२०८३ जेष्ठ २३

महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामाभान्जा नाता रहेका दुवै जना बेपत्ता भएपछि उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेको थियो। त्यसपछि उनीहरू नदीमा बगेको हुनसक्ने आशंकाका आधारमा सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए।

खोजीका क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पुन मगरको शव भने नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रसम्म पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

रेड कर्नर नोटिस जारी भएका अभियुक्त पक्राउ

काठमाडौँ । सिन्धुलीमा ७ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरि फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका- ९ बस्ने ५१ बर्षिय धनबहादुर बोगटीलाई कमलामाई-८ माईस्थानबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका बोगटीलाई प्रहरीले गत पौष ६ गते रेड कर्नर नोटिस समेत जारी गरेको थियो । 

हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

कोशीमा अनुदानको रासायनिक मल बिक्रीका लागि नयाँ निर्देशिका लागू

काठमाडौँ ।  कोशी प्रदेशमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउन ‘रासायनिक मल अनुदान निर्देशिका–२०८२’ लागू गरिने भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रमुख कमल पोखरेलका अनुसार स्थानीय तहका उपाध्यक्ष, कृषि विकास अधिकृत तथा प्रशासकीय अधिकृत सम्मिलित समितिको निर्णयका आधारमा रासायनिक मल वितरण प्रक्रिया अघि बढाइनेछ।

निर्देशिकाअनुसार कोशी प्रदेशका १४ जिल्ला तथा मधेश प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दात रहेका विभिन्न प्रकारका रासायनिक मल किसानलाई अनुदानमा बिक्री गरिनेछ। कम्पनीका अनुसार कुल १५ हजार ९२१ मेट्रिक टन मल तथा कृषि चुन वितरणका लागि तयारी गरिएको छ।

उपलब्ध मौज्दातमध्ये डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन तथा कृषि चुन १५९ मेट्रिक टन रहेको छ।

निर्धारित बिक्री मूल्यअनुसार ५० केजीको एक बोरा डिएपी दुई हजार २०० रुपैयाँ, ५० केजीको युरिया ७५० रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। पोटास र कृषि चुनको मूल्यसम्बन्धी विवरण भने कम्पनीले छुट्टै सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीका अनुसार नयाँ निर्देशिकाले मल वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Read More

कुवेतमा मिसाइल र ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ । पश्चिम एसियामा फेरि तनाव बढेको छ । अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताको प्रयास भइरहेका बेला कुवेतमा मिसाइल र ड्रोन आक्रमणको चेतावनी जारी गरिएको छ ।

कुवेत सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जानकारी दिँदै दुश्मन पक्षका मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। सेनाले विस्फोटजस्तो आवाज सुनिएमा त्यो हवाई प्रतिरक्षा प्रणालीले मिसाइल रोक्ने क्रममा हुने बताएको छ ।

सेनाले सर्वसाधारणलाई सुरक्षा निकायले जारी गरेका निर्देशन कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ ।

यसैबीच इरानले आफ्ना भूमिगत मिसाइल संरचनासँग जोडिएका ५० वटा सुरुङमार्ग पुनः सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्याटेलाइट तस्बिरले इरानका भूमिगत सैन्य संरचनामा पुनः गतिविधि बढेको देखाएको छ ।

ती प्रतिवेदनअनुसार अघिल्लो आक्रमणमा करिब १८ भूमिगत मिसाइल सुविधाका दर्जनौँ सुरुङ प्रवेशद्वारमा क्षति पुगेको थियो। अब ती क्षेत्रहरूमा ठूलो स्तरमा माटो हटाउने, मर्मत गर्ने र पुनः पहुँच बनाउने काम भइरहेको देखिएको छ ।

विशेषज्ञहरूले स्थिति झन् बिग्रिएमा इरानले इजरायलसहित मध्यपूर्वका विभिन्न देशतर्फ लामो दूरीका मिसाइल आक्रमण बढाउन सक्ने चेतावनी दिएका छन्।

Read More

सानिगाड हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर निष्कासन (आइपिओ) गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गरेको हो ।

कम्पनीका अनुसार प्राथमिक शेयरमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा निष्कासन अवधि असार १ गतेसम्म लम्ब्याइनेछ ।

कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता शेयर बझाङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिएको थियो । बाँकी २० प्रतिशत अर्थात् ५७ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

त्यसैगरी कुल निष्कासनमध्ये ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ ।

यस निष्कासनको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले सानिगाड हाइड्रो लिमिटेडको निष्कासनकर्ता मूल्याङ्कन स्तर वृद्धि गर्दै ‘डबल बी माइनस’ प्रदान गरेको छ । यसअघि कम्पनीलाई ‘बी प्लस’ स्तर दिइएको थियो । यस्तो मूल्याङ्कन भएका संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम जोखिम भएको मानिन्छ ।

सानिगाड हाइड्रो लिमिटेड सन् २००७ डिसेम्बरमा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कालंगा गाड जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।

Read More

राजश्व १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य महत्वाकांक्षी नै हो- अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व १५ खर्ब ८० अर्ब उठाउने महत्वाकांक्षी उद्धेश्य राखेको स्पष्ट गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट बारेको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले बजेटमा राजश्व महत्वकांक्षी रुपमा नै १५ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको स्पष्ट गरेका हुन् ।

उनले आफुहरुले आटेर नै क्रान्त्रिकारी व्यवस्था बजेटमा गरेको बताउदै पाँच बर्षमा के के गर्ने भन्ने योजना बनाएर नै यस बर्षको बजेट आएको बताए । उनले पहिलो बर्ष स्रोत सुनिश्चित गर्ने चुनौती रहेकोले सोचे जातिका सबै योजना समावेश गर्न नसकेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले पछिल्लो १० बर्षमा जीडीपी अनुसारको सबै भन्दा कम बजेट ल्याएको दाबि गर्दै ठुलो बजेट ल्यायो भनेर आलोचना गर्नेहरुलाई आँकडा हेर्न आग्रह गरे ।

उनले एआई सेन्टर स्थापना गर्ने भन्दै यस विषयमा कसैले कल्पना नगरेको काम सरकारले गर्न लागेको दाबि गरे । 

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन मिशन मोडमा गर्ने बताउदै यसमा सरकार निजी क्षेत्र र सबै सरोकारवालाले सहयोग गर्न आग्रह समेत गरेका छन् । उनेल सबैलाई हाउगुजी र अतिरन्जनामा नलाग्न आग्रह गर्दै कसैले नगरेको आँट सरकार गरेको बताए ।

Read More

प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

खनालले उक्त अभिव्यक्तिलाई गम्भीर, दुखद, गलत र राष्ट्रविरोधी भएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रधानमन्त्री साहले नेपालले पनि भारतका भूमि मिचेको भन्ने आशयमा अभिव्यक्ति दिएर संवेदनशील विषयलाई हलुका बनाउने काम गरेका छन् ।

उनले नेपालका जनता लामो समयदेखि विदेशी अतिक्रमणविरुद्ध संघर्ष गर्दै आएको स्मरण गराउँदै अहिले पनि देशमाथि अतिक्रमणका समस्या रहेको अवस्थामा त्यस्ता विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत भएको बताए । खनालले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कागजातका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रश्न समेत उठाएका छन् ।

उनका अनुसार उक्त भनाइले देशभित्र र बाहिर रहेका करिब तीन करोड नेपालीको देशभक्तिपूर्ण भावनामा चोट पुगेको छ । उनले यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्री पदमा बस्न नमिल्ने टिप्पणी पनि गरेका छन् । साथै उनले प्रधानमन्त्री साहले माफी नसमागेसम्म सबै देशभक्त जनता र शक्तिहरूलाई विरोध र भर्त्सनामा उत्रन आग्रह गरेका छन् ।

खनालले प्रधानमन्त्रीका अभिव्यक्तिलाई संसदको अभिलेखबाट तत्काल हटाउन पनि सभामुखसँग अनुरोध गरेका छन् ।

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ५३५५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३४५ मा कारोबार भएको थियो ।

Read More

कर्णाली योजना बैंकमा ११ हजारभन्दा बढी आयोजना प्रविष्ट, पूर्वाधार मन्त्रालयका मात्रै २ हजार ६२ योजना

काठमाडौँ । कर्णाली प्रदेश योजना बैंकमा विभिन्न मन्त्रालयमार्फत आयोजना प्रविष्ट गर्ने क्रम तीव्र बनेको छ। प्रदेश योजना आयोगका अनुसार हालसम्म प्रदेश सरकारका सबै मन्त्रालयबाट ११ हजार २६२ वटा आयोजना योजना बैंकमा प्रविष्ट भएका छन् भने ९३० वटा आयोजना प्रक्रिया अगाडि बढिसकेका छन्।

प्रविष्ट गरिएका आयोजनामध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका २ हजार ६२ वटा आयोजना रहेका छन्। आगामी आर्थिक वर्षका लागि स्थानीय तह हुँदै प्रदेशका विषयगत मन्त्रालयमार्फत प्रदेश योजना आयोगमा यी आयोजनाहरू प्रस्ताव गरिएका हुन्।

प्रदेश सरकारको नीतिअनुसार कर्णालीका १० जिल्ला र ७९ स्थानीय तहबाट प्राप्त योजना प्रदेश योजना आयोगको योजना बैंकमा प्रविष्ट भएपछि मात्र कार्यान्वयन प्रक्रियामा प्रवेश गर्ने व्यवस्था छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट सार्वजनिक गर्नुअघि सम्बन्धित मन्त्रालयहरूले योजना आयोगमा प्रस्ताव गरेका आयोजनाको विवरण सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी बजेट प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रमुख मानिन्छ। मन्त्रालयले पूर्वाधार क्षेत्रसँग सम्बन्धित २ हजार ६२ वटा आयोजना योजना बैंकमा प्रविष्ट गरी सार्वजनिक गरेको जनाएको छ।

प्रदेश योजना आयोगका उपाध्यक्ष अशोकनाथ योगीले योजना बैंकमा दर्ता भएका आयोजनामध्ये १० हजार ३३२ वटा आयोजना आगामी दिनमा कार्यान्वयनका लागि अघि बढ्ने जानकारी दिए।

मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन योजना बैंकमा आयोजना प्रविष्ट गरी प्राथमिकताका आधारमा छनोट गर्ने कार्य भइरहेको बताए। उनले विकास निर्माणका कार्यक्रम सफल बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारबीच साझा समझदारी, समन्वय तथा सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

Read More

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि बनायो १८ उपसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै मूल आयोजक समिति गठन गरेको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको उक्त समितिले महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । महाधिवेशन २०८३ साल असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ ।

मूल आयोजक समितिको संयोजकमा रवि लामिछानेसँगै सदस्यहरुमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल तथा केन्द्रीय समितिका सबै सदस्य र सबै प्रदेश सभापतिहरू रहनेछन् ।

त्यसैगरी महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । तीमध्ये कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचारप्रसार तथा सञ्चार समन्वय, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्तावेजीकरण र अनुशासन उपसमिति रहेका छन् ।

पार्टीले महाधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित तयारी तीव्र पारेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

Read More