२०८३ जेष्ठ २३

अमेरिकाको निशानामा किन छ ईरानको केश्म टापु ?

काठमाडौँ । ईरानको केश्म टापु झण्डै १ हजार ४४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खाडी क्षेत्रको सबैभन्दा ठूलो टापु हो । एक समय यो टापु स्वतन्त्र व्यापार क्षेत्र र पर्यटकीय स्थलका रूपमा चिनिन्थ्यो, तर अहिले यो ठूलो सैन्य आधारमा रूपान्तरण भएको छ ।

होर्मुज जलडमरूको प्रवेश बिन्दुमा रहेको यो टापु रणनीतिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । अमेरिकाले यसलाई विभिन्न कारणले ठूलो सैन्य खतरा मान्दै आएको छ ।

विभिन्न विवरणअनुसार केश्म टापु मुनि सुरुङ र नुनका गुफाहरूको ठूलो सञ्जाल छ । त्यहाँ ईरानले तटीय क्षेप्यास्त्र प्रणाली र छिटो आक्रमण गर्न सकिने साना नौसैनिक डुङ्गाहरू लुकाएर राखेको बताइन्छ ।

टापुमा ईरानले यस्ता सैन्य संरचना बनाएको छ जसको उद्देश्य समुद्री मार्गमा नियन्त्रण कायम गर्नु हो । यहाँबाट होर्मुज जलडमरूमार्फत हुने जहाज आवतजावतलाई रोक्न वा सीमित गर्न सकिने अनुमान गरिन्छ ।

होर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण तेल र ग्यास ढुवानी मार्गमध्ये एक हो। अमेरिकाका अनुसार ईरानले केश्म टापुलाई तेल बोकेका ट्याङ्करहरूको आवतजावतमा दबाब सिर्जना गर्न वा अवरोध गर्न प्रयोग गर्दै आएको छ ।

त्यस्तै पछिल्ला महिनाहरूमा यो टापु अमेरिका र ईरानबीचको सैन्य तनावको प्रमुख केन्द्र बनेको छ । यसअघि ईरानतर्फबाट क्षेत्रीय अमेरिकी सैन्य संरचनामाथि कारबाही भएपछि अमेरिकाले केश्म टापुमा रहेको इस्लामिक क्रान्तिकारी गार्ड कोरका संरचना र सञ्चार प्रणालीमाथि आक्रमण गरेको बताइएको छ।

Read More

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ र बहुब्याजदरमा समेत आवेदन दिन सकिनेछ । ब्याजदर उल्लेख गर्दा दशमलव पछिको चार अंकसम्म लेख्न सकिनेछ ।

निक्षेप संकलनको अवधि साउन १३ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रोराटा आधारमा बाँडफाँड गरिनेछ ।

बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।

यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Read More

संवैधानिक इजलासमा अध्यादेश जारी बारे परेको रिट दरपीठविरुद्धको रिटको सुनुवाइ हुँदै

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल,डा.नहकुल  सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेलसाहितको संवैधानिक इजलास सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

यसअघि जेठ १३ गते सुनुवाइका लागि सोही इजलासमा पेशी तोकिएपनि पछि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश दिएको थियो ।

अधिवक्ता गीता थापाले अध्यादेश बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । तर,सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो । त्यसपछि दरपिठविरुद्ध थापाले रिट दायर गरेकी हुन् । अब उक्त रिट दर्ता हुने वा नहुने भन्ने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ ।

निवेदनमा संवैधानिक परिषद काम,कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ संसद छल्ने उद्धेश्यले ल्याएको तथा उक्त अध्यादेश संविधानविपरीत रहेको जिकिर गरिएको छ ।

Read More

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनक मुल्य सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ५३७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५४०५ मा कारोबार भएको थियो ।

Read More

निर्वाचनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा सहभागी हुदै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा सहभागी हुदैछन् ।

ओली आज एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ११ बजेदेखि काठमाडौँको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुदै कार्यक्रमको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पराजय, त्यसपछि पक्राउ परेपछि अस्वस्थ भएर अप्रेशन गर्नु परेको र त्यसैक्रममा बुबाको निधनका कारण ओली सार्बजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । यसबीचमा ओली आफ्नै निवासमा राखिएको पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए ।

Read More

नेपालको एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात

काठमाडौँ । नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । 

नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले पराजित गरेको हो । कतारले दिएको ७७ रनको लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा विन्दु रावलले ३३ र पुजा महतोले अविजित २८ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दा कतारले १६.५ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो । कतारका लागि गेट्रुडो चन्दिरुले २५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन् ।   

नेपालले यस प्रतियोगितामा अब अर्को खेल जुन ४ मा भुटानसँग, र जुन ६ मा हङकङसँग खेल्ने तालिका रहेको छ ।        

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।  एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् ।  त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् । 

Read More

दैलेखमा छोराको हत्या गर्ने बुबा पक्राउ

काठमाडौँ ।  दैलेखको नारायण नगरपालिका–९ सालखर्कमा मादक पदार्थ सेवन गरेका एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

मंगलबार राति करिब ११ बजे सामान्य विवादका क्रममा ७० वर्षीय कबिराज थापाले आफ्ना ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न कबिराज थापालाई प्रहरीले प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले

Read More

विश्वकप जित्ने सपना पूरा गर्न अन्तिम अवसरमा रोनाल्डो

काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि आगामी फिफा फुटबल विश्वकप केवल अर्को प्रतियोगिता होइन, बरु आफ्नो महान् फुटबल यात्रालाई पूर्णता दिने अन्तिम अवसर हो । सन् २०२२ को विश्वकपमा मोरक्कोसँगको क्वार्टरफाइनल हारपछि आँसु झारेका रोनाल्डोले त्यसबेला पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरकै सबैभन्दा ठूलो सपना रहेको बताएका थिए ।

सन् २०२६ को विश्वकपसम्म पुग्दा रोनाल्डो ४१ वर्षका छन् । यो उनको छैटौँ विश्वकप हुनेछ । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डो विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिए पनि विश्वकपमा उनको उपलब्धि अपेक्षाअनुसार छैन । उनले अहिलेसम्म केवल एकपटक सेमिफाइनल खेलेका छन् भने नकआउट चरणमा एक गोल पनि गर्न सकेका छैनन् ।

कतार विश्वकपपछि पोर्चुगलले नयाँ प्रशिक्षकका रूपमा रोबेर्टो मार्टिनेजलाई नियुक्त गर्यो । धेरैले युवा टोली निर्माणको अपेक्षा गरे पनि मार्टिनेजले रोनाल्डोलाई कप्तानकै रूपमा निरन्तरता दिए । युरोपेली च्याम्पियनसिप छनोटमा उनले धेरै गोल गरे पनि मुख्य प्रतियोगितामा गोल गर्न सकेनन् । त्यसक्रममा उनको प्रदर्शन र टोलीमा स्थानबारे व्यापक बहस भएको थियो ।

यद्यपि, पछिल्लो नेशनल लिगमा रोनाल्डोले निर्णायक भूमिका खेले । उनले जर्मनीविरुद्धको सेमिफाइनल र स्पेनविरुद्धको फाइनलमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाउन मद्दत गरे । त्यसले उनको अनुभव र गोल गर्ने क्षमतामाथिको विश्वास फेरि बलियो बनायो ।

तर उमेरसँगै उनको गतिशीलता घटेको छ । आधुनिक फुटबलमा आक्रमणकर्ताबाट अपेक्षा गरिने दबाब सिर्जना गर्ने शैलीमा उनी पहिलेजस्तो प्रभावकारी छैनन् । त्यसैले पोर्चुगलले बढी चलायमान फरवार्डबाट लाभ लिन सक्ने तर्क पनि उठिरहेको छ ।

तर रोनाल्डोको पक्षमा एउटा ठूलो आधार उनको अनुभव, नेतृत्व र जित्ने अदम्य चाहना रहेको छ । पोर्चुगलसँग अहिले ब्रुनो फर्नानडेज, भितिन्हा, जोआओ नेभेस, रुबेन डियास र नुनो मेन्डेस जस्ता प्रतिभाशाली खेलाडी छन् । धेरै विश्लेषकले यो पोर्चुगलको इतिहासकै सबैभन्दा बलियो टोली मान्छन् ।

त्यसैले सन् २०२६ को विश्वकप रोनाल्डोका लागि व्यक्तिगत विरासतको परीक्षा मात्र होइन, पोर्चुगलको विश्व च्याम्पियन बन्ने सम्भावनासँग पनि जोडिएको छ । विश्वकप जित्ने उनको सपना पूरा हुन्छ कि हुँदैन, त्यो भविष्यले बताउनेछ । तर यति निश्चित छ कि फुटबलको सबैभन्दा ठूलो मञ्चमा यो रोनाल्डोको अन्तिम यात्रा हुनेछ ।

पोर्चुगलको टिम:     

गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो । 

डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो । 

मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा । 

फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो,  राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो । 

विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने तालिका छ ।

Read More

कर्णाली प्रदेशको नीति कार्यक्रम आज सार्वजनिक हुदै

काठमाडौँ । कर्णाली प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक हुदैछ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम प्रदेश प्रमुखबाट आज दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

असार १ गते सबै प्रदेशले अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रदेशहरुले आफ्नो नीति तथा कार्यक्रम सार्बजनिक गरिरहेका छन् ।

Read More

अस्तित्व जोगाउने संघर्ष गर्दै मुम्बईका ‘डिब्बावाला’

काठमाडौँ । एक समय मुम्बईको जीवनरेखा मानिने डिब्बावाला सेवा अहिले अस्तित्व जोगाउने संघर्षमा पुगेको विभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको छ । घरमा पकाइएको तातो खाना कार्यालयसम्म पुर्‍याउने यो परम्परागत प्रणालीलाई एक समय विश्वकै उत्कृष्ट र कम लागतको वितरण व्यवस्थामध्ये एक मानिन्थ्यो । प्रतिष्ठित हार्वर्ड बिजनेस स्कूलले यसलाई ‘लजिस्टिक्सको मास्टरक्लास’ का रूपमा वर्णन गरेको थियो भने सन् २००३ मा तत्कालीन बेलायती युवराज चार्ल्स स्वयं यसको अवलोकन गर्न मुम्बई पुगेका थिए ।

मुम्बई पूर्ण रूपमा ब्युँझिनुअघि नै सेतो टोपी र कुर्ता लगाएका डिब्बावालाहरू साइकलमा अग्ला–अग्ला टिफिनका थुप्रा बोकेर रेल स्टेशन पुग्छन् । उनीहरू रेलमार्फत शहरका विभिन्न भागमा पुगेर पैदल वा साइकलबाट घरको खाना कार्यालयसम्म पुर्‍याउने गर्छन् । दशकौँदेखि चल्दै आएको यो प्रणाली आफ्नो सटीकता र अनुशासनका लागि विश्वभर चर्चित रहँदै आएको छ ।

डिब्बावाला व्यवस्थाको सुरुआत उन्नाइसौँ शताब्दीको अन्त्यतिर भएको मानिन्छ । बेलायती शासनकालमा बम्बई तीव्र गतिमा विस्तार भइरहेका बेला कार्यालय जाने कर्मचारीहरूलाई घरको खाना आवश्यक पर्न थालेपछि यसको आवश्यकता महसुस गरिएको थियो । सन् १८९० मा महादेव बाचे नामका व्यक्तिले करिब १०० कामदारको सहयोगमा यसलाई व्यवस्थित रूप दिएका थिए । विस्तारै यो प्रणाली यति प्रभावकारी बन्यो कि कुनै मोबाइल अनुप्रयोग वा भू–अवस्थिति प्रणालीको प्रयोगबिना नै हजारौँ टिफिन सही ठेगानामा पुग्न थाले ।

यसको स्वर्णकालमा करिब ४५०० डिब्बावालाले दैनिक ५० हजारभन्दा बढी टिफिन वितरण गर्थे । तर कोरोना महामारीपछि अवस्था नाटकीय रूपमा बदलियो । कार्यालयहरू बन्द भए, घरबाटै काम गर्ने प्रवृत्ति बढ्यो र टिफिन सेवाको माग एकाएक घट्न पुग्यो । मुम्बई टिफिन बक्स आपूर्तिकर्ता संघका सचिव किरण गवन्डेका अनुसार महामारीअघि ४,५०० को हाराहारीमा रहेका डिब्बावालाको संख्या अहिले घटेर करिब १,५०० मा सीमित भएको छ । उनका अनुसार धेरै कर्मचारी अहिले पनि सातामा दुई वा तीन दिन मात्र कार्यालय जाने भएकाले डिब्बावालाको आम्दानीमा ठूलो असर परेको छ ।

यसको प्रत्यक्ष असर कामदारहरूको जीवनमा पनि परेको छ । दुई दशकसम्म डिब्बावालाको रूपमा काम गरेका बालु शिन्देले दैनिक १५ देखि २० वटा टिफिन वितरण गर्दै मासिक करिब २० हजार भारतीय रुपैयाँ आम्दानी गर्थे । तर सन् २०२० को अन्त्यसम्म उनका ग्राहक केवल दुई जनामा सीमित भएपछि उनले यो पेशा छोडेर अटो रिक्सा चलाउन थाले । अहिले पनि पेशामा रहेका धेरै डिब्बावालाहरूले जीविकोपार्जनका लागि थप काम गर्न बाध्य छन् ।

संघले अब पालो प्रणालीमा आधारित नयाँ कार्ययोजना ल्याउने तयारी गरिरहेको छ । यद्यपि संघका अध्यक्ष रामदास कार्वान्डे भविष्यप्रति आशावादी देखिँदैनन् । उनका अनुसार अहिले सेवा चलिरहेको भए पनि आगामी वर्षहरूमा यसको अवस्था कस्तो हुन्छ भन्ने निश्चित छैन ।

यता अनलाइन खाना वितरण सेवाको विस्तारले पनि डिब्बावालामाथि थप दबाब सिर्जना गरेको छ । पहिले मासिक करिब २ हजार भारतीय रुपैयाँमा घरको खाना कार्यालयसम्म पुर्‍याउने सेवा उपलब्ध थियो । अहिले भने केही क्लिकमै विभिन्न परिकार उपलब्ध गराउने अनलाइन भोजन सेवा लोकप्रिय बन्दै गएको छ । साथै केवल वितरणका लागि सञ्चालन हुने नयाँ प्रकारका भान्साघरहरूको विस्तारले प्रतिस्पर्धा अझ कडा बनाएको छ ।

३५ वर्षदेखि डिब्बावालाको रूपमा काम गरिरहेका बाबन कदमका अनुसार बढ्दो महँगीका कारण नयाँ पुस्ता यो पेशातर्फ आकर्षित हुने सम्भावना निकै कम छ । उनका अनुसार युवा पुस्ता अहिले राम्रो रोजगारी वा आफ्नै व्यवसायतर्फ बढी केन्द्रित छ ।

आज पनि मुम्बईका रेलहरूमा स्टिलका टिफिन बोकेर हिँडिरहेका डिब्बावालाहरू देख्न सकिन्छ । उनीहरू केवल खाना पुर्‍याइरहेका छैनन्, बरु मुम्बईको पहिचान बनेको एक ऐतिहासिक परम्परालाई जीवित राख्ने प्रयास गरिरहेका छन् । तर समयको बदलिँदो गतिसँगै यही परम्परा विस्तारै ओझेलमा पर्दै गएको छ ।

(विभिन्न भारतीय मिडियाहरुको रिपोर्टका आधारमा तयार गरिएको रिपोर्ट)

Read More