काठमाडौं । गत साता आएको हुरीसहितको वर्षाले झापाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
चालु आर्थिक वर्षमा झापामा एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। प्राकृतिक विपद्का कारण २९ दशमलव ९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।
उनका अनुसार झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका तथा कनकाई नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केराखेती हुरी र वर्षाका कारण प्रभावित भएको हो। झापा गाउँपालिका–३ र ६, बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्र तथा कनकाई नगरपालिका–५ जिल्लाका प्रमुख व्यावसायिक केराखेती क्षेत्र मानिन्छन्।
कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनका लागि तयार भइसकेका केराका बोटसमेत हुरीले ढालेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। प्रभावित क्षेत्रमध्ये झापा गाउँपालिका–३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्णरूपमा नष्ट हुँदा २० दशमलव १ मेट्रिकटन उत्पादनमा क्षति पुगेको छ।
सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका–७ को बत्तीसबिघे क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त क्षेत्रमा २५ दशमलव ५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको छ भने करिब ५१२ दशमलव ५५ मेट्रिकटन उत्पादन नष्ट भएको जनाइएको छ।
त्यसैगरी, कनकाई नगरपालिका–५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा क्षति पुग्दा करिब ४० दशमलव २ मेट्रिकटन उत्पादन नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।
झापा गाउँपालिका–३ का कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा सञ्चालन गरेको व्यावसायिक केराखेतीमा मात्रै करिब रु ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।
केराखेतीमा भएको व्यापक क्षतिले किसानलाई थप आर्थिक संकटमा पारेको छ। अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो। उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१० दशमलव २ मेट्रिकटन केरा उत्पादन भएको थियो।



