२०८३ जेष्ठ २३

बजेटका लक्ष्य पुरा हुन प्रभावकारी कार्यान्वयन अपरिहार्य- उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक भन्दै यसको प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरेको छ ।

परिसंघले उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थबीच भन्सारमा एक तहको अन्तर कायम गर्न २७३ वस्तुको भन्सार दर घटाउने तथा ३६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र औद्योगिकीकरणलाई गति दिन सहयोग पुग्ने जनाएको छ ।

वन तथा प्राकृतिक स्रोतको उपयोग, हरित औद्योगिकीकरण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा मोतीपुर र मयूरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रबाट निर्माण र सञ्चालन गर्ने व्यवस्था सकारात्मक रहेको परिसंघको भनाइ छ। यसले निजी क्षेत्रको सहभागिता बढाउने विश्वास व्यक्त गरिएको छ ।

उत्पादनमूलक उद्योगका लागि विद्युत् माग शुल्क पुनरावलोकन, महसुलमा छुट, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रमा बनेका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न पाउने व्यवस्थाले उद्योग विस्तारमा सहयोग पुग्ने परिसंघको धारणा छ । स्वचालित रूपमा मूल्य अभिवृद्धि कर फिर्ता हुने, विवादित करमा थप १ प्रतिशत बुझाएपछि मुद्दा फिर्ता हुने तथा ब्याज र जरिवाना नलाग्ने व्यवस्थालाई परिसंघले व्यवहारिक र उद्योगी व्यवसायीलाई राहत दिने कदमका रूपमा स्वागत गरेको छ ।

अस्वैच्छिक हक हस्तान्तरणमा आयकर ऐनको दफा ५७ नलाग्ने व्यवस्था, उत्तराधिकार व्यवस्थापन, संस्थागत पुनर्संरचना र व्यवसाय विस्तारका क्रममा देखिएका जटिलता हटाउन उपयोगी हुने जनाइएको छ । विदेशी लगानीकर्तालाई मुनाफा तथा रोयल्टी सहज रूपमा फिर्ता लैजान दिने व्यवस्थाले लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने परिसंघको विश्वास छ । व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्‍याउनु र अधिकतम करदर १० प्रतिशतले घटाउनु उपभोक्ताको क्रयशक्ति बढाउने तथा उद्योग, व्यापार र सेवा क्षेत्रको माग विस्तारमा सहयोगी हुने उल्लेख गरिएको छ ।

बजेटमा कृषि प्रशोधन, पर्यटन सेवा र श्रमप्रधान उद्योगको विकासका लागि रोजगार आबद्ध उत्पादन क्षेत्र सञ्चालन गर्ने, लगानी प्रवर्द्धनका लागि कानुनी तथा नीतिगत सुधार गर्ने, उधारो असुलीसम्बन्धी कानुन ल्याउने तथा विभिन्न ऐन, नियम र कार्यविधिमा संशोधन गर्ने विषयलाई पनि परिसंघले सकारात्मक मानेको छ ।

सरकारी निकायको खारेजी तथा गाभ्ने निर्णयले सरकारी कार्यक्षमता बढ्ने र अनावश्यक खर्च कटौती हुने बताइएको छ। लगानी बोर्डबाट स्वीकृत आयोजनाले पुनः अन्य निकायबाट अनुमति लिनु नपर्ने व्यवस्था, निजी लगानी आकर्षित गर्न विभिन्न कोष र ऋणपत्रको प्रयोग तथा ऊर्जा क्षेत्रमा नयाँ व्यवस्था ल्याउने योजनाले पनि लगानी बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

साना तथा मझौला उद्योगका लागि कर्जा सुरक्षण, व्यावसायिक पुनरुत्थान कर्जा, हरित मल उत्पादनमा प्रोत्साहन, सामाजिक उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्था तथा नवप्रवर्तनशील उद्यमलाई राष्ट्रिय उद्यम प्रणालीसँग जोड्न नेपाल उद्यम सहजीकरण केन्द्र स्थापना गर्ने प्रस्तावलाई परिसंघले स्वागत गरेको छ।

उच्च मूल्यका पर्यटक लक्षित होटल तथा विश्रामस्थललाई प्रोत्साहन, आरोग्य पर्यटनको प्रवर्द्धन, ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनको व्यवस्थित व्यवस्थाले पनि अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताइएको छ।

यद्यपि गुणस्तर प्रवर्द्धन तथा गुणस्तरीय वस्तु आयातसम्बन्धी विषय बजेटमा समावेश नभएको भन्दै परिसंघले त्यसतर्फ ध्यानाकर्षण गराएको छ। उत्पादनमूलक उद्योगलाई आवश्यक जग्गामा हदबन्दी नलाग्ने व्यवस्था र उद्योग तथा सरकारबीचको भुक्तानी तथा फिर्ता रकम समायोजन गर्न पाउने व्यवस्था पनि बजेटमा छुटेको परिसंघको भनाइ छ।

परिसंघले बजेटले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न, लगानी प्रवर्द्धन गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

Read More

दिल्लीको होटलमा भिषण आगलागी, २१ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको एक होटलमा भीषण आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

दिल्ली प्रहरीले घटनाको पुष्टि गर्दै मालवीय नगरस्थित भोजनालयसहितको उक्त होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा मृतकमध्ये अधिकांश विदेशी नागरिक रहेको खुलेको छ । उनीहरू उपचारका लागि साकेतस्थित म्याक्स अस्पताल आएका हुनसक्ने अनुमान गरिएको छ ।

घटनापछि होटल सञ्चालनमा गम्भीर अनियमितता रहेको तथ्य पनि सार्वजनिक भएको छ। दिल्ली सरकारको ‘बेड एन्ड ब्रेकफास्ट’ योजनाअन्तर्गत होटललाई केवल ६ वटा कोठा सञ्चालनको अनुमति दिइएको थियो । तर होटलमा अवैध रूपमा २५ वटा कोठा निर्माण गरिएको पाइएको छ, जसमध्ये केही भुइँतलामुनि पनि रहेका थिए। यसले सुरक्षा मापदण्डको पालना नभएको विषयमा गम्भीर प्रश्न उठाएको छ ।

साकेतस्थित म्याक्स अस्पताल नजिकको क्षेत्र भएकाले त्यहाँ उपचारका लागि आउने विदेशी नागरिकहरू बस्न धेरै होटल तथा भोजनालय सञ्चालनमा छन् । राष्ट्रमण्डल खेलकुदका बेला उक्त योजनाअन्तर्गत यस क्षेत्रमा १५ वटा होटललाई अनुमति दिइएको थियो ।

आगलागी भएको होटलमा पनि उपचारका लागि आएका धेरै विदेशी नागरिक बसिरहेको बताइएको छ । त्यसैले मृतकमध्ये अधिकांश विदेशी नागरिक हुन सक्ने आशंका गरिएको छ ।

आगलागी नियन्त्रणका लागि सुरुमा सात वटा दमकल परिचालन गरिएको र पछि थप टोली खटाइएको थियो । उद्धारकर्मीहरूले ३७ जनालाई सकुशल बाहिर निकालेका थिए भने भवनको सम्पूर्ण भागमा खोजी कार्य सञ्चालन गरिएको थियो ।

घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । साथै, लापरवाही वा नियम उल्लंघनमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाइएको छ ।

Read More

पुराना नेताहरुलाई फसाउन सम्पत्ति छानबिन आयोग बनाइयो- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् । 

एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो भएको टिप्पणी गर्दै केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको आरोप लगाएका हुन् ।

उनले भने- ‘सरकारले बनाएको सम्पत्ति छानबिन आयोग तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो हो । सरकारका संवैधानिक आयोगहरू छँदैछन् । आयोगले नयाँ दल, सेनालाई छानबिन नगर्ने ? केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको हो । यस्तो आयोगलाई म मान्यता दिन्नँ । म सम्पत्ति विवरण लेखेर पठाउँदिनँ । आगो लगाएर खरानी बनाएको घरबाट मैले खरानी भर्ने ?’

सरकारले ०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न एक बर्षको समय दिएर वैशाख पहिलो साता सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वतमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल छन् । 

Read More

रवि लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणमा रहेका लामिछानेले बुधबार मोदीसँग भेटवार्ता गरेका हुन् । लामिछानेसँग भेट गरेपछि प्रधानमन्त्री मोदीले भेटमा साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई स्वागत गर्दै सो धारणालाई पूर्ण रूपमा समर्थन गरेको उल्लेख गरेका छन् ।

मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग मिलेर दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहकार्य गर्न उत्साहित रहेको बताएका छन् ।

लामिछानेले यसअघि मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Single Image

Read More

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

काठमाडौँ । ईरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै व्यक्ति घाइते भएका छन् ।

कुवेतको सरकारी समाचार संस्थाका अनुसार आक्रमणपछि विमानस्थलका उडानहरू तत्काल रोकिएका छन् भने केही उडानलाई अन्य विमानस्थलतर्फ मोडिएको छ ।

कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणमा आक्रमण अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ भवनलाई लक्षित गरी गरिएको जनाइएको छ । त्यसपछि सुरक्षा कारणले उडानहरू अन्य विमानस्थलमा पठाइएको बताइएको छ ।

सरकारी समाचार संस्थाले नागरिकहरूलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ । क्षेप्यास्त्र आक्रमण रोक्न गरिएको प्रतिकारात्मक कारबाहीका क्रममा आकाशबाट खस्न सक्ने भग्नावशेषबाट सतर्क रहन चेतावनी दिइएको छ ।

Read More

ओलीको सरकारलाई चेतावनी- उत्ताउलिएर धेरै अगाडी नबढनु होला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् । 

एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राज्य र राज्य संयन्त्रमा बस्नेहरुलाई समय र परिस्थिति सधैं एकनासको नरहने बताउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका हुन् । उनले भने- ‘राज्य संयन्त्र र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय परिस्थिति सधै एकैनासको रहदैन उत्ताउलिएर धेरै अगाडी नबढनु होला, राणा शासन ढले, पंचायती तानाशाही ढले, राजतन्त्र ढले, अनेकतन्त्रहरु गए, यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।’

ओलीले राज्यलाई कतिपय कुरा मन नपरेपनि मन पर्नु नपर्नु बेग्लै कुरा भएको तर सत्य आफ्नो ठाउमा हुने बताए ।  उनले भदौ २३–२४ गतेको राष्ट्रयव्यापी आगजनी केहि होइन जस्तो गरेर पचाउने खोजिएको आरोप समेत लगाए ।

Read More

राष्टिय सभामा विरोध जारी, बैठक स्थगित

काठमाडौं । विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते मंगलबारसम्मका लागि स्थगित भएको छ । 

बुधबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक जेठ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसदमा दिएको सीमा बारेको अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरेका थिए । 

सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।

Read More

भदौं २३–२४ गतेको घटना प्रायोजित थियो- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौं २३–२४ गतेको घटना प्रायोजित रहेको टिप्पणी गरेका छन् । 

एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भदौ २३-२४ को घटना प्रायोजित रहेको बताउदै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेको बताएका हुन् । 

ओलीले  आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशिल वस्तुहरु कसरी बनाउने ? पेट्रोल बम कसरी बनाउने ? छिटो आगो लगाउने भन्ने जस्ता कुराहरु, राष्ट्रयव्यापी रुपमा आगलागीका घटना कसरी गराउने भन्ने पुरै तयारी गरिएको दाबि गरे ।

उनले भदौंको घटनाका बेला आफूहरु लोकतान्त्रिक र संवैधानिक रुपमा बलियो अवस्थामा रहेको बताउँदै जनताबाट निर्वाचित वहुमत प्राप्त सरकारमा रहेको अवस्थामा नै षड्यन्त्र गरेर विस्थापित गरिएको आरोप लगाए । 

Read More

डन- ३ विवाद: अभिनेता रणवीर सिंहले चलचित्र कर्मचारी संघलाई कानुनी नोटिस

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले पश्चिम भारत चलचित्र कर्मचारी महासंघलाई कानुनी नोटिस पठाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले जुन २ मा उक्त नोटिस पठाएका हुन् ।

नोटिसमा उनले माग गरेको विषय स्पष्ट गरिएको छैन । तर यसअघि मे २५ मा महासंघले रणवीर सिंहविरुद्ध असहयोगको निर्णय गर्दै आफ्ना सबै सदस्यलाई उनको कुनै पनि परियोजनामा काम नगर्न दिएको निर्देशनको विषयमा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो विवाद फिल्म डन ३ सँग जोडिएको छ । उक्त फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्ट हो, जसका प्रमुख निर्देशक फरहान अख्तर हुन् ।

रणवीर सिंहले फिल्म छोडेपछि बढेको विवाद अब कानुनी झमेलामा प्रवेश गरेको छ । निर्माण पक्षले रणवीर सिंहले फिल्म छोडेपछि ४५ करोड क्षति भएको भन्दै क्षतिपुर्ति माग गरेको बताइएको छ ।

Read More

फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष लुकाज पोखरामा, नगर प्रमुखसँग भेटवार्ता

पोखरा । विश्वकै प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका लुकाजले भेटका क्रममा फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न इच्छुक रहेको बताएका छन् । उनले उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र एयरलाइन सञ्चालनका क्षेत्रमा आफ्नो विशेषज्ञता रहेको उल्लेख गर्दै पोखरा जोडिने उडानले यस क्षेत्रको पर्यटनलाई थप गति दिने धारणा राखेका छन् ।

विमानस्थलहरूको अन्तर्राष्ट्रिय तथा स्थानीय उड्डयन सुरक्षा मापदण्ड पालना सुनिश्चित गर्ने सुरक्षा रणनीतिमा अनुभव भएका लुकाजले पोखराको प्राकृतिक सौन्दर्यबाट आफू प्रभावित भएको पनि बताए ।

भेटका क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल भइरहेको जानकारी दिएका थिए । उनले दुई देशबीचको पर्यटन आदान–प्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण हुने भएकाले कम्पनीको तर्फबाट विशेष पहल गर्न आग्रह गरे ।

उनले नेपाल सरकारसँग पटक–पटक छलफल भइरहेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू समेत सञ्चालन हुँदै आएको उल्लेख गर्दै विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको प्रवर्द्धनका लागि नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको बताएका थिए ।

भेटवार्तामा नगर प्रमुख आचार्यसहित पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईलगायतको उपस्थिति रहेको थियो।

Read More