२०८३ जेष्ठ २३

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ । 

समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुले सम्वन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अध्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।

Read More

एआईले बदल्यो विश्वव्यापी विज्ञापन उद्योगको कार्यशैली

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब केवल संवाद गर्ने प्रणाली वा सामग्री निर्माण गर्ने प्रविधिमा मात्र सीमित छैन। यसले विश्वव्यापी विज्ञापन उद्योगको कार्यशैलीलाई पनि तीव्र रूपमा परिवर्तन गरिरहेको छ ।

परामर्शदाता संस्था रेडसिरले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्ताले विज्ञापन क्षेत्रलाई अझ बुद्धिमानी, तथ्यांकमा आधारित तथा परिणाममुखी बनाइरहेको छ। यही परिवर्तनका बीच भारत विश्वका प्रमुख विज्ञापन प्रविधि कम्पनीहरूको केन्द्र बन्ने बलियो स्थितिमा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार विश्वव्यापी विज्ञापन बजारको आकार हाल एक खर्ब अमेरिकी डलर नाघिसकेको छ । यस्तो अवस्थामा कृत्रिम बुद्धिमत्ताले उद्योगका लगभग सबै क्षेत्रमा प्रभाव पारिरहेको छ । सञ्चारमाध्यम खरिद, सिर्जनात्मक सामग्री निर्माण, कार्यसम्पादन मूल्याङ्कन, विद्युतीय व्यापार तथा ग्राहक लक्षित विज्ञापनजस्ता प्रक्रिया तीव्र रूपमा कृत्रिम बुद्धिमत्तामा आधारित बन्दै गएका छन् ।

प्रतिवेदनअनुसार हाल डिजिटल विज्ञापनले विश्वव्यापी विज्ञापन खर्चको ७५ देखि ८० प्रतिशत हिस्सा ओगटीसकेको छ । तीमध्ये ८० देखि ८५ प्रतिशत विज्ञापन स्वचालित प्रविधिमार्फत सञ्चालन भइरहेका छन् ।

प्रतिवेदनमा छिमेकी देश भारतमा प्रत्येक वर्ष करिब २७ लाख इन्जिनियरिङ तथा प्रविधि विषयका विद्यार्थी भर्ना हुन्छन् । त्यसबाहेक देशमा करिब दुई करोड ४० लाख सफ्टवेयर विकासकर्ता सक्रिय छन् । भारतमा हाल करिब एक हजार नौ सय विश्वव्यापी क्षमता केन्द्र सञ्चालनमा छन्, जसले वार्षिक ६५ अर्बदेखि ७५ अर्ब अमेरिकी डलरसम्म निर्यात आम्दानी सिर्जना गरिरहेका छन् । प्रतिवेदनले भारतको विशाल प्रविधि संरचनाले कृत्रिम बुद्धिमत्तामा आधारित उत्पादन तथा मञ्चहरूको विकासका लागि बलियो आधार प्रदान गरिरहेको जनाएको छ । यही कारणले भारत विश्वव्यापी विज्ञापन प्रविधि नवप्रवर्तनको अर्को ठूलो केन्द्र बन्न सक्ने अनुमान गरिएको छ । रेडसिरको अनुमानअनुसार भारतको डिजिटल विज्ञापन बजार सन् २०२५ मा करिब २१ अर्ब अमेरिकी डलरको थियो । यो बजार सन् २०३० सम्म बढेर ३३ अर्बदेखि ४२ अर्ब अमेरिकी डलरबीच पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

यस वृद्धिले कृत्रिम बुद्धिमत्तामा आधारित विज्ञापन प्रविधि तथा नवप्रवर्तनमुखी कम्पनीहरूलाई ठूलो प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

रेडसिरले प्रतिवेदनमा कृत्रिम बुद्धिमत्ताले विज्ञापन उद्योगमा केवल नयाँ प्रविधि थप्ने काम मात्र गरिरहेको छैन, यसले सम्पूर्ण प्रणालीलाई नयाँ ढङ्गले परिभाषित गरिरहेको बताएको छ । मेसिन लर्निङमा आधारित बोलकबोल प्रणाली, पहिचान संरचना, ट्रान्सफर्मरमा आधारित सिफारिस प्रणाली तथा स्वचालित विज्ञापन संरचनाले विज्ञान बजारमा रहेको परम्परागत संरचनालाई विस्थापित गरिसकेका छन् ।

प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा प्रविधि कम्पनीहरू अब केवल प्राविधिक सेवा प्रदान गर्ने भूमिकामा सीमित छैनन् । उनीहरू विश्वव्यापी उत्पादन कम्पनीका रूपमा उदाइरहेका छन् र सफ्टवेयर तथा मञ्चमा आधारित बढी लाभदायी व्यावसायिक मोडल अपनाइरहेका छन् । कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै जाँदा बलियो तथ्यांक संरचना, उन्नत सञ्जाल प्रणाली तथा आधुनिक कृत्रिम बुद्धिमत्ता क्षमतायुक्त खुला प्रविधि वातावरण भविष्यको विश्वव्यापी प्रतिस्पर्धाको मुख्य आधार बन्ने प्रतिवेदनले जनाएको छ ।

Read More

कुवेतको अमेरिकी सैन्य आधारमा इरानको आक्रमण, असफल पारेको दाबि

काठमाडौँ । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ । बुधबार बिहान कुवेती सेनाले आफ्नो वायु प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणहरू रोकेको जनाएको छ । कुवेती सेनाले विस्फोटका आवाजहरू वायु प्रतिरक्षा प्रणालीले आक्रमण रोक्दा उत्पन्न भएको बताउँदै नागरिकलाई सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेको छ ।

यद्यपि, इरानी इस्लामिक रिभोलुसनरी गार्डले तीनवटा मिसाइलले कुवेतस्थित अमेरिकी सैन्य अड्डामा सफल प्रहार गरेको दाबी गरेको छ ।

यसअघि सोमबार पनि कुवेतले मिसाइल र ड्रोन आक्रमण विफल पारेको जनाएको थियो । त्यसबेला अमेरिकी केन्द्रीय कमान्डले कुवेतमा रहेका अमेरिकी फौजलाई लक्षित दुई इरानी ब्यालिस्टिक मिसाइल सफलतापूर्वक अवरोध गरिएको र कुनै क्षति नभएको बताएको थियो ।

बुधबार बिहान नै बहराइनमा पनि साइरन बजाइएको छ । बहराइनको गृह मन्त्रालयले नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ । त्यसैबीच इरानले अमेरिकी सेनाले प्रयोग गर्ने कुवेतका दुई वायुसेना अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले मध्यपूर्वभरि आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि इरानको किश्म टापुस्थित सैन्य नियन्त्रण केन्द्रमा प्रहार गरिएको हो । अमेरिकाले इरानबाट कुवेततर्फ प्रक्षेपण गरिएका दुई मिसाइल लक्ष्यमा नपुगी बीचमै खसेको वा टुक्रिएको तथा बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइल अमेरिकी र बहराइनी वायु प्रतिरक्षाले तत्काल खसालेको जनाएको छ ।

इरानी इस्लामिक रिभोलुसनरी गार्डले भने किश्म टापुमाथिको अमेरिकी आक्रमणको जवाफस्वरूप कुवेततर्फ कम्तीमा १० ब्यालिस्टिक मिसाइल प्रहार गरिएको दाबी गरेको छ।  उसले यसलाई प्रारम्भिक प्रतिक्रिया भन्दै अझ कडा प्रतिकारात्मक आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

Read More

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियाको कमब्याक

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ ।

पाकिस्तान टूरमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा हार बेहोरेपनि दोस्रो खेलमा ४१ रनको जित हासिल गर्दै सिरिजमा कमब्याक गरेको हो ।

अस्ट्रेलियाले दिएको २३२ रनको लक्ष्य पछाएको पाकिस्तान ४४ ओभरमा १९० रन बनाउदा अलआउट भएको थियो ।पाकिस्तानका लागि शदाब खानले सर्बाधिक ७१ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर नाथन इलिसले सर्बाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २३१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले सर्बाधिक ३ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि पहिलो खेल पाकिस्तानले ५ विकेटले जितेको थियो । अब सिरिजको अन्तिम खेल विहिबार हुने तालिका छ ।

Read More

चोरसँग प्रतिवाद गर्दा महोत्तरीमा श्रीमान्–श्रीमतीमाथि गोली प्रहार

काठमाडौँ  । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्।

मंगलबार राति घरभित्र प्रवेश गरी चोरीको प्रयास गरिरहेका ५-६ जना अपरिचित व्यक्तिलाई रोक्ने क्रममा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर दुवै जना घाइते भएका हुन् । घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Read More

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । 

शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा डा सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुन् भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।

काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा आजदेखि आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययकको बार्षिक अनुमानमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

Read More

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदैछन् ।

आज पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ । 

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै दोस्रो सेमिफाइनलमा भारत र भुटान पनि खेल्दैछन् । यो खेल राति सवा ८ बजेदेखि शुरु हुने छ । 

समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भू-भागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश  प्रदेशमा तथा  कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन  हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ जेठ २० गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ २० गते बुधबार ईस २०२६ जुन ३ नेपाल सम्बत ११४६ अनालागा तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण तृतिया, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ८ मिनेटदेखि ६ बजेर ५१ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष

आजको दिन आत्मविश्वास र उत्साहले भरिएको रहनेछ। कार्यक्षेत्रमा तपाईंका योजना र प्रयासले सकारात्मक परिणाम दिन सक्छन्। लामो समयदेखि रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ। व्यवसाय गर्नेहरूका लागि नयाँ अवसर देखा पर्न सक्छ। आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि खर्चमा संयम अपनाउनु राम्रो हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ र घरमा खुसीको वातावरण बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर थकान बढ्न नदिन आराममा ध्यान दिनु उचित हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्न सक्छ र नयाँ व्यक्तिसँगको परिचय लाभदायक बन्नेछ।

वृष

आज धैर्य र विवेकको प्रयोग गर्नुपर्ने दिन छ। कार्यक्षेत्रमा साना चुनौतीहरू देखा पर्न सक्छन्, तर तपाईंको अनुभव र समझदारीले समाधान निकाल्न सहयोग गर्नेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। पुरानो लगानी वा प्रयासबाट लाभ मिल्न सक्ने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप बलियो बन्नेछ। घरायसी विषयमा महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा खानपान र आरामतर्फ विशेष ध्यान दिनु राम्रो हुनेछ। अनावश्यक विवाद वा बहसबाट टाढा रहनु फाइदाजनक हुनेछ।

मिथुन

आजको दिन व्यस्त रहने सम्भावना छ। एकैपटक धेरै जिम्मेवारी आउन सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ र केही महत्वपूर्ण काम सम्पन्न हुन सक्छन्। आर्थिक पक्षमा सन्तुलन कायम रहनेछ, तर अनियोजित खर्च बढ्न सक्ने संकेत देखिन्छ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा समझदारी बढ्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सकारात्मक महसुस हुनेछ।

कर्कट

आज परिवार र व्यक्तिगत जीवनमा खुसीको वातावरण बन्न सक्छ। आफन्त वा साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको कदर हुन सक्छ र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम प्राप्त हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पुराना स्वास्थ्य समस्याप्रति सजग रहनु राम्रो हुनेछ। दिनभर सकारात्मक सोच कायम रहनेछ र आत्मविश्वास बढ्नेछ।

सिंह

आज नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ र त्यसबाट राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो देखिए पनि ठूलो लगानी गर्नुअघि राम्रोसँग सोचविचार गर्नु आवश्यक छ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र ऊर्जा स्तर उच्च रहनेछ।

कन्या

आज अध्ययन, अनुसन्धान र नयाँ ज्ञान हासिल गर्नका लागि अनुकूल दिन रहेको छ। कार्यक्षेत्रमा धैर्यका साथ काम गरे राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसायमा साना सुधार देखिन सक्छन्। आर्थिक पक्ष स्थिर रहनेछ। परिवारमा समझदारी र सहयोगको वातावरण कायम रहनेछ। यात्राको सम्भावना बन्न सक्छ र त्यसबाट लाभ प्राप्त हुन सक्छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु राम्रो हुनेछ। आफ्नो लक्ष्यप्रति केन्द्रित रहेमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने दिन छ।

तुला

आज आर्थिक पक्षमा सकारात्मक संकेत देखिन्छन्। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् वा रोकिएको रकम प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी र मित्रहरूको सहयोगले काम सहज बन्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागिता बढ्न सक्छ। नयाँ योजना सुरु गर्न वा पुरानो योजना विस्तार गर्न उपयुक्त समय देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ र मनमा उत्साह कायम रहनेछ।

वृश्चिक

आज मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि तपाईंको क्षमता र लगनशीलताले सफलता दिलाउन सक्छ। आर्थिक पक्षमा सुधार देखिनेछ। परिवारमा कुनै शुभ समाचार प्राप्त हुन सक्छ। सम्बन्धमा विश्वास र पारदर्शिता कायम राख्न सके सम्बन्ध अझ बलियो बन्नेछ। नयाँ योजना वा सोचले भविष्यका लागि राम्रो अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु

आजको दिन उत्साह, उमंग र सकारात्मक ऊर्जाले भरिएको रहनेछ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतले राम्रो परिणाम दिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। दिनभर आशावादी सोच कायम रहनेछ र नयाँ काम सुरु गर्ने आत्मविश्वास प्राप्त हुनेछ।

मकर

आज जिम्मेवारी बढ्न सक्ने दिन हो। कार्यक्षेत्रमा अतिरिक्त कामको भार आउन सक्छ, तर योजनाबद्ध तरिकाले अघि बढे सफलता प्राप्त हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। खर्चमा नियन्त्रण राख्नु लाभदायक हुनेछ। परिवारको सहयोगले मानसिक बल प्रदान गर्नेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनु आवश्यक छ। भविष्यका योजनामा प्रगति हुने संकेत देखिन्छ। धैर्य र अनुशासनले दिन सफल बनाउन मद्दत गर्नेछ।

कुम्भ

आज नयाँ सोच, नयाँ योजना र नयाँ अवसरको दिन हुन सक्छ। कार्यक्षेत्रमा प्रगति देखिनेछ र रोकिएका कामहरू अघि बढ्न सक्छन्। साथीभाइ तथा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्थामा सुधार आउन सक्छ। परिवारभित्र खुसीको वातावरण कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ। कुनै पुरानो चिन्ता हट्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मन प्रसन्न रहनेछ।

मीन

आज मिश्रित परिणाम दिने दिन भए पनि धैर्य र सकारात्मक सोचले राम्रो उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा केही चुनौती देखिए पनि समाधानका बाटा भेटिनेछन्। आर्थिक पक्षमा सावधानी अपनाउनु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति प्रदान गर्नेछ। पुराना कामहरू सम्पन्न गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ योजना बनाउनुअघि सबै पक्षको मूल्यांकन गर्नु उचित हुनेछ। दिनको अन्त्यतिर कुनै सुखद समाचार प्राप्त हुने सम्भावना छ, जसले मनमा नयाँ उत्साह थप्नेछ।

Read More