२०८३ जेष्ठ २८

इजरायलले अमेरिकी अधिकारीहरुको जासुसी गरेको आरोप, मतभेद बढ्दै

काठमाडौँ । अमेरिका र इजराइलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यहीबीच अमेरिकी रक्षा मन्त्रालयभित्र इजराइलले अमेरिकी अधिकारी तथा ट्रम्प प्रशासनको आन्तरिक जानकारी संकलन गर्न जासुसी प्रयास गरिरहेको हुनसक्ने भन्दै चिन्ता बढेको छ ।

एनबीसी समाचारको रिपोर्ट अनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको रक्षा गुप्तचर निकायले इजराइलसँग सम्बन्धित प्रतिगुप्तचर जोखिम स्तर हालै बढाएर ‘अत्यन्त गम्भीर’ बनाएको छ । यो उक्त निकायको सबैभन्दा उच्च सतर्कता स्तर मानिन्छ ।

अमेरिका र इजराइल जस्ता निकट सहयोगीबीच यस्तो निर्णय हुनु असाधारण मानिएको छ । तर इजराइलले भने यी आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजराइली दूतावासले आफूहरूले अमेरिकी अधिकारीहरूको जासुसी नगर्ने र आफ्ना गुप्तचर निकायले सहयोगीभन्दा पनि शत्रु पक्षमाथि निगरानी केन्द्रित गर्ने स्पष्ट पारेको छ ।

जोखिम स्तर बढाइएपछि इजराइल जाने वा त्यहाँका अधिकारीसँग प्रत्यक्ष सम्पर्कमा रहने अमेरिकी अधिकारीहरू बढी सतर्क हुनुपर्ने अवस्था आएको छ । यद्यपि दुवै देशबीच गुप्त जानकारी आदानप्रदान गर्ने सहकार्य भने यथावत् रहने बताइएको छ । एक अमेरिकी अधिकारीका अनुसार इजराइल भ्रमणका क्रममा उच्च पदस्थ अधिकारीहरू विशेष सावधानी अपनाउने गर्छन् । त्यहाँ रहेका अमेरिकी अधिकारीहरूले टेलिफोन र ल्यापटपको प्रयोग सीमित गर्ने, प्रयोग गरेपछि फालिने प्रकारका टेलिफोन र सुरक्षित कम्प्युटर प्रयोग गर्ने गरेका छन् ।

कहिलेकाहीँ उनीहरू होटलको कोठा वा निगरानीको जोखिम हुनसक्ने स्थानमा संवेदनशील विषयमा छलफल नगर्ने अभ्यास पनि गर्छन् । इजराइली गुप्तचर निकायलाई जानकारी संकलनमा निकै सक्रिय मानिने भएकाले यस्तो सतर्कता अपनाइएको बताइन्छ । अधिकारीहरूले यो निर्णय कुनै एक ठूलो घटनाका कारण नभई विभिन्न घटना र मूल्याङ्कनको आधारमा गरिएको पनि स्पष्ट पारेका छन् ।

यसैबीच ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच इरान नीतिलाई लिएर मतभेद बढिरहेको छ । अप्रिलमा युद्धविरामपछि ट्रम्प इरानसँग ठूलो सम्झौताको प्रयासमा छन् भने नेतान्याहू इरानले कुनै सम्झौता पालना नगर्ने विश्वासमा रहेका छन् । लेबनानमा हिज्बुल्लाहविरुद्धको सैन्य कारबाहीलाई लिएर पनि दुवै देशबीच असहमति देखिएको छ । रिपोर्टअनुसार हालै ट्रम्प र नेतान्याहूबीच टेलिफोनमा कडा बहस भएको थियो । पछि ट्रम्पले आफूले इजराइली प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको स्वीकार गरेका छन् । यस घटनाले मध्यपूर्व रणनीतिलाई लिएर दुवै नेताबीच गम्भीर मतभेद रहेको अड्कललाई अझ बलियो बनाएको छ ।

Read More

२४ घण्टामा २,२५६ चालक कारबाहीमा, राज्यकोषमा रु ४.९१ लाख राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २५६ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५१ चालक, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी चलाउने २३० जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११८ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १६१ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

Read More

लय गुमाएको ब्राजिललाई प्रशिक्षक अन्सेलोटीले कमब्याक गराउन सक्लान् ?

काठमाडौँ । फुटबल विश्वकपको चर्चा गर्दा ब्राजिलको नाम सबै भन्दा पहिला आउने नाम हो । खेल्ने शैली र विश्वका उत्कृष्ट खेलाडीको भरपूर्ण ब्राजिल पछिल्ला विश्वकपमा आफ्नो नाम अनुसारको खेल खेल्न असफल भएको छ ।

२००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपपछि ब्राजिल फाइनलमा पुग्न पनि सकेको छैन । पछिल्लो पटक आफ्नै देशमा आयोजित विश्वकपमा ब्राजिल २०१४ मा सेमिफाइनलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।   

समग्रमा ब्राजिल अहिले राम्रो अवस्थामा छैन । यसको प्रमाण नेइमारको फिटनेस पछिल्ला महिनामा अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । अझ अचम्म त के भने, केही ब्राजिली समर्थकहरू मान्छन्— यो ३४ वर्षे फरवार्ड बिना टोलीले आगामी विश्वकप जित्नै सक्दैन, यद्यपि उनी २०२३ यता लगातार फिट पनि छैनन् र उच्च स्तरको प्रदर्शन पनि देखाउन सकेका छैनन् । पूर्व मिडफिल्डर फेलिपे मेलोले त अझै अगाडि बढेर एक खुट्टा भए पनि नेइमार नै ब्राजिलका लागि उत्कृष्ट नम्बर १० भएको बताएर पनि उनको ब्राजिलको टिममा भूमिका स्पष्ट हुन्छ । यसले नै ब्राजिलको आक्रमण लाइनप्रति कति ठूलो अविश्वास छ भन्ने देखाउछ।

तर ब्राजिलको २०२६ विश्वकप अभियानको मुख्य कुरा नेइमारको उपस्थितिमा मात्र निर्भर छैन । धेरैको बुझाइमा यो जिम्मेवारी अब प्रशिक्षक कार्लो अन्सेलोटीको काँधमा पुगेको छ, जसलाई विश्व फुटबलका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक मानिन्छ ।

अन्सेलोटीलाई ब्राजिलको प्रशिक्षक बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो । ब्राजिल फुटबल महासंघका तत्कालीन अध्यक्ष एडनाल्डो रोड्रिगेजले २०२३ मै भनेका थिए । उनी खेलाडीहरूबीच अत्यन्त सम्मानित र रोनाल्डो नाजारियोदेखि भिनिसियस जुनियरसम्म सबैले उनलाई मन पराउँछन् । उनले अन्सेलोटीलाई इमानदार, स्थिर र अत्यन्त सफल प्रशिक्षक भन्दै उनको प्रशंसा गरेका थिए । ब्राजिलभरि समर्थकहरूले पनि उनको नाम बारम्बार लिने गरेको बताइएको थियो । खेलाडीहरू पनि उनको सम्भावित आगमनलाई लिएर उत्साहित थिए । म्यानचेस्टर सिटीका गोलकिपर एडरसनले त मजाक गर्दै भनेका थिए- रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोस् ताकि अन्सेलोटी चाँडै ब्राजिल आउन सकून् ।

अन्सेलोटीले सुरुमा आफ्नो सम्झौता २०२४ सम्म रहेको भन्दै ब्राजिल जाने चर्चा अस्वीकार गरेका थिए । पछि उनले २०२६ सम्म सम्झौता थपे । तर फुटबलमा परिस्थिति छिटो बदलिन्छ । रियल म्याड्रिडले २०२४-२५ सिजन ट्रफीविहीन समाप्त गरेपछि क्लबमा ठूलो पुनर्संरचना भयो र अन्सेलोटीको युरोपेली यात्रा अन्त्यतिर पुग्यो । उनी आफैंले पनि म्याड्रिडमा बिताएको समयलाई सफल र अविस्मरणीय बताएका थिए, तर सबै कुराको अन्त्य हुन्छ भन्ने स्वीकार गरेका थिए ।

ब्राजिल पाँच पटकको विश्व च्याम्पियन हो, तर २००२ पछि उपाधि जित्न सकेको छैन। पछिल्ला वर्षहरूमा उनीहरूको समस्या केवल हार मात्र होइन, पहिचान गुमाउनु पनि हो ।

पहिलेको ‘सुन्दर फुटबल’ अहिले हराएको भन्दै धेरै समर्थक निराश छन् । यहाँसम्म कि ब्राजिलका महान खेलाडी रोनाल्डिन्होले २०२४ मा राष्ट्रिय टोलीको समर्थनबाट अलग भएको जस्तो घोषणा गरेका थिए । उनले टोलीलाई कमजोर, नेतृत्वविहीन र औसत खेलाडीहरूको समूह भनेका थिए ।

ब्राजिलले २०२४ को कोपा अमेरिका पनि निराशाजनक रूपमा समाप्त गर्‍यो । उरुग्वेसँग पेनाल्टीमा हारेर क्वार्टरफाइनलबाट बाहिरियो । पछि प्रशिक्षक डोरिभाललाई हटाइयो, विशेषगरी अर्जेन्टिनासँग ४–१ को लज्जास्पद हारपछि । यसपछि अन्सेलोटीको आगमनलाई ब्राजिल फुटबल पुनर्जीवनको संकेतका रूपमा हेरियो । अन्सेलोटीले अहिलेसम्म ११ खेल सम्हालेका छन्, जसमा ६ जित मात्र आएको छ । नतिजा र प्रदर्शन दुवै अस्थिर देखिएको छ । जापानसँगको ३–२ हार विशेष रूपमा आलोचित रह्यो, जहाँ ब्राजिल २–० ले अगाडि भएर पनि दोस्रो हाफमा तीन गोल खाँदै पराजित भयो । त्यस्तै फ्रान्ससँग २–१ को हार पनि चिन्ताजनक रह्यो, किनभने फ्रान्स १० खेलाडीमा सीमित हुँदा पनि ब्राजिलले राम्रो प्रदर्शन गर्न सकेन ।

तर अन्सेलोटीले भने टोलीले विश्वका उत्कृष्टसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वास व्यक्त गरे, जसलाई धेरैले यथार्थभन्दा टाढा भनेका छन् । ब्राजिल अहिले पूर्ण रूपमा स्थिर टोली देखिँदैन । डिफेन्स र मिडफिल्डमा अनुभव भए पनि गहिराइको अभाव छ ।

यसै कारण नेइमारलाई पुनः टोलीमा फर्काउने दबाब बढेको छ । उनी पूर्ण फिट नभए पनि ब्राजिलको इतिहासकै सबैभन्दा प्रभावशाली आक्रमणकारी मानिन्छन् । अन्सेलोटीले पनि समर्थकको चाहनालाई ध्यानमा राख्दै उनलाई २६ सदस्यीय टोलीमा समावेश गरेको चर्चा छ । ३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ ।

अन्सेलोटीको मुख्य शक्ति केवल रणनीति होइन, खेलाडी व्यवस्थापन हो । उनले ठूलो नाम र ठूला अहंकार भएका खेलाडीहरूलाई एउटै लक्ष्यमा बाँध्न सक्छन् । तर समस्या ब्राजिलसँग अहिले पूर्ण विश्वस्तरीय टोली छैन । धेरै स्थानमा अनुभव र गहिराइको कमी देखिन्छ । यद्यपि अन्सेलोटी विश्वास गर्छन्, विश्वकपमा कुनै पनि टोली पूर्ण हुँदैन, तर सही नेतृत्वले फरक पार्न सक्छ । अब प्रश्न एउटै छ, के अन्सेलोटीले कमजोर देखिएको ब्राजिललाई फेरि विश्वकप जिताउने स्तरमा पुर्‍याउन सक्लान् ?

ब्राजिलको २६ सदस्यीय टोली

गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन ।

डिफेन्डर: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र डग्लास सान्तोस ।

मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा ।

फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

Read More

इरानको कुवेत-बहराइनमा मिसाइल प्रहार, अमेरिकाद्वारा तेहरानको निगरानी राडार नष्ट

काठमाडौँ । अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाबीच अमेरिकी सेनाले इरानका तटीय निगरानी राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ । साथै, होर्मुज जलडमरूमध्यतर्फ प्रक्षेपण गरिएका इरानका चार एकतर्फी आक्रमणकारी ड्रोन पनि खसालिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले रातभर कुवेत र बहराइनलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र तथा अन्य आक्रमणहरूलाई पनि अमेरिकी सेनाले अवरोध गरेको थियो । उक्त घटनामा कुनै पनि अमेरिकी सैनिक हताहत नभएको बताइएको छ ।

यता, इरानको सरकारी सञ्चारमाध्यमले इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले अमेरिकी सैन्य कारबाहीको जवाफस्वरूप रातभर अमेरिकी हवाई अड्डा र अन्य अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ ।

इरानले आफ्ना राडार केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो सेनाले सतर्क, निर्णायक र समानुपातिक ढंगले प्रतिकार गरेको जनाएको छ ।

क्षेत्रीय प्रतिक्रिया स्वरूप कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाई नियन्त्रणमा लिएको जनाएको छ । बहराइनले पनि इरानबाट प्रक्षेपण गरिएका तीनवटा क्षेप्यास्त्र र केही ड्रोन नष्ट गरिएको जानकारी दिएको छ। दुवै देशले घटनामा कुनै मानवीय क्षति नभएको बताएका छन् र पछिल्ला आक्रमणहरूको निन्दा गरेका छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स, इजिप्ट र साउदी अरेबियासहित खाडी क्षेत्रका अन्य मुलुकहरूले पनि आफ्ना छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै इरानले गरेको आक्रमणको आलोचना गरेका छन् । उनीहरूले यस्ता गतिविधिले खाडी क्षेत्रको सुरक्षा र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन् ।

Read More

मैत्रीपूर्ण खेलमा चिलीविरुद्ध पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगलले विश्वकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा चिलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा गोन्कालो गुएडेस र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने चिलीका लागि लुकास केपेडाले एक गोल गरेका थिए । 

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका राफेल लियो र चिलीका इभन रोमानले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।

पोर्चुगलले अब विश्वकप अघि जुन ११ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्ने छ भने विश्वकपको पहिलो खेलमा जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

ओमानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ ।

यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । 

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।  यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।

एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

मैत्रीपूर्ण खेलमा इजिप्टमाथि ब्राजिलको जित

काठमाडौं । ब्राजिलले मैत्रीपूर्ण खेलमा इजिप्टलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले इजिप्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा एनड्रीक र ब्रुनो गुइमारेजएले एक एक गोल गरेका थिए । त्यस्तै इजिप्टका लागि एक गोल मोस्ताफा जिकोले गरेका थिए ।

ब्राजिलले अब विश्वकप अन्तर्गत जुन १४ मा मोरक्कोसँग खेल्ने तालिका रहेको छ । समुह सी मा रहेको ब्राजिलले त्यसपछि जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

Read More

नेपाल र भारत द्विपक्षीय वार्तामा के के विषयमा भयो सहमति ?

काठमाडौँ । नेपाल र भारतबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्री शिशिर खनालले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् ।

शनिबार भएको भेटवार्तामा दुवै मन्त्रीबीच नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत र सकारात्मक छलफल भएको जनाइएको छ । छलफलमा व्यापार तथा आर्थिक सहकार्य, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदसहित जनस्तरको सम्बन्ध प्रवर्द्धनका विषयहरू समेटिएका छन् ।

दुवै पक्षले दुई छिमेकी देशबीच रहेको दीर्घकालीन सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । बैठकमा हाल सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय आयोजना र सहकार्य कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको थियो । साथै, ती परियोजनाहरूलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउने उपायबारे पनि विचार आदान–प्रदान भएको बताइएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा साझा चासोका विषयहरूमा पनि छलफल भएको र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ ।

दुवै मन्त्रीबीच बैठकका क्रममा केही महत्वपूर्ण संयुक्त घोषणा पनि भएका छन् । जसमा पहिलो, नेपाल क्लियरिङ हाउस र भारतको राष्ट्रिय भुक्तानी निगमबीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार सीमा–पार व्यक्ति–व्यक्ति भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । दोस्रो, भारतको विकास सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू नेपाललाई हस्तान्तरण गरिएको छ।

तेस्रो, काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कूलअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच समझदारी पत्र आदान–प्रदान गरिएको छ। यसअनुसार ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गरिनेछ।

शुक्रबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खनाल आज काठमाडौं फर्किने कार्यक्रम रहेको छ । उनले यस भ्रमणका क्रममा भारतीय प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका थिए ।

Read More

रास्वपाको आज २९ जिल्लामा अधिवेशन हुदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज पनि हुदैछ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज विभिन्न २९ जिल्लामा अधिवेशन हुन लागेको हो ।  

आज कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ । जस अनुसार आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, ईलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुदैछ ।  

यसअघि शनिबार ३६ जिल्लामा अधिवेशन भएको उनले जानकारी दिएका छन् ।

संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ ।  रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।

रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ ।

Read More

एशियन गेम्स छनौटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपालले आज सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलमा ओमानको सामना गर्दैछ । यो खेल आज बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आज दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया खेल्दैछन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।  यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।  एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

Read More