२०८३ जेष्ठ २३

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको प्रदर्शन उल्लेखनीय

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६६.९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको ६९औँ लाइसेन्स परीक्षामा सहभागी २ हजार २६३ मध्ये १ हजार ५१५ जना सफल भएका हुन्।

काउन्सिलका अनुसार नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीहरूको उत्तीर्ण दर उल्लेखनीय रूपमा उच्च देखिएको छ भने विदेशमा अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी असफल भएका छन्। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार नतिजाले स्वदेशी चिकित्सा शिक्षाको तुलनात्मक रूपमा सुदृढ प्रदर्शन देखाएको छ।

एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी १ हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना उत्तीर्ण भएका छन्, जुन ७६.७९ प्रतिशत हो। यस्तै, बीडीएसतर्फ पनि स्वदेशी कलेजको नतिजा उत्कृष्ट देखिएको छ। नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना (८५.७५ प्रतिशत) सफल भएका छन्।

विदेशबाट अध्ययन गरी आएका विद्यार्थीहरूको नतिजा भने कमजोर देखिएको छ। चीनबाट आएका १३३ परीक्षार्थीमध्ये २० जना (१५.०४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। बङ्गलादेशबाट आएका ३६७ मध्ये १५१ जना (४१.१४ प्रतिशत), भारतबाट एमबीबीएस अध्ययन गरी आएका परीक्षार्थीमध्ये ४२.३१ प्रतिशत तथा फिलिपिन्सबाट अध्ययन गरेका मध्ये २८.५७ प्रतिशत मात्र सफल भएका छन्।

इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी फर्किएका परीक्षार्थी भने यस पटकको परीक्षामा उत्तीर्ण हुन नसकेको काउन्सिलले जनाएको छ।

संस्थागत प्रदर्शनतर्फ एमबीबीएसमा चितवन मेडिकल कलेज ९३.१० प्रतिशत उत्तीर्ण दरसहित शीर्ष स्थानमा रहेको छ। त्यसपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७ प्रतिशत नतिजासहित उत्कृष्ट संस्थामा परेका छन्। बीडीएसतर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी (१०० प्रतिशत) सफल भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. पाण्डेका अनुसार विदेशमा अध्ययन गरी आएका परीक्षार्थीहरूको कमजोर नतिजाको प्रमुख कारण भाषागत अवरोध र पाठ्यक्रमगत भिन्नता रहेको बताइएको छ।

Read More

क्यानले टाइम आउटको घटनामा भुटानी क्रिकेटसँग माग्यो माफी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आज भएको एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा भुटानी ब्याटरलाई टाइम आउट दिएको विषयप्रति दुख व्यक्त गर्दै भुटान क्रिकेटसँग माफी मागेको छ ।

क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टाइम आउटको घटना क्रिकेटको मूल भावना र मूल्यसँग मेल नखाने भन्दै भुटान क्रिकेट संघ, सम्बन्धित खेलाडी तथा सबै सरोकारवालाप्रति पनि संघले क्षमायाचना गरेका हुन् ।

आज भएको खेलमा ढिलो गरि मैदानमा आएकी भुटानी ब्याटर रित्शी छोडेनविरुद्ध नेपालको अपिलपछि आउट दिइएको थियो ।  

महिला राष्ट्रिय टोलीको उक्त व्यवहारप्रति गहिरो खेद व्यक्त गर्दै सचिव खड्काले नियमअनुसार आउट दिइए पनि खेलको भावना केवल नियममा मात्र सीमित नहुने र स्पोर्ट्सम्यानसिप सधैं केन्द्रमा रहनुपर्ने उल्लेख गरेका छन् ।

विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा नेपालले खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राख्ने जनाउदै खड्काले यो घटनाले ती मूल्यहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसले पारेको असन्तुष्टिप्रति पनि दुःख व्यक्त गरेका छन् ।

साथै उनले भविष्यमा खेलको मैदानभित्र र बाहिर दुवै ठाउँमा उच्च इमानदारी र क्रिकेटको भावना कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

Read More

समुदायिक विद्यालयमा कार्यरत कर्मचारीले राखे तलब वृद्धिसहितका माग, पुरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । देशभरका समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले तलब वृद्धिसहितका माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषदले बजेटमा सबै राष्ट्र सेवक कर्मचारीको तलब १० प्रतिशत, तलबको १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार महंगी भत्ता तोकिदा  नेपालभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गस्राएको छ ।

परिषदले विद्यालय कर्मचारीको दरवन्दी, सेवा-सर्त सम्बन्धी स्पष्ट कानुनी व्यवस्था सहितको संघिय शिक्षा ऐन जारी गर्न, उक्त ऐनमा विद्यालय कर्मचारीको तलब भत्ता सेवा तथा सुविधाहरु निजामति सरह हुनेगरी संघीय बजेटबाट व्यवस्था गर्न, ऐन जारी नहुदाँ सम्मका लागी हाल विद्यालय कर्मचारीहरुलाई संघिय सरकारवाट प्राप्त हुदै अइरहेको पारिश्रमिक (विद्यालय कर्मचारीलाई मासिक १५००० र विद्यालय सहयोगीलाई मासिक १००००) वृद्धि गरि आ.व. २०८३।०८४ देखिनै लागु हुनेगरी तलव भत्ता विद्यालय कर्मचारी (लेखापाल) को ना.सु. वा सो सरह र सहयोगी कर्मचारीको सहयोगी प्रथम स्तर सरह हुनेगरी संघिय सरकारवाट व्यस्थापन गर्न माग गरेको छ ।

त्यस्तै विद्यालयमा राष्ट्रिय मापदण्ड अनुसार विद्यालमा विद्यालय कर्मचारीको दरवन्दी कायमगरी हाल कार्यरत कर्मचारीहरुलाई अनुभवका आधारमा दरवन्दीमा राखी स्थायीको लागी व्यवस्था गर्न, विद्यालय कर्मचारीको पदोन्नति तथा स्तरवृद्धि प्रणाली लागू गर्न, विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षा, स्वास्थ्य बीमा तथा निवृत्तिभरणको व्यवस्था गर्न, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन गर्न र ६० वर्ष पुगेर अवकास भएका तथा सेवामै रहेका कर्मचारीहरुलाई सेवावाट हटाउदा सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्न माग गरेको छ ।

परिषदले मागहरू सम्बोधन भएमा देशभरका विद्यालय कर्मचारीहरूको मनोबल उच्च भई विद्यालय प्रशासनलाई थप प्रभावकारी बनाउन महत्वुर्ण भूमिका खेल्ने तथा सम्वोधन नभएमा दोस्रो चरणका काठमाडौँ केन्दित सशक्त आन्दोलन गर्ने बताएको छ ।

Read More

एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुदै सेमिफाइनलमा

काठमाडौँ । नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।

एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन मात्र बनाएको थियो ।

मलेसियाका लागि कप्तान सयेद अजिजले सर्बाधिक ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो । त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत मलेसिया उपविजेता हुदै सेमिफाइनल खेल्ने छ । नेपाल र मलेसिया दुवै एशियन गेम्समा यसअघि नै छनौट भैसकेका छन् ।

अब नेपालले सेमिफाइनलमा कुन देशसँग खेल्छ भन्ने समुह बि का समुह चरणका खेलपछि टुंगो लाग्ने छ ।

Read More

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५३ कम्पनिका एक करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर १०.४८ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको ३४ करोड बराबर कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३२ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

Read More

इरान–अमेरिका सम्बन्धमा तनाव कायमै, ट्रम्पले युद्धविराम पुनरावलोकन गर्न सकिने संकेत

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि हुने सम्भावित आक्रमणका घटनामा इरान जिम्मेवार ठहरिए वर्तमान सुरक्षा तथा कूटनीतिक नीतिको पुनः समीक्षा गर्न सकिने संकेत दिएका छन्। अमेरिकी प्रशासनका अधिकारीहरूका अनुसार ट्रम्पले आवश्यक परे इरानसँग सम्बन्धित युद्धविराम व्यवस्थासमेत पुनर्विचारको विषय बन्न सक्ने बताएका हुन्।

अमेरिकी अधिकारीहरूले क्षेत्रीय तनाव र छिटपुट हिंसात्मक घटनाका बीच पनि हाल लागू रहेको हवाई कारबाहीसम्बन्धी अस्थायी विराम यथावत् रहेको जानकारी दिएका छन्। यसले तत्काल व्यापक सैन्य अभियानतर्फ नबढ्ने वासिङ्टनको प्राथमिकता देखाए पनि परिस्थितिअनुसार नीति परिवर्तन हुन सक्ने संकेत गरेको विश्लेषण गरिएको छ।

राजनीतिक तथा सुरक्षा विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले इरानसँग प्रत्यक्ष ठूलो सैन्य द्वन्द्व टार्न खोजेको देखिए पनि सीमित स्तरका उक्साहटपूर्ण घटनाप्रति केही समय संयम अपनाउने रणनीति लिन सक्ने अवस्था देखिएको छ। यसलाई पश्चिम एसियामा थप अस्थिरता रोक्ने प्रयासका रूपमा पनि हेरिएको छ।

यसैबीच, अमेरिका र इरानबीच जारी कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति हुन नसकेको जनाइएको छ। तेहरानले रोक्का गरिएका अर्बौं डलर बराबरका वित्तीय सम्पत्ति प्रारम्भिक चरणमै फुकुवा गर्नुपर्ने माग दोहोर्‍याएपछि वार्ता जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

स्रोतहरूका अनुसार पछिल्ला हप्ताहरूमा प्रत्यक्ष वार्तासँगै अनौपचारिक तथा गोप्य कूटनीतिक संवादसमेत तीव्र पारिएको भए पनि दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा सहमति अझै टाढा देखिएको छ। मध्यस्थकर्ताहरूले विभिन्न विकल्प प्रस्तुत गरे पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन।

अमेरिकी पक्षले भने आणविक कार्यक्रम तथा क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दामा स्पष्ट प्रगति नभएसम्म कुनै आर्थिक रियायत उपलब्ध नगराइने अडान दोहोर्‍याएको छ। अधिकारीहरूका अनुसार वित्तीय सम्पत्ति फुकुवा गर्ने विषयलाई व्यापक सम्झौतासँग जोडेर हेरिएको छ।

यद्यपि राष्ट्रपति ट्रम्पले इरानसँगको संवाद पूर्ण रूपमा अवरुद्ध नभएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरे। उनले सम्भावित सम्झौताबारे कुनै निश्चित निष्कर्षमा पुग्न नसकिने उल्लेख गर्दै परिस्थितिअनुसार परिणाम छिट्टै आउन पनि सक्ने र नआउन पनि सक्ने बताए।

ट्रम्पले इरानसँगको सम्बन्ध सुधार भए रणनीतिक महत्वको हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा फर्किने विश्वास व्यक्त गरेका छन्। उनले उक्त समुद्री मार्ग क्षेत्रीय तथा विश्वव्यापी व्यापारका लागि महत्वपूर्ण रहेको उल्लेख गरे।

इरानको संवर्धित युरेनियम भण्डारणबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यसको सुरक्षित व्यवस्थापनका लागि आवश्यक प्राविधिक क्षमता अमेरिका र चीनसँग रहेको दाबी गरेका छन्। उनले संवेदनशील आणविक सामग्री सुरक्षित नियन्त्रणमा राख्नुपर्ने आवश्यकता औँल्याए।

उता, अमेरिकी प्रतिनिधिसभाले इरानसँग सम्बन्धित सैन्य कारबाहीमा कार्यकारी अधिकार सीमित गर्ने उद्देश्यसहित डेमोक्रेटिक सांसदहरूको प्रस्ताव पारित गरेको छ। २१५–२०८ मतले स्वीकृत उक्त प्रस्तावमा केही रिपब्लिकन सांसदहरूले पनि समर्थन जनाएका थिए।

पर्यवेक्षकहरूका अनुसार प्रतिनिधिसभाको यो निर्णयले ट्रम्प प्रशासनको मध्यपूर्व नीति र सम्भावित सैन्य संलग्नताबारे अमेरिकी राजनीतिक वृत्तमा बढ्दो बहसलाई प्रतिबिम्बित गरेको छ।

विश्लेषकहरूको भनाइमा पछिल्ला घटनाक्रमले अमेरिका–इरान सम्बन्ध अझै संवेदनशील र जटिल अवस्थामा रहेको देखाएको छ। कूटनीतिक संवाद जारी रहे पनि सुरक्षा चुनौती र सम्भावित सैन्य तनावका विषय समानान्तर रूपमा कायम रहेका छन्।

Read More

‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ भैँसी बङ्गलादेशमा आकर्षणको केन्द्र

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी बङ्गलादेशभरि आकर्षणको केन्द्र बनेको छ।

सुनौलो कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम तौल भएको उक्त भैँसीलाई हालै ढाकास्थित राष्ट्रिय चिडियाखानामा सारिएपछि आगन्तुकहरूको भीड बढेको छ। सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि देशका विभिन्न भागबाट मानिसहरू यसलाई हेर्न चिडियाखाना पुगिरहेका छन्।

इद अल–अधाका लागि बलिदान गर्ने उद्देश्यले राखिएको भैँसीलाई सुरक्षा कारण देखाउँदै सरकारले चिडियाखानामा स्थानान्तरण गरेको थियो। चिडियाखानामा यसको नामकरणलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई रोचक मानेका छन् भने केहीले विश्व नेताको नाम जनावरसँग जोड्नु अनुपयुक्त भएको बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामसहितको सूचना बोर्ड राखिएको भए पनि पछि हटाइएको छ। हाल उक्त दुर्लभ भैँसी सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको प्रमुख विषय बनेको छ।

Read More

अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जबाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयासअन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको जानकारी गराएका छन् ।

शिक्षा मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म रु १० करोड ४६ लाख भन्दा बढी रकम फिर्ता भएको छ । यससँगै थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको मन्त्री पोखरेलले उल्लेख गरे ।

मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेका छन् ।

उनले सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त अवसरको उपयोगपछि सेवामा नफर्किने प्रवृत्तिका कारण विश्वविद्यालयले आर्थिक, शैक्षिक तथा नैतिक क्षति बेहोर्दै आएको भन्दै विश्वविद्यालयको साख गिराउने किसिमका यस्ता क्रियाकलाप आगामी दिनमा दोहोरिन नहुनेमा उनको जोड छ ।

मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्न त्रिविलाई प्रोत्साहित गरेको र त्यसपश्चात् गरिएको छानबिन तथा कानुनी प्रक्रियाका आधारमा रकम फिर्ता हुने क्रम तीव्र बनेको मन्त्री पोखरेलले जानकारी दिए ।

उनले यो उपलब्धि केवल आर्थिक रकम असुलीमा सीमित नभई सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने, संस्थागत अनुशासन कायम गर्ने तथा उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप मजबुत बनाउँदै सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आफ्नो प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे ।

अध्ययन बिदाको दुरुपयोग गरी त्रिविलाई हानी नोक्सानी पुराएकोबारे सरकारले चासो लिएपछि अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेका छन् । त्रिविका अनुसार हालसम्म ४१ प्राध्यापकले रकम फिर्ता गरेका छन् । यसबाट रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम जम्मा भएको छ । अध्ययन बिदामा बसेर नफर्किने एक सय ९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेका । ६२ जनाले रकम फिर्ताका लागि  समितिसमक्ष निवेदन दिएका छन् । यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ । यस सम्बन्धी ११ केस सम्पर्कमा आएका छन् भने ६४ केस अध्ययनको क्रममा रहेको छ ।

त्रिविका प्राध्यापक नफर्किँदा दुई अर्ब बढीको नोक्सानी भएको जनाइएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्ष र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । मन्त्रालयको पहलपछि त्रिविले छानबिन समिति बनाएर अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी गरी उनीहरूबाट रकम असुली गरिरहेको छ ।

यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न डा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेका छन् । 

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ । यसबाट त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको जनाइएको छ ।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी कुल ३९८ प्राध्यापक छन् । 

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

Read More

फाकफोकथुममा दुग्ध व्यवसायको सफल कथा : सहकारीमार्फत किसानको आम्दानी र आत्मनिर्भरता बढ्दै

काठमाडौं ।  बिहान ३ बज्नुअघि नै फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका शेषकान्त खनालको दिनचर्या सुरु हुन्छ। गाईगोठ सरसफाइ, गोबर व्यवस्थापन, गाईलाई नुहाइदिने, दूध दुहुने र दाना–पानी खुवाउने काममा व्यस्त रहने उनी दुग्ध व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।

दुई वटा गाईबाट दैनिक करिब ३५ लिटर दूध उत्पादन गर्ने खनाल दूध सङ्कलन केन्द्रमा बिक्री गरेर घर फर्किन्छन्। दुग्ध सहकारीले उचित मूल्य उपलब्ध गराएकाले गाईपालनप्रति थप उत्साह बढेको उनी बताउँछन्।

फुएतप्पास्थित थामडाँडा पशुपालन सहकारी संस्थामा हाल ८४ परिवार आबद्ध छन्। तीमध्ये ४५ परिवार नियमित रूपमा दूध उत्पादन तथा बिक्रीमा संलग्न छन्। सहकारीका सह–सचिव ढाकाबहादुर मगर पनि सफल दुग्ध किसानमध्ये एक हुन्। केही समयअघि दैनिक ७२ लिटर दूध बिक्री गर्ने गरेका उनले हाल चार वटा उन्नत जातका गाईबाट दैनिक ४८ लिटर दूध उत्पादन गरिरहेका छन्।

“व्यावसायिक रूपमा पशुपालन गर्न सके राम्रो आम्दानी सम्भव छ,” मगरले भने।

सहकारीमा दैनिक करिब ९५० लिटर दूध सङ्कलन हुने गरेको छ। किसानले दूधको गुणस्तरअनुसार प्रतिलिटर ५५ देखि ७५ रुपैयाँसम्म मूल्य प्राप्त गर्छन्। सहकारीका अध्यक्ष हरिप्रसाद दङ्गालीका अनुसार दूधको मूल्य ‘ल्याक्टो’ र ‘फ्याट’को आधारमा निर्धारण गरिन्छ। घिउ र छुर्पीको बजार मूल्यअनुसार किसानलाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

दूध सङ्कलनमा मात्र सीमित नरही सहकारीले मूल्य अभिवृद्धिमार्फत पनि आम्दानी बढाइरहेको छ। संस्थाले मासिक करिब १२ क्विन्टल छुर्पी र सात क्विन्टल घिउ उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू स्वदेशी बजारसँगै विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारी सदस्य सुजन श्रेष्ठले उत्पादन सङ्कलन तथा बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन्।

अध्यक्ष दङ्गालीका अनुसार सहकारीको मासिक कारोबार १२ देखि १५ लाख रुपैयाँसम्म पुग्ने गरेको छ। सञ्चालन खर्च कटाएर मासिक करिब डेढ लाख रुपैयाँ बचत हुने गरेको उनले बताए।

उत्पादन वृद्धि गर्न सहकारीले प्रोत्साहनमूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। मासिक ६०० लिटर दूध बिक्री गर्ने किसानलाई एक बोरा ब्रान, ९०० लिटर बिक्री गर्ने किसानलाई दुई बोरा तथा त्यसपछिका प्रत्येक ३०० लिटर उत्पादनमा थप एक बोरा ब्रान उपलब्ध गराइन्छ। यसले किसानबीच स्वस्थ प्रतिस्पर्धा र उत्पादन वृद्धिमा सहयोग पुगेको सहकारीकी उपाध्यक्ष भोजकुमारी खनाल बताउँछिन्।

सह–सचिव मगरले एक समय मासिक छ बोरासम्म ब्रान निःशुल्क प्राप्त गरेको अनुभव सुनाउँदै सहकारीले पशुपालन विस्तार गर्न चाहने किसानलाई सहुलियतपूर्ण ऋणसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए।

२८ परिवारबाट सुरु भएको सहकारी २०६७ सालमा औपचारिक रूपमा दर्ता भएको थियो। हाल ८४ परिवार आबद्ध भए पनि ४५ परिवार सक्रिय रूपमा दुग्ध उत्पादनमा संलग्न छन्। सहकारीले एक हजार लिटर क्षमताको चिस्यान ट्याङ्की सञ्चालनमा ल्याएको छ।

हाल दैनिक उत्पादन करिब ९५० लिटर पुगेको भए पनि निकट भविष्यमै एक हजार लिटर पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष दङ्गालीले बताए।

कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालित वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाले सहकारीलाई व्यावसायिक योजना निर्माण, तालिम, प्रविधि तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याएको छ। परियोजनामार्फत डिपफ्रिज, छुर्पी सुकाउने भवन, चेन पुली र जेनेरेटरजस्ता आवश्यक पूर्वाधार निर्माण गरिएको छ।

यता, फाकफोकथुम गाउँपालिकाले पशु स्वास्थ्य तथा व्यवसाय प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने पहल जारी रहेको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए।

उनका अनुसार गाउँपालिकामा दैनिक करिब ३१ हजार लिटर दूध उत्पादन हुने गरेको छ। “कृषि र पशुपालनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक समृद्धिको आधार तयार गरेको छ,” उनले भने, “यसले गाउँमै सम्मानजनक जीवनयापनको अवसर पनि बढाएको छ।”

Read More

हुरी–वर्षाले झापाको केराखेतीमा दुई करोडभन्दा बढी क्षति

काठमाडौं । गत साता आएको हुरीसहितको वर्षाले झापाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।

चालु आर्थिक वर्षमा झापामा एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। प्राकृतिक विपद्का कारण २९ दशमलव ९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

उनका अनुसार झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका तथा कनकाई नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केराखेती हुरी र वर्षाका कारण प्रभावित भएको हो। झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाई नगरपालिका–५ जिल्लाका प्रमुख व्यावसायिक केराखेती क्षेत्र मानिन्छन्।

कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनका लागि तयार भइसकेका केराका बोटसमेत हुरीले ढालेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। प्रभावित क्षेत्रमध्ये झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्णरूपमा नष्ट हुँदा २० दशमलव १ मेट्रिकटन उत्पादनमा क्षति पुगेको छ।

सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त क्षेत्रमा २५ दशमलव ५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको छ भने करिब ५१२ दशमलव ५५ मेट्रिकटन उत्पादन नष्ट भएको जनाइएको छ।

त्यसैगरी, कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा क्षति पुग्दा करिब ४० दशमलव २ मेट्रिकटन उत्पादन नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।

झापा गाउँपालिका–३ का कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा सञ्चालन गरेको व्यावसायिक केराखेतीमा मात्रै करिब रु ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

केराखेतीमा भएको व्यापक क्षतिले किसानलाई थप आर्थिक संकटमा पारेको छ। अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१० दशमलव २ मेट्रिकटन केरा उत्पादन भएको थियो।

Read More