२०८३ जेष्ठ २३

नयाँ राष्ट्रवादी पार्टी बनाउदै धवलशमशेर, जेनजीहरुसँग छलफल

काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् ।

राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल गरेको जानकारी दिएका हुन् ।

राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समयमा पार्टीको महाधिवेशन नगरेको र विधान अनुसार हिजो (जेठ १९) गतेदेखि पार्टीले विधानिकता गुमाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरि निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा यही जेष्ठ महिनाभित्र महधिवेशन सम्पन्न गर्न सुझाव दिएको थियो । उक्त सुझाव कार्यसम्पादन एवं केन्द्रीय कार्यसमितिले पारित गर्दै केन्द्रीय कार्यसमितिको समयावधि ६ महिना थप गरेको थियो । केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएको छ ।’

उनले आफुले पटक–पटक भएका औपचारिक तथा अनौपचारिक बैठकमा दिएका सुझाव र सल्लाहलाई बेवास्ता गरिएको, वैधानिक निर्णय कार्यान्वयन नभएको र पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन् । पार्टी नेतृत्वको शैली आत्मकेन्द्रित र गैरजिम्मेवार भएको भन्दै राणाले पछिल्लो चुनावमा पार्टीको संगठनात्मक अवस्था कमजोर भएको, वैचारिक आधार प्रभावित भएको र जनसमर्थन घटेको दाबी गरेका छन् ।

उनले पार्टीभित्र विश्वासको संकट गहिरिँदा लक्ष्य हासिल गर्ने बाटो कमजोर हुने भन्दै सबै राष्ट्रवादी शक्ति, समूह र अभियानलाई एकताबद्ध भएर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आग्रह गरेका छन् ।

Read More

चोरी भएका ४० दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न स्थान र मितिमा चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ती सवारीसाधन हस्तान्तरण गरिएको हो । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् ।

प्रहरीका अनुसार निवेदन र विभिन्न सूचनाका आधारमा खोजी गर्दा ती सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट फेला पारिएको हो । केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट प्रयोग भएको पाइयो भने केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्था समेत भेटिएको थियो ।

खोजतलासका क्रममा सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध, जयबागेश्वरी लगायतका क्षेत्रबाट ती सवारीसाधन फेला परेका थिए ।

गत साउनयता मात्रै ट्राफिक प्रहरीले ५०२ वटा सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिसकेको जनाएको छ । चोरीमा संलग्न केही व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ । सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

ट्राफिक प्रहरीले सवारीसाधन चोरी रोक्न ह्यान्डल लक, डिस्क लक, अलार्म प्रणाली जडान गर्न र सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह गरेको छ । साथै सवारी हराएमा हटलाइन १०३ वा १०० मा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।

Read More

शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय वांग वेंड र चेन  शुआनगुई रहेका छन् । 

काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

Read More

कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक पक्राउ

जनकपुरधाम । शेल कम्पनी खडा गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।

धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ । अनुसन्धान अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रा.लि.’ नामक कागजी कम्पनी खडा गरी बिना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक बढी मूल्यांकन गराई कर्जा लिएको पाइएको छ।

प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा जुन प्रयोजनका लागि लिइएको थियो, सोही प्रयोजनभन्दा बाहिर प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको आरोप उनीमाथि छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा संलग्न रहेको भन्दै उनीविरुद्ध उच्च अदालत पाटन, ललितपुरले २०८२ साल मंसिर २८ गते पक्राउ अनुमति जारी गरेको थियो।

त्यही अनुमति आधारमा बुधबार उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सिआईबीले जानकारी दिएको छ ।

Read More

लुम्बिनीमा एमालेका चार मन्त्रीको सामुहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारक एमालेबाट मन्त्री रहेका चार जनाले सामुहिक राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । 

सरकार पुनर्गठन गर्न एमालेले आफ्ना मन्त्रीलाई राजीनामा गराएको बताइएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लिएका बेला एमालेले मन्त्रीहरुको राजीनामा गराएको छ ।  

एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका छन् । 

Read More

मृत्यु भएको करिब चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि हुने

काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम रेजाको दरगाह परिसर नजिकै दफन गरिने तयारी गरिएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार उनको अन्तिम बिदाइ २१ जुनतिर हुन सक्ने बताइएको छ । २८ फेब्रुअरीमा तेहरानस्थित निवासमा भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।

पहिले उनको राजकीय अन्त्येष्टि ४ मार्चमै गर्ने योजना थियो तर युद्धका कारण स्थगित गरिएको थियो। अब तेहरान, कुम र मशहदमा हुने अन्त्येष्टि कार्यक्रममा करिब २ करोड मानिस सहभागी हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। जनताका लागि तीन दिनसम्म अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइएको छ ।

मुख्य अन्त्येष्टि समारोह तेहरानमै हुने बताइएको छ, जुन कम्तीमा २४ घण्टा चल्न सक्ने अनुमान छ । त्यसपछि पार्थिव शरीरलाई धार्मिक शहर कुम हुँदै मशहद पुर्‍याइनेछ। त्यस क्रममा सडकमार्गबाट जनताले अन्तिम दर्शन गर्न सक्ने व्यवस्था पनि मिलाइने भनिएको छ ।

तेहरान नगर निगमका एक अधिकारीका अनुसार यात्राको क्रममा कुम र मशहदमा पनि विशेष कार्यक्रम हुनेछन् । यसको सम्पूर्ण जिम्मेवारी इस्लामिक रिभोलुसनरी गार्ड कोरले लिएको बताइएको छ ।

विश्लेषकहरूका अनुसार यदि २ करोड मानिस सहभागी भए यो सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिभन्दा ठूलो हुनेछ। त्यतिबेला करिब १ करोड मानिस सहभागी भएका थिए ।

त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् ।

इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक–दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।

इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।

Read More

सशस्त्रका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा मृत फेला

काठमाडौँ ।  सशस्त्र प्रहरी बलका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल १५ नम्बर हेड क्वार्टर, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनीहरु एक महिनादेखि सम्पर्कविहिन थिए । प्रहरीका अनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा घरबाट निस्किएका थिए । यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेपलाञ्चोकमा रहेका शक्ति रामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसपछि दुवै जना सम्पर्कविहीन भएका थिए ।

परिवारले खोजतलासका लागि दिएको निवेदनपछि उनीहरुको खोजी शुरु भएको थियो ।

Read More

हत्यामा संलग्न रहेको अभियोगमा बागलुङबाट तीन जना पक्राउ

काठमाडौं ।  लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई भनि चिनिने आसपुरे कामी रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले जैमिनी नगरपालिका-१० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा देउ बहादुरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Read More

भारतको ककरोच जनता पार्टीले तोक्यो तीन प्रवक्ता

काठमाडौँ । भारतमा सामाजिक सञ्जालबाट उदाएको ककरोच जनता पार्टीले तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ । 

पार्टीले नियुक्त गरिएका तीन जना प्रवक्ताले जनता र मिडियासामु आन्दोलनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्ने बताइएको छ ।

जानकारी अनुसार खोजी पत्रकार सौरव दासलाई मुख्य प्रवक्ता बनाइएको छ । त्यसैगरी लेखक तथा फिल्म निर्माता विजेता दहिया र भारतीय प्रौद्योगिकी संस्थान कानपुरका पूर्व विद्यार्थी आशुतोष रांका पनि प्रवक्ताको जिम्मेवारीमा रहनेछन् ।

पार्टीको भनेको छ- ‘ककरोच जनता पार्टी भारतको राजनीतिक भाषा र सोच परिवर्तन गर्न काम गरिरहेको छ, र यो काम नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अघि बढ्नेछ ।’

यसैबीच, पार्टीका संस्थापक अभिजित दीपकेले आफू ६ जुनमा भारत फर्किने बताएका छन् । उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा समेत गरेका छन् ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से २.६६  अंकले बढेर २७८०.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ५ अर्ब ७३  करोड ८१ लाख ७८ हजार १६५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, हाइड्रो, लगानी, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको शेयर १४.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयर ५.१८ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४४ करोड २३ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

Read More