२०८३ असार ५

इप्पानमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभाले बाट डाँगीलाई संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनाएको हो ।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भए ।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ भने सचिवहरू कृष्ण प्रसाद घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन् ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । 

Read More

महिला टी- २० विश्वकपमा इङल्याण्डको विजयी शुरुवात

काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप २०२६ मा आयोजक इङल्याण्डले विजयी शुरुवात गरेको छ । गएराती बर्मिङ्घममा सम्पन्न उद्घाटन खेलमा इङल्याण्डले श्रीलंकालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको २२० रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा अलआउट हुदै १३२ रन मात्र बनाएको थियो । 

इङल्याण्डले टस हारेर पहिले ब्याटिङ गरेको यस खेलमा एमी जोन्स र ड्यानी व्याट–हजको शतकीय साझेदारीको मद्दतले २० ओभरमा १ विकेट गुमाएर २१९ रन बनाएको थियो । यो महिला ट-२० विश्वकप इतिहासमै कुनै पनि टोलीले बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि पनि इङ्ग्ल्यान्डले नै सन् २०२३ मा पाकिस्तानविरुद्ध २१३/५ रन बनाएको कीर्तिमान कायम गरेको थियो।

२२० रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको श्रीलङ्का महिला टोली सुरुदेखि नै इङ्ग्लिस बलिङ आक्रमणको दबाबमा रहेको थियो । 

विश्वकप अन्तर्गत आज तीन खेल हुनेछन् ।  जस अनुसार आयरल्याण्ड र स्कटल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इण्डिज खेल्दैछन् । 

Read More

सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । कर्मचारी संगठन (ट्रेड युनियन) खारेजीसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेपछि अब सरकार निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । 

संवैधानिक इजलासको बहुमत निर्णयअनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरिएको छ । इजलासमा प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए । निर्णयमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । 

यसअघि बैशाख २० र २७ गते भएको बहसपछि वैशाख २८ मा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो । तर, शुक्रबारको निर्णयसँगै उक्त आदेश निष्क्रिय भएको छ । तीनै न्यायाधीशले अध्यादेशको संवैधानिकता परीक्षण सम्बन्धमा अन्य रिटसमेत विचाराधीन भएका कारण सबैको एकसाथ सुनुवाइ हुने गरी साथै राख्न आदेश गरेका छन् । 

इजलासले मुद्दामा थप निष्पक्ष बहसका लागि एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउन पनि आदेश दिएको छ । साथै, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनमार्फत दुई–दुईजना एमिकस क्युरी उपस्थित गराउन आग्रह गरिएको छ ।

गत वैशाख २५ मा नेपाल निजामती संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेत पाँचजनाले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० मा निजामती सेवा ऐनमा रहेको निजामती कर्मचारीको ट्रेड युनियन र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको विषय हटाइएको थियो । वैशाख २० गते जारी अध्यादेशअनुसार वैशाख २२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने भनी सूचना निकालेको थियो । 

Read More

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँ । सह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो ।

खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो ।

पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए ।

घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रवेश गरेको दुई मिनेटभन्दा केही बढी समयमै वैकल्पिक खेलाडी काइल लारिनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेका हुन् । उनले तारिक मुहारेमोभिचलाई छलाउँदै गरेको प्रहार निकोला भासिल्जलाई पार गर्दै जालीमा पुगेको थियो । बल विपक्षी खेलाडीमा हल्का ठोक्किँदा गोलरक्षक झुक्किएका थिए ।

खेलभरि दुवै टोलीले आक्रमणात्मक प्रदर्शन गरेकाले खेल निकै रोमाञ्चक बनेको थियो । अन्ततः दुवै टोलीले एक–एक अंक बाँडेका छन्  ।

यो नतिजासँगै क्यानडाले विश्वकपको अन्तिम चरणमा पहिलो पटक हार टार्न सफल भएको छ । यसअघि सन् १९८६ मा खेलेका तीनै खेल तथा सन् २०२२ मा खेलेका सबै खेलमा क्यानडा पराजित भएको थियो ।

Read More

विश्वकपमा आज बिहान अमेरिका र पराग्वे भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘डी’ को पहिलो खेलमा आज बिहान आयोजक अमेरिका र पाराग्वे बिहान आमनेसामने हुँदैछन् । क्यालिफोर्नियास्थित सोफी मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ बजेदेखि शुरु हुदै छ ।

विश्व वरीयतामा १७औँ स्थानमा रहेको अमेरिकाले १६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेको सामना गर्न लागेको हो । यद्यपि पाराग्वेले आफ्नो प्रमुख आक्रमणकारी जुलियो एन्सिसोलाई चोटका कारण गुमाएको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकाको तयारी मिश्रित रहेको छ । टोलीले पछिल्ला पाँच खेलमध्ये दुई खेल मात्र जित्न सफल भएको छ। यद्यपि सेनेगलमाथिको ३–२ को जितले टोलीमा केही आत्मविश्वास थपेको छ ।

पाराग्वे भने प्रशिक्षक गुस्ताभो अल्फारोको नेतृत्वमा बलियो रक्षात्मक शैलीमा खेल्ने टोलीका रूपमा चिनिएको छ । दक्षिण अमेरिकी छनोट चरणमा उसले १८ खेलमा मात्र १४ गोल गरे पनि १० गोल मात्र खाएको थियो ।

अमेरिकाको आक्रमणको मुख्य जिम्मेवारी क्रिस्टियन पुलिसिक र फोलारिन बालोगुनमाथि रहनेछ । पाराग्वेका लागि एन्टोनियो सानाब्रिया र मिगुएल अल्मिरोन प्रमुख खेलाडी रहनेछन् ।

अमेरिका र पाराग्वेबीच हालसम्म नौ पटक भेट भएको छ । तीमध्ये अमेरिकाले पाँच खेल जितेको छ भने पाराग्वे दुई खेलमा विजयी भएको छ। दुई खेल बराबरीमा सकिएका छन् ।

विश्वकप इतिहासमा पाराग्वेले आयोजक राष्ट्रलाई कहिल्यै पराजित गर्न सकेको छैन । त्यसैले घरेलु समर्थकमाझ खेल्ने अमेरिकालाई यस खेलमा बलियो दाबेदार मानिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमली र पहाडी भू-भागका थोरै स्थानहरूमा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Read More

२०८३ जेठ ३० गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ ३० गते शनिबार ईस २०२६ जुन १३ नेपाल सम्बत ११४६ अनालागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, सुकर्मी योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेहुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज तपाईंमा ऊर्जा र आत्मविश्वास दुवै बढ्नेछ। काममा रोकिएका योजना अघि बढ्ने सम्भावना छ र नयाँ जिम्मेवारी पनि आउन सक्छ। मेहनतको राम्रो परिणाम पाउन सकिने दिन हो। आर्थिक पक्ष सामान्य सुधारतर्फ देखिए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी र समझदारीको वातावरण बन्न सक्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर पर्याप्त आराम लिनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र स्थिर सोचले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा साना चुनौती आए पनि समाधान सहज हुनेछ। पुराना प्रयासबाट लाभ मिल्ने संकेत छन्। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारमा आपसी समझदारी बढ्नेछ र सम्बन्ध अझ मजबुत बन्नेछ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। मानसिक शान्तिले दिन सहज बनाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज व्यस्तता बढ्नेछ तर उपलब्धिमूलक रहनेछ। धेरै जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने हुन सक्छ। सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ तर खर्च बढ्न सक्ने संकेत छ, त्यसैले सावधानी आवश्यक हुनेछ। परिवारसँगको समयले मन हल्का बनाउनेछ। नयाँ परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। घरमा खुसी र शान्त वातावरण रहनेछ। पुराना तनाव कम हुँदै जानेछन्। कार्यक्षेत्रमा मेहनतको कदर हुनेछ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता देखाउने राम्रो अवसर मिल्नेछ। तपाईंका विचारलाई महत्व दिइनेछ। आर्थिक रूपमा दिन राम्रो देखिए पनि ठूला निर्णय गर्दा सावधानी आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। परिवारको सहयोगले आत्मबल बढ्नेछ। ऊर्जा उच्च रहनेछ र काममा उत्साह बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन र सिकाइका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ। काममा सुधार देखिए पनि धैर्य आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम फिर्ता हुन सक्छ वा नयाँ आम्दानीका बाटो खुल्न सक्छन्। काममा सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सक्रियता बढ्नेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनतको राम्रो फल प्राप्त हुने दिन हो। प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका अवसर देखिन सक्छन्। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ योजना भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज उत्साह र ऊर्जा उच्च रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। काममा प्रगति देखिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वासले दिनलाई सफल बनाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ तर धैर्यले काम सहज बनाउनेछ। खर्चमा ध्यान दिनु आवश्यक छ। परिवारको सहयोगले मनोबल बढ्नेछ। काममा दबाब आउन सक्छ। स्वास्थ्यमा थकान हुन सक्छ, आराम आवश्यक छ। दिनको अन्त्यतिर सन्तोष मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो। काममा प्रगति देखिनेछ। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज मिश्रित दिन रहनेछ। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारको साथले मन शान्त रहनेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। अन्त्यतिर राम्रो संकेत वा समाचार प्राप्त हुन सक्छ ।

Read More