२०८३ जेष्ठ २३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका-५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् । 

पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, बिबेकलाई काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Read More

काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका  प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् । 

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरि प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् । 

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् ।

त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे । 

महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ । 

Read More

जबरजस्ती करणी गरेको अभियोगमा जाजरकोटबाट पक्राउ

काठमाडौं । जाजरकोट, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नलगाड नगरपालिका-३ कैना बस्ने ३९ वर्षीय काली बहादुर पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काली बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ननपुर बस्ने २५ वर्षीय राज कुमार कम्करलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राज कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

कांग्रेसमा ३ लाख ७५ हजार क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ । नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरेका छन्। पार्टीको सदस्यता व्यवस्थापन समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार अहिलेसम्म उक्त संख्यामा सदस्यता नवीकरण तथा अद्यावधिक गरिएको हो।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण गरिएका सदस्यहरूको विवरणलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले यसका लागि निर्धारित समयसीमा समेत तोकेको जनाएको छ।

पार्टीको १४औँ महाधिवेशनमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या ८ लाख ७० हजारभन्दा बढी रहेको थियो।

Read More

बजेटप्रति सरोकारवालाहरूको मिश्रित प्रतिक्रिया: लगानी र डिजिटल रूपान्तरणमा जोड, कार्यान्वयनमा चुनौती

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेटप्रति अर्थशास्त्री, नीतिनिर्माता तथा उद्योग क्षेत्रका विज्ञहरूले मिश्रित प्रतिक्रिया जनाएका छन्। उनीहरूले लगानी, नवप्रवर्तन र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको पक्षलाई सकारात्मक रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमा भने गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागअन्तर्गत इकोनोमिक्स स्टुडेन्ट्स सोसाइटी (इकोस) ले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा ले बजेटले अर्थतन्त्रका केही संरचनागत समस्या पहिचान गरे पनि उत्पादन र उद्यमशीलता प्रवर्द्धनका लागि पर्याप्त प्रोत्साहन नदेखिएको टिप्पणी गरे।

उनले लगानी र उद्यमशीलता विस्तारको लक्ष्य राखिए पनि कम्पनी कर दर घटाउने विषयमा सरकार अग्रसर नभएकोप्रति प्रश्न उठाए। “यदि सरकार साँच्चिकै उद्योग तथा लगानी प्रवर्द्धन गर्न चाहन्छ भने २५ र २० प्रतिशत रहेको कम्पनी करलाई क्रमशः २० र १५ प्रतिशतमा किन नझारिएको हो?” उनले प्रश्न गरे। उनका अनुसार उपभोग कर संरचनामा केही परिवर्तन भए पनि उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार अपर्याप्त छन्।

खतिवडाले व्यक्तिगत आयकरको उच्चतम दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा घटाइएको व्यवस्थाले उपभोगमुखी वृद्धिलाई मात्र प्रोत्साहन गर्न सक्ने उल्लेख गर्दै रोजगारीमुखी आर्थिक रूपान्तरणका लागि साना, मझौला तथा घरेलु उद्योगको विस्तारमा जोड दिनुपर्ने बताए। यद्यपि सूचना प्रविधि क्षेत्रमा विदेशमा संस्थागत लगानी गर्न दिने व्यवस्था र नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपछिको अवस्थाबारे पुनर्विचार गर्ने प्रयासलाई उनले सकारात्मक रूपमा मूल्यांकन गरे।

पूर्वअर्थमन्त्रीका अनुसार यो बजेट नेपालको इतिहासकै सबैभन्दा ठूलो हो, जुन चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी छ। सरकारले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित संरचनात्मक सुधार र लगानी विस्तारका कार्यक्रम अघि सारेको छ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल ले बजेटलाई विद्यमान आर्थिक नीतिको निरन्तरताका रूपमा व्याख्या गर्दै डिजिटल रूपान्तरण र कृत्रिम बौद्धिकतालाई प्राथमिकतामा राखिएको बताए। उनले राजस्व संकलनको यथार्थपरकता र लक्ष्य प्राप्तिमा चुनौती रहेको भन्दै सरकारी आय–व्यय अनुमान व्यवहारिक छन् वा छैनन् भन्ने प्रश्न उठाए।

उनका अनुसार सरकारी खर्च बढेसँगै माग वृद्धि भई आयातमा समेत वृद्धि हुन सक्ने र त्यसले बाह्य क्षेत्रीय दबाब थप्न सक्ने जोखिम छ। साथै, विप्रेषणमा अत्यधिक निर्भरता अझै अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको उनले बताए।

डिजिटल नीतिका जानकार अमृता शर्मा ले बजेटमा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको पक्षको स्वागत गर्दै यसले सार्वजनिक सेवा प्रवाह, पारदर्शिता र सुशासन सुधारमा योगदान दिन सक्ने बताइन्। उनले सूचना प्रविधि क्षेत्रमा कर प्रोत्साहन, गैरआवासीय नेपाली लगानी आकर्षण तथा कृत्रिम बौद्धिकता र डेटा सेन्टर विकाससम्बन्धी पहललाई सकारात्मक रूपमा लिइन्।

तर उनले “महत्वाकाङ्क्षा सराहनीय छ, तर कार्यान्वयन नै मुख्य प्रश्न हो” भन्दै दक्ष जनशक्ति उत्पादनमा पर्याप्त ध्यान नदिएको टिप्पणी गरिन्।

आध्यन्त फण्ड म्यानेजमेन्टका संस्थापक तथा अध्यक्ष मनोज पौडेल ले बजेटको संरचनालाई सकारात्मक बताए पनि लक्ष्य हासिल गर्न कार्यान्वयन क्षमतामा ठूलो चुनौती रहेको उल्लेख गरे। उनले औद्योगिक कच्चा पदार्थमा कर छुट तथा औद्योगिकीकरण प्रवर्द्धनलाई स्वागत गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्य राखिएको अवस्थामा पुँजीगत खर्च घटाइनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।

उनका अनुसार बजेटको मूल्यांकन राजस्व संकलन, खर्च कार्यान्वयन क्षमता र नीतिगत पूर्वानुमेयताको आधारमा हुनुपर्छ। नेपालमा पुँजीगत खर्च कार्यान्वयन क्षमता कमजोर रहेको र प्रशासनिक संयन्त्र अझै प्रभावकारी नभएको उनको भनाइ थियो।

सार्वजनिक नीतिका जानकार प्रकृति भट्टराई ले बजेटले संस्थागत सुधार, लगानी प्रवर्द्धन र प्रविधि रूपान्तरणलाई प्राथमिकता दिएको उल्लेख गरिन्। वैदेशिक तथा प्रवासी नेपाली लगानी आकर्षणसम्बन्धी नीति सकारात्मक भए पनि कार्यान्वयन नै प्रमुख चुनौती भएको उनको भनाइ छ। साथै, कम आय भएका नागरिकका सरोकारलाई बजेटले पर्याप्त रूपमा सम्बोधन गरेको छ वा छैन भन्ने प्रश्न पनि उनले उठाइन्।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्ल ले बजेटले उत्पादनशील परियोजना, नवप्रवर्तन र सार्वजनिक सेवा सुधारलाई प्राथमिकता दिएको बताए। उनका अनुसार समस्या नीतिगत अभाव नभई कार्यान्वयन संयन्त्रको कमजोरी हो। उनले सुशासन सुदृढीकरण, नतिजामुखी मूल्यांकन प्रणाली र छरिएका कार्यक्रमको एकीकरणमार्फत कार्यान्वयन क्षमता सुधार गर्न सकिने धारणा राखे।

निष्कर्ष

समग्रमा, आगामी आर्थिक वर्षको बजेटलाई सरोकारवालाहरूले मिश्रित दृष्टिकोणबाट मूल्यांकन गरेका छन्। एकातिर लगानी, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई प्राथमिकतामा राखिएकोमा सकारात्मक प्रतिक्रिया आएको छ भने अर्कातिर कर नीति, पुँजीगत खर्च कार्यान्वयन क्षमता र राजस्व संकलनको यथार्थपरकताबारे गम्भीर प्रश्न उठाइएको छ। विज्ञहरूको साझा निष्कर्ष भनेको नेपालको प्रमुख चुनौती नीति निर्माणभन्दा पनि यसको प्रभावकारी कार्यान्वयन र संस्थागत क्षमताको सुदृढीकरण नै रहेको हो।

Read More

धवलशमशेरले छोडे राप्रपा, नयाँ दल खोल्ने घोषणा

काठमाडौँ । राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छोडेर नयाँ राष्ट्रवादी पार्टी बनाउने घोषणा गरेका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा राणाले राप्रपामा बस्न नसकेको भन्दै पार्टी छोडेर नयाँ पार्टी बनाउन लागेको स्पष्ट गरेका हुन् ।

उनले पछिल्लो चार बर्ष राप्रपामा आफ्नो राजनीतिक जीवनमै सबै भन्दा पिडादयाक समय भएको बताए । उनले राप्रपाका सबै नेता र कार्यकर्तालाई आफ्ना एजेण्डा राप्रपाबाटै पुरा हुन्छन भने त्यतै बस्न र त्यसो हुन्न भन्ने लाग्छ भने नयाँ पार्टीमा आउन आव्हान गरेका छन् ।

राणाले आफुले दुर्गा प्रसाईको अभियानसँग कुरा धेरै अगाडी बढेको भन्दै सबै राष्ट्रवादी शक्तिलाई समेट्न ठुलो छाती बनाउने बताए । उनले देशभर राप्रपा छोडेर आफ्नो पार्टीमा जोडिने क्रम शुरु भएको बताउदै यसको जानकारी आफुहरुले सुचना दिदै जाने स्पष्ट गरे ।

उनले नयाँ शक्ति राजनीतिक दल नै भएकोले यो कुनै राजावादी र हिन्दुवादी अभियान मात्र नभएको बताउदै पार्टीमा युवा र महिलाको पार्टी हुने र केन्द्रीय समितिमा ६० प्रतिशत युवा र महिला हुने बताए ।

उनले आजबाट आफुहरु राप्रपाबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टी बनाउन जुटेको र यो अभियान देशमा राजासहितको हिन्दु सनातनी धर्म बोकेको व्यवस्था ल्याउन अगाडी बढेको स्पष्ट गरे ।

Read More

कुशल भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । एशियन गेम्स अन्तर्गत क्रिकेटतर्फको छनौट खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २७५ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिंग गर्दै ५४ बलमा १२६ रनको शतकीय पारी खेलेका थिए । कुशलको यो टी-२० खेलमा लगातार दोस्रो शतक हो ।

त्यस्तै आरिफ सेखले पनि आक्रमण ब्याटिंग गर्दै २४ बलमा ६८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए भने सन्दीप जोराले १५ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर विरनदीप सिंहले ३ विकेट लिएभने सयेद अजिज र विजय उन्नीले २-२ विकेट लिएका थिए ।

Read More

विराटनगर महानगरपालिकाद्वारा पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल

काठमाडौं । विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याउँदै पूर्णखोप सुनिश्चितताको लक्ष्य सफलतापूर्वक हासिल गरेको छ।

महानगरपालिकाको खोप शाखाका अनुसार ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुल ११ हजार ६३० जना बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको हो।

विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

यस उपलब्धिसँगै विराटनगर महानगरपालिकाले खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत तथा दिगो बनाएको महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए।

उनका अनुसार खोप अभियानले बालमृत्युदर घटाउन, विभिन्न रोगको जोखिम न्यूनीकरण गर्न तथा समग्रमा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस्तै खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगहरूबाट बालबालिकालाई जोगाउन प्रभावकारी भूमिका खेल्दै आएको उल्लेख गरे।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलताका रूपमा लिँदै यसको दिगोपनालाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।

Read More

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण पुनः सुरु, बागमती प्रदेशबाट बजेट निकासा भएपछि काम अघि बढ्यो

काठमाडौँ ।  रोकिएको गौतमबुद्ध क्रिकेट रंगशाला को निर्माण कार्य पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएपछि भुक्तानी रोकिएको र त्यसकै कारण निर्माण कार्य करिब एक महिनासम्म ठप्प भएको थियो।

बजेट निकासा भएपछि निर्माण कम्पनीले पुनः काम सुरु गरेको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार प्रदेश सरकारबाट करिब रु ९ करोड रकम निकासा भएपछि निर्माण कार्यले पुनः गति लिएको हो।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई सम्झौता अनुसारको बिल भुक्तानी गरिसकिएको बताए। रंगशालाको निर्माण कार्य हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ।

सम्झौता अनुसार परियोजनाको म्याद आगामी पुस २२ गतेसम्म रहेको छ। हालसम्म करिब ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ।

विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच कुल रु ७५ करोड ५० लाख ९१ हजार १८९ लागतमा २०८३ पुस २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

यसअघि धुर्मस–सुन्तली फाउन्डेशनले परियोजना अघि बढाउन नसकेपछि महानगरपालिकाले नयाँ बोलपत्रमार्फत निर्माण कार्य अघि बढाएको हो।

Read More

टी- २० क्रिकेटमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

काठमाडौँ । कुशल भुर्तेलले टी- २० क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

कुशलले आज जारी मलेसियाविरुद्धको एशियन गेम्स अन्तर्गतको खेलमा शतक प्रहार गरेका हुन् । उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।

यो कुशलको टी- २० क्रिकेटमा लगातार दोस्रो शतक हो भने कुल तेस्रो शतक हो । उनले यसअघि यसै प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए ।

यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले १४.२ ओभरमा २ विकेट गुमाएर १९६ रन बनाएको छ ।

Read More