काठमाडौँ । नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरेका छन्। पार्टीको सदस्यता व्यवस्थापन समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार अहिलेसम्म उक्त संख्यामा सदस्यता नवीकरण तथा अद्यावधिक गरिएको हो।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण गरिएका सदस्यहरूको विवरणलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले यसका लागि निर्धारित समयसीमा समेत तोकेको जनाएको छ।
पार्टीको १४औँ महाधिवेशनमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या ८ लाख ७० हजारभन्दा बढी रहेको थियो।



