२०८३ जेष्ठ २३

लुम्बिनीमा पाँच मन्त्री नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाँच मन्त्री नियुक्त गरेका छन् । 

मुख्यमन्त्री आचार्यले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जस अनुसार पाँच जना नयाँ मन्त्रीमा एमालेबाट चार र जसपा नेपालबाट एक जना मन्त्री नियुक्त भएका छन् । एमालेबाट तुलसीप्रसाद चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाइएको छ । त्यस्तै जसपाका भण्डारीलाल अहिर आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।  नवनियुक्त मन्त्रीहरूको शपथ जेठ २५  मा हुने बताइएको छ । 

यसअघि बुधबार दिउँसो एमालेका चारजना मन्त्रीले राजीनामा दिएका थिए । सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली काँग्रेसले प्रदेश सरकारको नेतृत्व नै आफुले पाउनुपर्ने बताइरहेका बेला मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । काँग्रेसले एमालेसँगको सहमति अनुसार गत फागुनमै आफुले सरकारको नेतृत्व पाउनुपर्ने दाबि गरिरहेको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५३७० मा कारोबार भएको थियो ।

Read More

तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वी राजमार्गमा एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६: २० बजे पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित ६ जना तथा मिनी ट्रक चालक एक जना गरी सात जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा रोल्पाको थवाङ गाउँपालिका–२ निवासी २४ वर्षीय एम्बुलेन्स चालक कुशल परियार, ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, उनका ३ वर्षीय छोरा युवान बुढा मगर, पूर्वी रुकुमको भूमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ निवासी ६० वर्षीय धनप्रसाद बुढा मगर तथा मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ निवासी ३८ वर्षीय महेन्द्र रानाभाट रहेका छन्।

घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । 

बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

Read More

डन–३ विवाद: रणवीर सिंहविरुद्धको असहयोग निर्देशन फिर्ता

काठमाडौँ । बलिवुड फिल्म डन–३ विवादमा अभिनेता रणवीर सिंह र फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजबीच देखिएको विवादमा नयाँ मोड आएको छ । फेडेरेसनले रणवीर सिंहविरुद्ध जारी गरेको असहयोग निर्देशन फिर्ता लिएको घोषणा गरेको छ ।

फेडेरेसनले विभिन्न चलचित्रसम्बद्ध संस्थाहरूको आग्रहपछि असहयोग आदेश फिर्ता लिइएको जनाएको हो । फेडेरेसनका अनुसार चलचित्र निर्माता संगठन, निर्माता गिल्ड तथा चलचित्र तथा टेलिभिजन कलाकार संगठनलगायत निकायहरूले उद्योगको व्यापक हितलाई ध्यानमा राख्दै उक्त निर्णय पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

यसअघि फेडेरेसनले रणवीर सिंहविरुद्ध असहयोग निर्देशन जारी गर्दै आफ्ना सदस्य, प्राविधिक र कर्मचारीहरूलाई अभिनेता संलग्न परियोजनामा काम नगर्न आग्रह गरेको थियो । फेडेरेसनको रणवीरले फिल्म डन–३ को छायांकन सुरु हुनुअघि नै परियोजना छाडेका कारण निर्मातालाई ठूलो आर्थिक क्षति पुगेको आरोप थियो । यो विषय चलचित्र तथा टेलिभिजन निर्देशक संगठनमार्फत फेडेरेसनसम्म पुगेपछि रणवीरविरुद्ध असहयोग आदेश जारी गरिएको थियो ।

विवादबीच रणवीर सिंहले पनि फेडेरेसनविरुद्ध कानुनी कदम चाल्दै कानुनी सूचना पठाएका थिए । फेडेरेसनका प्रमुख सल्लाहकार अशोक पण्डितले सूचना प्राप्त भएको पुष्टि गरेका छन् । फेडेरेसनले भने असहयोग आदेश फिर्ता लिनु कुनै कानुनी दबाबका कारण नभई उद्योगसम्बद्ध संस्थाहरूको अनुरोधका आधारमा भएको स्पष्ट पारेको छ । साथै रणवीरले पठाएको कानुनी सूचनाको विधिसम्मत जवाफ दिइने र आवश्यक कानुनी अधिकार प्रयोग गरिने जनाएको छ ।

उद्योग वृत्तमा यो निर्णयलाई रणवीर सिंहका लागि ठूलो राहतका रूपमा हेरिएको छ । यससँगै उनका वर्तमान तथा आगामी चलचित्र परियोजनामाथि देखिएको अनिश्चितता तत्कालका लागि हटेको बताइएको छ ।

Read More

कङ्गोमा इबोला नियन्त्रणमा चुनौती

काठमाडौँ । अफ्रिकी देश कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम घेब्रेयेससले परीक्षण तथा प्रयोगशाला सुविधामा सुधार भए पनि संक्रमण नियन्त्रणको प्रयास अझै पर्याप्त नभएको बताएका छन् । उनका अनुसार इबोलाको प्रकोप धेरै अघि बढिसकेको अवस्थामा स्वास्थ्य निकायहरू त्यसलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् ।

कङ्गोको पूर्वी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिँदा स्वास्थ्य संकट झन् जटिल बनेको छ । नर्थ किभु प्रान्तको बेनी क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध उग्रवादी समूह एलाइड डेमोक्रेटिक फोर्सेजले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अनुसार कङ्गो र युगान्डाको संयुक्त सैन्य कारबाहीको प्रतिशोधस्वरूप उक्त आक्रमण गरिएको हो। यसअघि पनि उग्रवादीहरूले सीमावर्ती गाउँहरूमा आक्रमण गरी दर्जनौँ मानिसको ज्यान लिएका थिए। लगातारको हिंसा र असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन्।

मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोपपछि कङ्गोमा हालसम्म इबोलाका ३४४ संक्रमित फेला परिसकेका छन् । तीमध्ये ६० जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि संक्रमण फैलिएको छ, जहाँ १५ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु भएको छ । शंकास्पद बिरामीको संख्या केही घटे पनि विज्ञहरूले वास्तविक अवस्था तथ्यांकले देखाएभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

हालै सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएका टेड्रोसले प्रयोगशाला क्षमता विस्तार गरिएको र संक्रमण पहिचान गर्ने प्रक्रिया पहिलेभन्दा छिटो भएको बताएका छन् । उनले त्यहाँ देखिएको प्रगतिले आशा जगाएको भए पनि चुनौतीहरू अझै ठूलो रहेको उल्लेख गरे । उनले इबोलाको डरका कारण कङ्गोसँग आवतजावतमा प्रतिबन्ध लगाएका देशहरूलाई ती प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् । उनका अनुसार यस्ता प्रतिबन्धले औषधि, स्वास्थ्य सामग्री र राहत कार्यमा असर पुर्‍याइरहेको छ ।

विज्ञहरूका अनुसार इबोला नियन्त्रणका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको पहिचान र निगरानी अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल केवल ४५ प्रतिशत सम्पर्कहरूको मात्र निगरानी भइरहेको छ, जबकि संक्रमण नियन्त्रणका लागि यो दर ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । असुरक्षा, विस्थापन र जनसंख्याको निरन्तर आवागमनका कारण यो काम चुनौतीपूर्ण बनेको छ ।

यसपटक फैलिएको इबोला भाइरस ‘बुन्डिबुग्यो’ प्रकारको भएको बताइएको छ, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । विज्ञहरूका अनुसार सम्भावित खोप विकास गरी प्रभावित क्षेत्रमा पुर्‍याउन अझै केही महिना लाग्न सक्छ। यद्यपि हालसम्म कम्तीमा पाँच जना बिरामी निको भएको जानकारी सार्वजनिक भएकाले केही आशा कायम रहेको छ ।

स्वास्थ्य अधिकारीहरूका लागि अर्को ठूलो समस्या स्थानीय समुदायमा फैलिएका भ्रम र गलत धारणाहरू हुन् । धेरै मानिसहरूले अझै इबोला भाइरसको अस्तित्वमै विश्वास नगरेकाले संक्रमितहरू समयमै उपचारका लागि नआउने गरेका छन्। केही क्षेत्रमा स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमाथि आक्रमणसमेत गरेका छन् भने आफन्तको शव फिर्ता लैजान खोजेका घटनाहरू पनि भएका छन्। यसले संक्रमण फैलिने जोखिम थप बढाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Read More

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा सबै आरोपबाट मुक्त

काठमाडौँ । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानुनी दायित्व औपचारिक रूपमा पूरा गरेका छन् । राजाबाट प्राप्त शाही आममाफीपछि उनको चार महिनाको पैरोल अवधि निर्धारित समयअघि नै समाप्त गरिएको छ ।

७६ वर्षीय अर्बपति व्यवसायी तथा लोकप्रिय राजनीतिक नेता थाक्सिन गत महिना बैंककको कारागारबाट रिहा भएका थिए । दुई दशकभन्दा बढी समयदेखि थाइल्यान्डको राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका उनी रिहापछि पनि सत्तारुढ फेउ थाई पार्टीमा आफ्नो प्रभाव कायम राख्न सक्ने चर्चा भइरहेको छ । यद्यपि उनको परिवारले थाक्सिन सक्रिय राजनीतिबाट टाढा रहन चाहेको जनाएको छ । 

थाइल्यान्डका राजा महा वाचिरालोङ्कोर्नद्वारा जारी शाही आममाफी आदेश मंगलबार राति राजकीय राजपत्रमा प्रकाशित भएको थियो भने बुधबारदेखि लागू भएको हो । संवैधानिक राजतन्त्र रहेको थाइल्यान्डमा दोषी ठहरिएका व्यक्तिलाई आममाफी दिने अन्तिम अधिकार राजासँग रहने व्यवस्था छ ।

रानी सुतिदाको जन्मदिनको अवसरमा जारी गरिएको उक्त आममाफी निश्चित मापदण्ड पूरा गरेका कैदीहरूमा लागू गरिएको थियो । पैरोलमा रहेका र एक वर्षभन्दा कम सजाय बाँकी रहेका कारण थाक्सिन पूर्ण रिहाइका लागि योग्य ठहरिएका थिए ।

दूरसञ्चार क्षेत्रका प्रभावशाली व्यवसायी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक दल स्थापना गरेका थिए । उनी सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री रहे । तर सन् २००६ मा सैन्य विद्रोह भएपछि विदेश भ्रमणमा रहेका बेला उनी सत्ताच्युत भएका थिए ।

उनको सत्ताच्युतिपछि करिब दुई दशकसम्म थाइल्यान्डमा राजनीतिक ध्रुवीकरण कायम रह्यो । स्वनिर्वासनमा रहे पनि उनीसँग सम्बन्धित राजनीतिक दलहरू पटक–पटक सत्तामा फर्किएका थिए । विशेषगरी ग्रामीण उत्तर र उत्तरपूर्वी क्षेत्रमा रहेका गरिब मतदातामाझ उनका जनमुखी कार्यक्रम लोकप्रिय थिए । तर उनको बढ्दो प्रभाव र केही कठोर निर्णयका कारण समर्थक तथा शहरी अभिजात वर्ग, राजतन्त्र समर्थक र सेनाबीच गहिरो विभाजन पनि देखिएको थियो ।

थाक्सिनलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको थियो । सजायको आठ महिना पूरा गरेपछि गत जेठ २८ गते उनी रिहा भएका थिए । पैरोल अवधिमा उनले विद्युतीय निगरानी उपकरण लगाउनुपर्ने व्यवस्था थियो ।

उनका कानुन व्यवसायीले समाचार संस्था एसोसिएटेड प्रेससँग कुरा गर्दै थाक्सिन अब सबै कानुनी दायित्वबाट मुक्त भएको पुष्टि गरेका छन् । यद्यपि निगरानी उपकरण हटाउने प्रक्रियामा केही दिन लाग्न सक्ने जनाइएको छ ।

थाक्सिनलाई आफ्नो व्यावसायिक स्वार्थका लागि पदको दुरुपयोग गरेको तथा सरकारलाई नोक्सानी पुग्ने राज्य लटरी परियोजनालाई अवैध रूपमा स्वीकृति दिएको आरोपमा दोषी ठहर गरिएको थियो । सन् २०२३ मा उनलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको भए पनि राजाले उक्त सजाय घटाएर एक वर्षमा सीमित गरेका थिए ।

स्वास्थ्य अवस्थाका कारण उनले सजायको अवधि बैंककस्थित प्रहरी अस्पतालको विशेष कक्षमा बसेर पूरा गर्न पाएका थिए । तर विशेष सुविधा दिइएको भन्दै विरोध भएपछि सर्वोच्च अदालतले सन् २०२५ को सेप्टेम्बरमा उनलाई कारागारमै सजाय भुक्तान गर्न आदेश दिएको थियो ।

Read More

भक्तपुरमा श्रीमतीको हत्या गरेका व्यक्ति पक्राउ

काठमाडौँ । भक्तपुरबाट श्रीमतीको हत्या गरेका ३८ बर्षिय विदुर विश्वकर्मा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१० छालीङ रोद स्थित आर्मी ब्यारेक नजिक डेरा गरि बस्ने विश्वकर्माले आफ्नी श्रीमती ३३ बर्षिय सलिना तोलाङगे विश्वकर्मालाई आफ्नै डेरामा घरायसी विवादका क्रममा  खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनका ८ बर्षिय छोरा समेत घाइते भएको प्रहरीले बताएको छ । प्रहरीले हाल विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।    

Read More

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै यस दिनले विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको बताएका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको बताएका हुन् ।

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ । 

राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गरेका छन् ।

जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि समाजका सबै तह/वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएको बताएका छन् । दिवसले विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पुनः स्मरण गराएको उनको भनाइ छ।  

उनले भनेका छन्- ‘जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदको विरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन हार्दिक आह्वान गर्दछु ।’

Read More

विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यमलको फिटनेसलाई लिएर विश्वकप अघि ठूलो अनिश्चितता देखिएको छ । विश्व फुटबलमा सबैभन्दा चम्किला प्रतिभामध्ये एक मानिने यमल चोटका कारण प्रतियोगिताबाट बाहिरिन सक्ने खतरा बढेको छ ।

१८ वर्षे यमलले युरो २०२४ मा शानदार प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए । त्यसपछि बार्सिलोनाका लागि पनि उनी लगातार प्रभावशाली बनेका थिए । तर पछिल्लो सिजनको अन्त्यतिर उनलाई पछाडिको तिघ्रा मांसपेशीमा चोट लागेपछि अवस्था जटिल बनेको हो ।

अप्रिल २२ मा सेल्टा भिगोविरुद्धको खेलमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि उनी मैदानमै ढलेका थिए । त्यसपछि उनी अझै मैदान फर्किन सकेका छैनन् । प्रारम्भमा चोट सामान्य देखिए पनि पछि यो गम्भीर भएको पुष्टि भएको थियो । चिकित्सकहरूले करिब दुई महिनासम्म आराम आवश्यक पर्न सक्ने बताएका थिए ।

यसैबीच बार्सिलोना र स्पेनिस फुटबल संघबीच उनको उपचार र तयारीलाई लिएर निरन्तर समन्वय भइरहेको छ । बार्सिलोनाले भने यमल विश्वकपका लागि उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले उनलाई २६ सदस्यीय टोलीमा समावेश गरेका छन् । तर उनी सुरुदेखि नै खेल्न सक्ने अवस्थामा हुने कि नहुने भन्ने अझै स्पष्ट छैन । रिपोर्ट अनुसार यमलले समूह चरणका पहिलो दुई खेल गुमाउन सक्ने सम्भावना छ । स्पेनले समूह चरणमा केप भर्डे र साउदी अरेबियासँग खेल्नेछ भने उरुग्वेसँग अन्तिम खेल हुनेछ ।

प्रशिक्षक दे ला फुएन्तेले भने टोलीमा गहिरो विकल्प भएकाले तत्काल ठूलो समस्या नहुने बताएका छन् । उनले यमल पूर्ण रूपमा फिट नभए पनि पछि महत्वपूर्ण समयमा मैदानमा उतार्न सकिने संकेत दिएका छन् ।

स्पेनसँग यमलको अनुपस्थितिमा पनि आक्रमणमा विकल्प छन् । येरमी पिनो र भिक्टर मुनोज जस्ता खेलाडीले उनको स्थान सम्हाल्न सक्ने सम्भावना छ । यस्तै निको विलियम्स पनि चोटबाट फर्किने तयारीमा छन् । तर स्पेनका लागि मुख्य चिन्ता नकआउट चरणमा यमल पूर्ण रूपमा फिट नभएमा के गर्ने भन्ने हो । किनभने युरोपेली विजेता स्पेनले अन्तिम ३२ मा अस्ट्रिया वा अल्जेरिया जस्ता बलिया टोलीसँग सामना गर्नुपर्ने सम्भावना छ ।

यसअघि यमलले युरो २०२४ मा अन्तिम चरणका खेलहरूमा निर्णायक भूमिका खेलेका थिए । त्यसैले उनलाई स्पेनको भविष्यको प्रमुख खेलाडीका रूपमा हेरिएको छ ।

विश्वकप नजिकिँदै गर्दा यमलको फिटनेसलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यदि उनी समयमै फर्किन सके भने स्पेनका लागि उपाधि यात्रामा ठूलो शक्ति बन्न सक्छन्, तर ढिलाइ भएमा प्रतियोगिताको चमक नै प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

विश्वकपमा समुह एचमा रहेको स्पेनले पहिलो खेल जुन १५ मा केप भेर्ड़ेसँग खेल्ने छ भने दोस्रो खेल जुन २१ मा साउदी अरेबियासँग र तेस्रो खेल जुन २६ मा उरुग्वेसँग खेल्ने तालिका छ । त्यसअघि स्पेनले जुन ४ मा आफ्नै मैदान आ कोरुनामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन ८ मा मेक्सिकोको पुएब्लामा पेरुसँग अर्को अभ्यास खेल खेल्ने तालिका छ ।

Read More