२०८३ जेष्ठ ३०

सर्वोच्चले बदर गर्यो वायुसेवा निगमको बोर्ड सदस्यको नियुक्ति

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा सरकारले गरेको नियुक्ति बदर गरेको छ । 

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार संक्षिप्त आदेश जारी गर्दै निगमको सञ्चालक सदस्य नियुक्ति प्रक्रियामा सुशासनको मूल्य र मान्यताविपरीत भएको ठहर गर्दै योग्यताक्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेशसमेत जारी गरेको हो ।

सर्वोच्चको आदेशमा अब छनोट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य एवं मान्यताविपरीत नहुने गरी, स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयले निगमको समिति सदस्यमा डा. दीपकप्रसाद बाँस्तोला, प्रवीण भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गरेको थियो ।

छनोट समितिको गोप्य सिलबन्दी मूल्यांकनमा काठमाडौं महानगरपालिका– ३१ बस्ने निवेदक उपेन्द्रबहादुर कार्की ३६.६२५ अंक प्राप्त गरी योग्यताक्रमको पहिलो नम्बरमा रहेका थिए । तर, तत्कालीन मन्त्रीस्तरको निर्णयबाट योग्यताक्रमको पहिलो नम्बरमा रहेका कार्कीलाई पाखा लगाउँदै योग्यताक्रमको क्रमशः २, ३, ४ र ६ नम्बरमा रहेका उम्मेदवारहरू तथा महिला उम्मेदवार मध्येबाट नियुक्ति गरिएको थियो । पहिलो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त नगरेको ठोस आधार र कारण निर्णयमा खुलाइएको थिएन । 

त्यसपछि कार्कीले नै आफू उक्त प्रक्रियामा सहभागी भई उत्कृष्ट प्रस्तुतीकरण गरे तापनि योग्यताक्रमलाई मिचेर गैरकानुनी रूपमा अन्य व्यक्तिहरूलाई छनोट गरिएको दाबीसहित रिट दायर गरेका थिए ।

Read More

सर्लाहीमा कुटपिटबाट घाइते भएका वृद्धको मृत्यु

काठमाडौं ।  सर्लाहीको गोडैता नगरपालिका–९ मा जग्गा विवादका कारण भएको कुटपिट घटनामा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

जेठ २२ गते राति करिब ८ बजेर ५ मिनेटतिर गोडैता–९ निवासी करिब ७० वर्षीय अहमिद मंसुरमाथि सोही स्थानका श्रीचन महतो, उनका छोरा सुशील महतो र रमजान मंसुरबीच जग्गा सम्बन्धी विवादका क्रममा कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका मंसुरलाई उपचारका लागि मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा जेठ ३० गते बिहान ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रमजान मंसुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फरार रहेका श्रीचन महतो र सुशील महतोको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सशस्त्रको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी नायव महानिरीक्षक कार्कीलाई

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिईएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिईएको सशस्त्रले जनाएको छ ।

Read More

अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भइसकेको दाबी गरिएको छ । 

अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश सम्झौताको शर्तमा सहमत भइसकेको र अब त्यसको कार्यान्वयनका लागि अर्को चरणमा काम भइरहेको दाबी गरेका हुन् । उनका अनुसार शान्ति सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको छ ।

तर अर्कोतर्फ अमेरिकाले इरानलाई तत्काल कुनै आर्थिक राहत दिइने भन्ने समाचारलाई अस्वीकार गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा हस्ताक्षर गर्ने वा वार्तामा सहभागी हुने मात्र आधारमा इरानलाई कुनै आर्थिक लाभ नदिइने स्पष्ट पारेका छन् ।

यसअघि विभिन्न रिपोर्टमा सम्झौताअन्तर्गत इरानका रोक्का भएका कोष फुकुवा हुन सक्ने दाबी गरिएको थियो । तर अमेरिकी पक्षले भने इरानले सम्झौताको शर्त पूरा गरेपछि मात्र आर्थिक लाभको विषय अघि बढ्ने जनाएको छ ।

यता इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू फेरि खोलिने बताएका छन्, तर अवस्था पहिले जस्तो नहुने स्पष्ट पारेका छन् । उनका अनुसार इरानले उक्त महत्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम राख्नेछ र भविष्यमा यहाँबाट गुड्ने जहाजबाट कर पनि लिन सक्नेछ ।

सम्भावित शान्ति सम्झौता अन्तिम चरणमा पुगेको भनिए पनि तेहरानमा यसको कार्यान्वयनका लागि लामो स्वीकृति प्रक्रिया पार गर्नुपर्नेछ । रिपोर्टअनुसार मस्यौदालाई पहिले इरानी सेना मुख्यालय र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको सहमति आवश्यक हुनेछ । त्यसपछि संसद र राजनीतिक नेतृत्वले समीक्षा गर्नेछन् ।

अन्तिम निर्णय भने इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई र राष्ट्रिय सुरक्षासँग सम्बन्धित उच्च नेतृत्वको हातमा हुनेछ । उनीहरूको स्वीकृति पाएपछि मात्र सम्झौता औपचारिक रूपमा स्वीकार हुने इरानी मिडियाले उल्लेख गरेका छन् ।

यसै कारण विदेशमन्त्री अराघचीले सम्झौता नजिक पुगेको दाबी गरे पनि तेहरानले अहिलेसम्म कुनै औपचारिक पुष्टि गरेको छैन ।

अराघचीले अमेरिका र इरानबीच प्रस्तावित अन्तरिम समझदारीपत्रमा हस्ताक्षर नभएसम्म आणविक विषयमा कुनै नयाँ वार्ता नहुने स्पष्ट गरेका छन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले समुद्री नाकाबन्दी पूर्ण रूपमा हटाउनु नै प्रारम्भिक सम्झौताको पहिलो शर्त भएको बताए । उनले भने- ‘यो सम्झौताका विरोधी पनि छन्, सबैभन्दा ठूलो विरोधी इजरायल हो, जसले यसलाई असफल बनाउन बहाना खोजिरहेको छ ।’

उनका अनुसार सम्झौता भएमा सुरुमा अनलाइन माध्यमबाट हस्ताक्षर हुनेछ र दुवै पक्षले आ–आफ्नो स्थानबाट दस्तावेजमा हस्ताक्षर गर्नेछन्। त्यसपछि संयुक्त रूपमा घोषणा गरिनेछ । अराघचीले अन्तिम चरणको वार्ता पूरा भएलगत्तै सम्झौतामा हस्ताक्षर हुन सक्ने र यो केही दिनभित्रै सम्भव हुने बताएका छन्। उनले आफूहरू यसप्रति आशावादी रहेको पनि उल्लेख गरेका छन्।

Read More

लामोसाँघु–जिरी सडकखण्डमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौँ । भीमेश्वर नगरपालिका–५ पिपलबोटस्थित लामोसाँघु–जिरी सडकखण्डमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६२ प ८४६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ७९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल लगिएको थियो। उपचारका क्रममा बा ८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखा बैतेश्वर गाउँपालिका–८ क्षेत्रपा बस्ने २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूको हाल धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा दोलखा बैतेश्वर गाउँपालिका–२ पुतलीकाठ घर भई मकवानपुरमा कार्यरत सशस्त्र प्रहरी जवान २६ वर्षीय उमेश तामाङ र दोलखा भीमेश्वर नगरपालिका–६ चोथाङ बस्ने १९ वर्षीय बिबेक थामी रहेका छन्।

Single Image

Read More

चर्चित सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराती महोत्तरीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक बाउन्स (चेक अनादर) भएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Read More

विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ ।

घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए । त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए ।

समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् ।

त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा अस्ट्रेलियासँग खेल्ने छ ।

Read More

वलमार्टले व्यवसायलाई प्रभावकारी बनाउन एआईको प्रयोग व्यापक रुपमा गर्ने

काठमाडौँ । विश्वकै ठूलो खुद्रा व्यापार शृङ्खलामध्ये एक वलमार्टले आफ्नो व्यवसायलाई अझ प्रभावकारी र तीव्र बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग व्यापक रूपमा विस्तार गर्ने रणनीति अघि सारेको छ ।

कम्पनीको वार्षिक बैठकमा वलमार्टका प्रमुख कार्यकारी अधिकृत जोन फर्नरले कृत्रिम बुद्धिमत्तालाई कम्पनीको भविष्यको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै यस प्रविधिको प्रयोग सबै कर्मचारीसम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन् ।

विश्वभर हजारौं पसल, करोडौं साप्ताहिक ग्राहक र २० लाखभन्दा बढी कर्मचारी रहेको वलमार्टले अब सामान छनोट, ढुवानी व्यवस्थापन, ग्राहक प्रतिक्रिया विश्लेषणदेखि लिएर दैनिक सञ्चालनका अधिकांश कार्यमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिरहेको जनाएको छ ।

फर्नरका अनुसार कम्पनीका सबै कर्मचारीले कृत्रिम बुद्धिमत्ता सम्बन्धी उपकरण प्रयोग गर्न सिक्नुपर्ने र त्यसबाट आफ्नो कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यस क्रममा कम्पनीले आफ्नै प्राविधिक टोलीद्वारा विकसित ‘कोड पपी’ नामक उपकरणलाई विशेष प्राथमिकता दिएको छ ।

यो उपकरणले कर्मचारीहरूलाई आफ्नै तहबाट प्राविधिक समस्या समाधान गर्न तथा नयाँ उपायहरू विकास गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

वलमार्टले नयाँ र उपयोगी विचारहरू प्रत्यक्ष रूपमा अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरूबाट आउनुपर्ने विश्वास राखेको छ । कम्पनीले जहाँबाट उत्कृष्ट विचार आउँछ, त्यसलाई विश्वव्यापी रूपमा लागू गर्ने नीति लिएको जनाएको छ ।

फर्नरले भारतको बेंगलुरु होस् वा क्यानडाको टोरन्टो, उत्कृष्ट विचार जहाँबाट आए पनि त्यसलाई अपनाइने र ठूलो स्तरमा विस्तार गरिने बताएका छन् ।

वलमार्टले कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईसँग सहकार्य गर्दै कर्मचारीहरूका लागि विशेष प्रमाणिकरण कार्यक्रम पनि सुरु गरेको छ। यस कार्यक्रममार्फत कर्मचारीहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर कार्यस्थलका समस्या समाधान गर्न सक्नेछन् ।

कम्पनीका एक ढुवानी व्यवस्थापकले कृत्रिम बुद्धिमत्ता आधारित प्रणाली विकास गरेका छन्, जसले सवारी मार्ग व्यवस्थापनमा सहयोग पुर्‍याएको छ । यसबाट खाली सवारीसाधनको आवागमन घटेको र चालकहरूको समय बचत भएको कम्पनीको दाबी छ ।

वलमार्टले ग्राहकलाई ताजा र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई थप विस्तार गरेको छ । अहिले प्रणालीले ग्राहकको अर्डर अनुसार सामान छनोट गर्ने मार्ग मात्र होइन, खाद्य सामग्री तयार गर्ने उचित समयसमेत निर्धारण गर्न थालेको छ । यसले ग्राहकसम्म ताजा तथा तताइएको खाना समयमै पुग्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

ग्राहक सन्तुष्टि मापनका लागि परम्परागत पाँच तारे मूल्याङ्कन प्रणालीको सट्टा वलमार्टले अब उन्नत कृत्रिम बुद्धिमत्ता विश्लेषण प्रयोग गरिरहेको छ ।

करिब एक लाख ५० हजार सदस्य रहेको सामुदायिक समूहका छलफल, प्रतिक्रिया र भिडियो सामग्रीको विश्लेषण गरेर ग्राहकले के भनिरहेका छन् भन्ने मात्र होइन, उनीहरूको भावना र मनोविज्ञानसमेत बुझ्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । वलमार्टका अनुसार कृत्रिम बुद्धिमत्ताको प्रयोगले सञ्चालन खर्च घटाउने, सेवा गुणस्तर सुधार गर्ने तथा ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Read More

शेयर बजारमा स्पेसएक्सको शानदार शुरुवात, मस्क बने विश्वकै पहिलो खर्बपति

काठमाडौँ । अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको सेयर बजारमा पहिलो कारोबारकै दिन उल्लेखनीय वृद्धि हासिल गरेको छ । यससँगै कम्पनीको बजार मूल्य २ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ भने संस्थापक एलन मस्क विश्वकै पहिलो खरबपति बन्न सफल भएका छन् ।

कम्पनीको सेयर प्रतिकित्ता १५० अमेरिकी डलरमा कारोबार सुरु भएको थियो । कारोबारका क्रममा सेयर मूल्य बढेर १७६.५२ अमेरिकी डलरसम्म पुगेको थियो । दिनको अन्त्यमा भने सेयर १६१.११ अमेरिकी डलरमा बन्द भएको थियो । प्रारम्भिक सार्वजनिक निष्कासनको लक्ष्य मूल्य १३५ अमेरिकी डलरको तुलनामा सेयर मूल्य १९.३४ प्रतिशतले बढेको हो ।

विश्लेषकहरूका अनुसार सेयर मूल्यमा भएको मजबुत वृद्धि, सीमित उतारचढाव तथा खुद्रा लगानीकर्ताबाट प्राप्त उच्च मागका कारण कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सफल भएको मानिएको छ। यस उपलब्धिसँगै स्पेसएक्स संयुक्त राज्य अमेरिकाको छैटौँ सबैभन्दा ठूलो सार्वजनिक कम्पनी बनेको छ ।

कर्भ इन्भेस्टमेन्ट म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हावार्ड चानले सेयरप्रति सुरुदेखिको माग हेर्दा यही परिणाम अपेक्षित रहेको बताएका छन् । उक्त कम्पनीले जुन महिनाभित्र स्पेसएक्समा लगानी गर्ने विनिमय कारोबार कोष सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

भिस्टाशेयर्सका लगानी विभाग प्रमुख डेभिड फेदरस्टनहाउले पनि बजारको प्रतिक्रिया अपेक्षाअनुसार नै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार समग्र शेयर बजार पनि सामान्य रूपमा उकालो लागेको थियो । एस एन्ड पी पाँच सय सूचकांक ०.५ प्रतिशतले बढ्दा प्रविधि कम्पनीहरू केन्द्रित नास्डाक कम्पोजिट सूचकांक ०.३१ प्रतिशतले उकालो लागेको थियो ।

Read More

धादिङमा राष्ट्रसेवक कर्मचारी कुटपिट गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणका लागि पुगेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको थियो ।

प्रहरीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट खटिएका सव–इन्जिनियर सुरेश आले मगर र सुपरभाइजर हवेन्द्रकुमार यादवलाई स्थानीयवासी संजिव मल्लले स्थानीय स्तरमा ढलान गरिएको बाटो अनुमति नलिई प्रयोग गरेको भन्दै आक्रोशित भई कुटपिट गरेका थिए।

घटनामा सव–इन्जिनियर आले सामान्य घाइते भएका थिए भने सुपरभाइजर यादवको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित अस्पतालमा रिफर गरिएको थियो। हाल उनी उपचाररत रहेका छन् ।

घटनापछि फरार रहेका नीलकण्ठ नगरपालिका–४ निवासी ४० वर्षीय संजिव मल्ललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा प्रहरीले पक्राउ गरेको हो।

उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गम्भीर उत्तेजनामा आई कुटपिट गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More