२०८३ जेष्ठ ३०

धादिङमा राष्ट्रसेवक कर्मचारी कुटपिट गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणका लागि पुगेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको थियो ।

प्रहरीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट खटिएका सव–इन्जिनियर सुरेश आले मगर र सुपरभाइजर हवेन्द्रकुमार यादवलाई स्थानीयवासी संजिव मल्लले स्थानीय स्तरमा ढलान गरिएको बाटो अनुमति नलिई प्रयोग गरेको भन्दै आक्रोशित भई कुटपिट गरेका थिए।

घटनामा सव–इन्जिनियर आले सामान्य घाइते भएका थिए भने सुपरभाइजर यादवको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि ललितपुरस्थित अस्पतालमा रिफर गरिएको थियो। हाल उनी उपचाररत रहेका छन् ।

घटनापछि फरार रहेका नीलकण्ठ नगरपालिका–४ निवासी ४० वर्षीय संजिव मल्ललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा प्रहरीले पक्राउ गरेको हो।

उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गम्भीर उत्तेजनामा आई कुटपिट गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।