त्रमाथि व्यापक आक्रमण भइरहेको निष्कर्ष निकालेको जनाएको छ ।
अलग–अलग रूपमा गणतन्त्र र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चुनौतीपूर्ण हुने तथा नेपाली कांग्रेसले उक्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले व्यापक राष्ट्रिय हितका लागि कांग्रेसमा समाहित हुने निर्णय गरिएको जनाइएको छ ।
घोषणाअनुसार जेठ १७ गतेदेखि लागू हुने गरी राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा औपचारिक रूपमा समाहित भएको छ ।
समाहिती प्रक्रियासम्बन्धी बाँकी आवश्यक व्यवस्थालाई अन्तिम रूप दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र राष्ट्रिय सद्भावना पार्टीका नेता अनिलकुमार झा सम्मिलित कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले सांगठनिक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने बताइएको छ ।
राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा निर्वाचनमा रौतहट- १ बाट काँग्रेसबाटै चुनाव लडेर पराजित भएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आइतबार संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको सवालजवाफ कार्यक्रममा सहभागी हुने क्रममा अचानक अस्वस्थ भएपछि उनलाई धुम्बाराहीस्थित हेम्स अस्पताल पुर्याइएको थियो ।
अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराएपछि अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाहबमोजिम उनी आइतबारै घर फर्किएका हुन्।
उनको सचिवालयले भनेको छ- ‘नेपाली कांग्रेसका आदरणीय नेता माननीय अर्जुननरसिंह केसी आजको संसदमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रममा सहभागी भइरहँदा केही अप्ठ्यारो महसुस भई अस्वस्थ भई हेम्स अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ हुनुहुन्थ्यो। अस्पतालमा सम्पूर्ण जाँच गरी स्वास्थ्य अवस्था सामान्य भएकोले डाक्टरको सल्लाह बमोजिम उहाँलाई घरमै बसी आराम गर्न मिल्ने भएकोले डिस्चार्ज हुनुभएको छ। उहाँको स्वास्थ्य सामान्य रहेको व्यहोरा अवगत गर्दछु।’
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा नेता केसीले उभिएर प्रश्न सोध्न सुरु गरेपछि असहज महसुस गरेका थिए ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १ बजेदेखि शुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३-८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा आव २०८३-०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ । यस सिजनमा धेरै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे पनि सबैभन्दा बढी चर्चा राजस्थान रोयल्सका १५ वर्षीय युवा ओपनर वैभव सूर्यवंशीको रह्यो र यस सिजनबाट उनको विश्व क्रिकेटमा उदय समेत भएको छ ।
कम उमेरमै विस्फोटक प्रदर्शन गरेका वैभवले विश्व क्रिकेटका धेरै पूर्व तथा वर्तमान खेलाडीलाई प्रभावित बनाएका छन् । उनको प्रदर्शनपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिनुपर्ने कि नपर्ने भन्ने बहससमेत सुरु भएको छ । वैभव यस सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्दै प्रतिष्ठित ‘ओरेन्ज क्याप’ जित्न सफल भए । उनले यस सिजनका १५ खेलमा ७७६ रन बनाएर ओरेन्ज क्याप जितेका हुन् ।
राजस्थान रोयल्सको यात्रा दोस्रो क्वालिफायरमा हारसँगै समाप्त भए पनि वैभव ओरेन्ज क्यापको दौडमा अन्तिमसम्म शीर्ष स्थानमा कायम रहे । फाइनलअघि गुजरातका कप्तान शुभमन गिल र साई सुदर्शन पनि प्रतिस्पर्धामा थिए । तर उपाधि भिडन्तमा दुवै ब्याट्सम्यान सस्तो स्कोरमा आउट भएपछि उनीहरू वैभवलाई उछिन्न असफल भए ।
आईपिएलमा प्रत्येक सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ओरेन्ज क्याप प्रदान गरिन्छ । यो केवल पुरस्कार मात्र नभई पूरै सिजनभरको निरन्तरता, प्रभाव र उत्कृष्टताको प्रतीक मानिन्छ । सन् २००८ मा सुरु भएको प्रतियोगिताको १९ सिजनमा हालसम्म १५ फरक खेलाडीले ओरेन्ज क्याप जितेका छन् । यस पटक वैभव सूर्यवंशीको नाम पनि उक्त सूचीमा थपिएको छ ।
ओरेन्ज क्याप सर्वाधिक पटक जित्ने खेलाडीको सूचीमा डेभिड वार्नर शीर्ष स्थानमा छन् । उनले सन् २०१५, २०१७ र २०१९ मा गरी तीन पटक यो सम्मान जितेका थिए । क्रिस गेल र विराट कोहलीले समान दुई–दुई पटक ओरेन्ज क्याप जितेका छन् । विराटले सन् २०१६ मा बनाएको ९७३ रनको कीर्तिमान अझै पनि आईपिएल इतिहासकै उत्कृष्ट ब्याटिङ प्रदर्शनमध्ये एक मानिन्छ ।
चालु सिजनमा तीन ब्याट्सम्यानले ७०० भन्दा बढी रन बनाए । वैभवसँगै शुभमन गिल र साई सुदर्शन पनि ७०० रनको आँकडा पार गर्ने खेलाडी बने । यी तीनै जना ओरेन्ज क्यापका प्रमुख दाबेदार थिए ।
वैभवले १६ खेलमा २३७.३० को स्ट्राइक रेटमा ७७६ रन बनाए । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरे । दोस्रो स्थानमा रहेका गिलले १६ खेलमा १६३. ०२ को स्ट्राइक रेटमा ७३२ रन बनाए । उनले एक शतक र छ अर्धशतक प्रहार गरेका थिए । साई सुदर्शनले १७ खेलमा १५७. ९८ को स्ट्राइक रेटमा ७२२ रन बनाए ।
वैभवका निकटतम प्रतिस्पर्धी गिल थिए र दुवैबीच ५४ रनको अन्तर थियो । तर फाइनलमा गिलले केवल १० रन बनाए भने सुदर्शन १२ रनमै पेभिलियन फर्किए । त्यसपछि वैभव सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा कायम रहने निश्चित भयो ।
हालका केही सिजनमा युवा खेलाडीहरूको प्रभाव बढ्दो देखिएको छ । ऋतुराज गायकवाडले २०२१, शुभमन गिलले २०२३ र साई सुदर्शनले २०२५ मा ओरेन्ज क्याप जितेका थिए । सन् २०२४ मा विराट कोहलीले ७४१ रन बनाएर आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेका थिए । यस वर्ष भने वैभव सूर्यवंशीले ७७६ रनसहित नयाँ इतिहास रचेका छन् ।