काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६६.९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको ६९औँ लाइसेन्स परीक्षामा सहभागी २ हजार २६३ मध्ये १ हजार ५१५ जना सफल भएका हुन्।
काउन्सिलका अनुसार नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीहरूको उत्तीर्ण दर उल्लेखनीय रूपमा उच्च देखिएको छ भने विदेशमा अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी असफल भएका छन्। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार नतिजाले स्वदेशी चिकित्सा शिक्षाको तुलनात्मक रूपमा सुदृढ प्रदर्शन देखाएको छ।
एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी १ हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना उत्तीर्ण भएका छन्, जुन ७६.७९ प्रतिशत हो। यस्तै, बीडीएसतर्फ पनि स्वदेशी कलेजको नतिजा उत्कृष्ट देखिएको छ। नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना (८५.७५ प्रतिशत) सफल भएका छन्।
विदेशबाट अध्ययन गरी आएका विद्यार्थीहरूको नतिजा भने कमजोर देखिएको छ। चीनबाट आएका १३३ परीक्षार्थीमध्ये २० जना (१५.०४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। बङ्गलादेशबाट आएका ३६७ मध्ये १५१ जना (४१.१४ प्रतिशत), भारतबाट एमबीबीएस अध्ययन गरी आएका परीक्षार्थीमध्ये ४२.३१ प्रतिशत तथा फिलिपिन्सबाट अध्ययन गरेका मध्ये २८.५७ प्रतिशत मात्र सफल भएका छन्।
इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी फर्किएका परीक्षार्थी भने यस पटकको परीक्षामा उत्तीर्ण हुन नसकेको काउन्सिलले जनाएको छ।
संस्थागत प्रदर्शनतर्फ एमबीबीएसमा चितवन मेडिकल कलेज ९३.१० प्रतिशत उत्तीर्ण दरसहित शीर्ष स्थानमा रहेको छ। त्यसपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१.६७ प्रतिशत नतिजासहित उत्कृष्ट संस्थामा परेका छन्। बीडीएसतर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी (१०० प्रतिशत) सफल भएका छन्।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. पाण्डेका अनुसार विदेशमा अध्ययन गरी आएका परीक्षार्थीहरूको कमजोर नतिजाको प्रमुख कारण भाषागत अवरोध र पाठ्यक्रमगत भिन्नता रहेको बताइएको छ।



