२०८३ जेष्ठ २८

रास्वपाको जिल्ला नेतृत्व चयन हुदै, काठमाडौँमा शाक्य र झापामा भण्डारी चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज पनि हुदैछ । शनिबार विभिन्न जिल्लाको अधिवेशन सम्पन्न भएर नेतृत्व चयन समेत भएको छ ।

जस अनुसार काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा  सन्जिव पाठक सभापतिमा चयन भएका छन् । 

त्यस्तै सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपूरमा ख्याम बहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा सभापति बनेका छन् ।

Read More

सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२३० मा कारोबार भएको थियो ।

Read More

रुसी १९ वर्षीया एन्ड्रीभाले जितिन् फ्रेन्च ओपन उपाधि

काठमाडौँ । रूसकी १९ वर्षीया मिरा एन्ड्रीभाले पहिलो पटक फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा उनले पोल्यान्डकी माया ख्भालिन्स्कालाई सोझो सेटमा ६–३ र ६–२ ले पराजित गरिन्।

१ घण्टा २२ मिनेटसम्म चलेको खेलमा एन्ड्रीभाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि दबाब बनाएकी थिइन् । यो उनको करिअरकै पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

एन्ड्रीभा फ्रेन्च ओपन जित्ने इतिहासकै दोस्रो सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । यसअघि सन् १९९२ मा १८ वर्षको उमेरमा मोनिका सेलेसले यो उपाधि जितेकी थिइन् ।

पहिलो सेटमा दुवै खेलाडी ३–३ को बराबरीमा रहे पनि त्यसपछि एन्ड्रीभाले लगातार तीन खेल जित्दै सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । दोस्रो सेटमा पनि उनले सुरुआती अग्रता कायम राख्दै लगातार खेल जितिन् र ६–२ को नतिजासहित उपाधि कब्जा गरिन् ।

उपाधि जितेपछि एन्ड्रीभा भावुक देखिएकी थिइन् । उनले आफ्नो टोली र परिवारलाई धन्यवाद दिँदै रोलाँ गारोमा उपाधि जित्नु बाल्यकालदेखिको सपना पूरा भएको बताइन् ।

यस सफलतासँगै एन्ड्रीभा सन् २०२० मा इगा स्वियातेकपछि फ्रेन्च ओपन महिला एकल जित्ने किशोर उमेरकी खेलाडी बनेकी छन् । साथै, उनी मोनिका सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कम उमेरकी महिला च्याम्पियन पनि बनेकी छन् ।

उपविजेता ख्भालिन्स्काको यात्रा पनि स्मरणीय रह्यो । विश्व वरीयतामा ११४औँ स्थानमा रहेकी उनी छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा प्रवेश गरेकी थिइन् । लगातार नौ खेल जित्दै फाइनल पुगेकी उनले प्रतियोगिताका क्रममा विश्व नम्बर एक आर्यना साबालेन्कालाई समेत पराजित गरेकी थिइन् । खेलपछि ख्भालिन्स्काले एन्ड्रीभाको प्रशंसा गर्दै उनी आफूभन्दा उत्कृष्ट खेलाडी साबित भएको प्रतिक्रिया दिइन् ।

Read More

मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ ।

त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

Read More

रास्वपाको अधिवेशनका लागि संसद बैठक स्थगित गरेको खुस्बु ओलीको आरोप

काठमाडौँ । राप्रपाकी सांसद खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनलाई सहज बनाउन संसद् बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सदनको गतिरोध अन्त्य गर्ने, राजनीतिक सहमति खोज्ने र संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए लामो समयसम्म बैठक स्थगित गर्नुको औचित्य के थियो भन्ने प्रश्न उठाएकी हुन् ।

उनले संसद् स्थगित भएको पाँच दिन बितिसक्दा पनि संवादका लागि कुनै पहल नभएको र समाधानको प्रयाससमेत नदेखिएको बताएकी छन् । भोलि संसद् बैठक बस्न लागे पनि कुनै उपलब्धिविना पुनः उही गतिरोधको अवस्थाबाट सदन सञ्चालन हुने देखिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी दलका मात्र होइन, सत्तारुढ दलका सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूलाई समेत बेवास्ता गरिएको आरोप लगाउँदै उनले त्यसकै कारण सदन अवरुद्ध भएको उल्लेख गरेकी छन् । साथै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू खडा गरेको उनको दाबी छ ।

उनका अनुसार प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद र जवाफदेहिताको माग गर्दै आएको तर पछिल्ला पाँच दिनमा संवादका लागि कुनै औपचारिक आह्वान वा सहमति खोज्ने प्रयास नभएको उनले बताएकी छन् ।

ओलीले संसद्को लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको आशंका उत्पन्न गरेको उल्लेख गर्दै यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहज वातावरण बनाइएको आरोप लगाएकी छन् ।

नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि नभई जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको संरक्षणका लागि यस्ता विषयमा संघीय संसद् सचिवालयले गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

Read More

ओमानलाई हराउदै नेपाल एशियन गेम्सको छनौटको फाइनलमा

काठमाडौँ । नेपाल जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । 

ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्बाधिक ४४ रन बनाए भने रोहित पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन बनाएको थियो । 

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार खेल्ने छ । त्यस्तै ओमानले भने तेस्रो स्थानका लागि हङकङ र मलेसियाबीचको पराजित हुने टिमसँग सोमबारनै खेल्ने तालिका रहेको छ ।

Read More

करण जोहरको दोस्ताना- २ फेरी विवादमा, निर्देशकले छोडे फिल्म

काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहरको चर्चित फिल्म ‘दोस्ताना २’ सात वर्षदेखि अड्किँदै आएको छ । सन् २०१९ मा यो फिल्मको घोषणा गरिएको थियो तर त्यसपछि कलाकार छनोटको विषयले काम अघि बढ्न सकेन । केही समयअघि मात्र फिल्म फेरि सुरु गरिएको खबर आए पनि अब यो परियोजनालाई फेरि अर्को ठूलो झटका लागेको छ, जसले फिल्मको भविष्य फेरि अनिश्चित बनेको देखिन्छ ।

करण जोहरको धर्मा प्रोडक्सन्सद्वारा निर्माण भइरहेको ‘दोस्ताना २’ फेरि रोकिएको छ । कलाकार तय भइसकेपछि अब फिल्ममा काम गरिरहेका निर्देशक अद्वैत चन्दनले यो परियोजनाबाट अलग हुने निर्णय गरेका छन् । निर्देशक अचानक बाहिरिएपछि फिल्म फेरि अन्योलमा परेको छ । यद्यपि निर्माता र प्रोडक्सन हाउसले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर भेराइटी इन्डियाको रिपोर्ट अनुसार, अद्वैत चन्दनले निर्देशनसम्बन्धी सिर्जनात्मक मतभेदका कारण परियोजना छोडेका हुन् ।

‘सीक्रेट सुपरस्टार’ र ‘लाल सिंह चड्ढा’ जस्ता फिल्मका निर्देशक चन्दनले करिब सात महिना परियोजनाको तयारीमा समय दिएका थिए । तर अन्ततः सिर्जनात्मक मतभेद बढ्दै गएपछि उनले अलग हुने निर्णय लिएको बताइएको छ ।

रिपोर्ट अनुसार, उनी र निर्माताबीच मतभेद बढ्दै गए पनि यो अलगाव आपसी सहमतिमा सौहार्दपूर्ण रूपमा भएको हो। कुनै सार्वजनिक विवाद भने भएको छैन ।

‘दोस्ताना २’ को घोषणा सन् २०१९ मा गरिएको थियो । यो २००८ मा आएको धर्मा प्रोडक्सन्सकै सफल फिल्म ‘दोस्ताना’ को सिक्वेलका रूपमा तयार पारिएको हो । नयाँ कलाकारसहित तयार हुने भनिएको यस फिल्ममा कार्तिक आर्यन, जान्हवी कपूर र लक्ष्य मुख्य भूमिकामा रहने योजना थियो । छायांकन गोवामा सुरु पनि भइसकेको थियो । तर सन् २०२१ मा करण जोहरसँग कथित मतभेदका कारण कार्तिक आर्यन परियोजनाबाट बाहिरिएका थिए । त्यसपछि फिल्मको छायांकन रोकिएको थियो र परियोजना बन्द भएको चर्चा चलेको थियो ।

लामो समयपछि गत वर्ष फेरि फिल्मलाई पुनः सुरु गर्ने प्रयास भएको खबर आएको थियो । नयाँ योजनाअनुसार अब विक्रान्त मेसी र लक्ष्य मुख्य भूमिकामा देखिने चर्चा थियो । साथै पूर्व मिस इन्डिया वर्ल्ड सिनी शेट्टीले यस फिल्ममार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्ने बताइएको थियो । तर यसबारे आधिकारिक पुष्टि भएको थिएन ।

यसैबीच अद्वैत चन्दन पनि परियोजनाबाट बाहिरिएपछि ‘दोस्ताना २’ को प्रतीक्षामा रहेका दर्शक फेरि निराश भएका छन् । यसअघि निर्देशक कोलिन डी कुन्हा पनि यो परियोजनाबाट अलग भइसकेका थिए । हाललाई ‘दोस्ताना २’ को भविष्य फेरि अनिश्चित बनेको छ ।

Read More

अछाममा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते

धनगढी । अछामको कमलबजार नगरपालिका–७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार कमलबजार नगरपालिका–७ निवासी ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मिनबहादुर भाट र बद्री भाटलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ । ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो ।

सिंगापुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । 

ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

Read More

‘मलाई पनि एम्बेसेडर बन्न मन छ’ : प्रधानमन्त्री शाहको व्यङ्ग्यात्मक टिप्पणी चर्चामा

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

शनिबार मध्यरात आफ्नो आधिकारिक फेसबुक खातामार्फत प्रधानमन्त्री शाहले “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?” लेख्दै एक संक्षिप्त स्टाटस सार्वजनिक गरेका हुन्। उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पछिल्लो समय चर्चामा रहेको राजदूत नियुक्ति प्रक्रिया र सार्वजनिक पदमा पहुँचको विषयसँग जोडेर व्याख्या गरेका छन्।

प्रधानमन्त्री शाहको पोस्टमा विभिन्न प्रतिक्रिया आएका छन्। शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम?” भन्दै टिप्पणी गरेका छन् भने भिक्टर पौडेलले “नाई फेरि उठाउन आउला पुलिस” लेख्दै व्यङ्ग्यात्मक प्रतिक्रिया जनाएका छन्।

उल्लेखनीय छ, गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफूलाई राजदूत नियुक्त गर्न अनुरोध गर्दै प्रधानमन्त्री शाहलाई सन्देश पठाएको विषय सार्वजनिक भएको थियो। उक्त घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि रिहा गरेको थियो। सो घटनाले सार्वजनिक नियुक्ति प्रक्रिया, प्रशासनिक आचरण तथा अभिव्यक्ति स्वतन्त्रताबारे व्यापक बहस सिर्जना गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहको पछिल्लो टिप्पणीलाई सार्वजनिक नियुक्तिमा पारदर्शिता, योग्यता र पहुँचको प्रभावबारे उठ्दै आएको जनचासोलाई व्यङ्ग्यात्मक रूपमा अभिव्यक्त गर्ने प्रयासका रूपमा बुझ्न सकिन्छ। उनीहरूका अनुसार लोकतान्त्रिक व्यवस्थामा व्यङ्ग्य र राजनीतिक टिप्पणी सार्वजनिक बहसको हिस्सा भए पनि कार्यकारी नेतृत्वमा रहेका व्यक्तिबाट गरिने अभिव्यक्तिले संस्थागत मर्यादा र जिम्मेवारीको सन्तुलन कायम गर्नुपर्ने अपेक्षा रहन्छ।

विश्लेषकहरू भन्छन्, यस्तो अभिव्यक्तिले नियुक्ति प्रक्रियाप्रति जनस्तरमा उठेका प्रश्नहरूलाई थप चर्चा गराउन सहयोग पुग्न सक्छ। यद्यपि, सरकार प्रमुखबाट आउने सार्वजनिक टिप्पणीले सम्बन्धित निकाय वा प्रक्रियाबारे विभिन्न व्याख्या उत्पन्न गर्न सक्ने भएकाले औपचारिक धारणा वा नीतिगत स्पष्टतामार्फत विषय उठाउँदा संस्थागत सन्देश अझ स्पष्ट र प्रभावकारी हुने तर्क पनि गरिन्छ।

हालसम्म प्रधानमन्त्री कार्यालयले उक्त सामाजिक सञ्जाल पोस्टबारे कुनै थप औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Read More