२०८३ असार १

सन्नी देओल र अक्षय खन्नाको कोर्ट ड्रामा फिल्म इक्का नेटफ्लिक्समा जुलाई १० मा आउने

काठमाडौं । नेटफ्लिक्सले आफ्नो नयाँ कोर्ट ड्रामा बलिवुड फिल्म ‘इक्का’ को फर्स्ट लुक सार्वजनिक गरेको छ, जसमा सन्नी देओल र अक्षय खन्नाको मुख्य भूमिका रहनेछन् । निर्देशक सिद्धार्थ पी. मल्होत्रा रहेको यो चलचित्र आगामी जुलाई १० देखि नेटफ्लिक्समा स्ट्रिमिङ सुरु हुने भएको छ ।

यो चलचित्र सन्नी देओलको पहिलो नेटफ्लिक्स ओरिजिनल परियोजना पनि हो । कथा अदालतमा दायर भएको मुद्दामा आधारित छ, जहाँ न्याय, नैतिकता र विगतका निर्णयहरूले सिर्जना गर्ने परिणामलाई देखाइएको छ ।

चलचित्रमा सन्नी देओलले एक प्रसिद्ध वकिलको भूमिका निर्वाह गरेका छन्, जसलाई आफ्नै विगतसँग जोडिएको एक व्यक्तिको मुद्दा लड्न बाध्य हुनुपर्छ । उक्त पात्रमा अक्षय खन्ना देखिन्छन् । यस घटनाले वकिलको व्यक्तिगत र व्यावसायिक जीवनलाई ठूलो चुनौतीमा पार्छ ।

चलचित्रमा तिलोत्तमा शोमले दृढ सरकारी वकिलको भूमिका निभाएकी छन् भने दिया मिर्जाले परिवार जोगाउन संघर्षरत आमा तथा श्रीमतीको पात्रमा अभिनय गरेकी छन् ।

निर्माण पक्षका अनुसार यो कथा न्याय, सत्य र जिम्मेवारीको गहिरो द्वन्द्वमा आधारित छ । निर्देशक मल्होत्राले यो परियोजना लामो समयदेखि आफ्नो सपना रहेको र यसलाई शक्तिशाली अभिनय टोलीसँग प्रस्तुत गर्न पाउँदा विशेष अनुभव भएको बताएका छन् ।

चलचित्र ‘इक्का’ जुलाई १० देखि नेटफ्लिक्समा मात्र हेर्न सकिनेछ ।

Read More

सामाजिक सुरक्षा, स्वास्थ्य र स्थानीय विकास प्राथमिकतामा राख्दै काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । 

आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् ।

महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको छ ।

डंगोलले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै महानगरमा ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने घोषणा गरेकी छन् । साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने समेत घोषणा गरेकी छन्  ।

महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने र यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने घोषणा नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने उल्लेख गरिएको छ ।

साथै ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने उल्लेख गर्दै डंगोलले बन्चरेडाँडा म्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिने उल्लेख गरेकी छन् ।

त्यस्तै महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई अनलाइन एपमार्फत उपलब्ध गराउने र यसबाट महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक तथा सेवाग्राहीबीच आवश्यक जानकारी सहज रूपमा आदानप्रदान हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने उल्लेख गरिएको छ भने वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम संघ, प्रदेश, स्थानीय सरोकारवाला निकाय तथा विज्ञहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिने बताइएको छ ।

Read More

उत्तर कोरियामाथि अमेरिकाको थप कडाइ

काठमाडौँ । अमेरिकाले उत्तर कोरियात निर्यात हुने केही चिकित्सा उपकरणमाथि थप कडा नियन्त्रण लागू गरेको छ । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले नयाँ सूची सार्वजनिक गर्दै ती उपकरण निर्यात गर्न अब विशेष सरकारी स्वीकृति अनिवार्य हुने जनाएको छ ।

सूचीअनुसार अक्सिजन उत्पादन गर्ने उपकरण, प्रतिमिनेट एक लिटरभन्दा बढी प्रवाह क्षमता भएका पम्प, गामा इमेजिङ उपकरण, स्पर्श आधारित इमेजिङ प्रणाली, तापीय तस्बिर खिच्ने यन्त्र, शीत–सुकाउने तथा स्प्रे–सुकाउने उपकरण, प्रदूषणमुक्त बनाउने स्नान प्रणाली, प्रयोगशाला शेकर, इन्क्युबेटर शेकर तथा कार्बन डाइअक्साइड इन्क्युबेटर रहेका छन् र अब यी उपकरण  सामान्य अनुमतिपत्रको दायराबाट हटाइएका छन् ।

यसअघि कृषि उत्पादन, औषधि तथा केही चिकित्सा उपकरणहरू सामान्य अनुमतिपत्रमार्फत उत्तर कोरियात निर्यात गर्न सकिने व्यवस्था थियो । नयाँ नियमअनुसार सूचीमा रहेका उपकरण निर्यात गर्नुअघि विशेष अनुमति लिनुपर्नेछ। यो व्यवस्था तत्काल लागू भएको अमेरिकी पक्षले जनाएको छ ।

विश्लेषकहरूका अनुसार अमेरिकाले नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग हुन सक्ने उपकरणहरूको पहुँच सीमित गर्न यस्तो कदम चालेको हो । उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेका बेला यो निर्णय आएको हो । वासिङ्टन र सियोलसँग उत्तर कोरियाको आणविक कार्यक्रमबारे हुने वार्ता लामो समयदेखि अवरुद्ध रहेको छ ।

Read More

विश्वकपमा आजराती अनुभवी जर्मनी र नयाँ कुरासाओ आमने सामने

काठमाडौँ । जुलियन नागेल्समानको नेतृत्वमा रहेको जर्मनी २०२६ को विश्वकप उपाधि जित्ने मुख्य दाबेदारमध्ये भने राखिएको छैन । तर युवा खेलाडीले भरिएको यो टोलीसँग पर्याप्त अनुभव पनि छ, जसले गर्दा उनीहरू दबाबभन्दा बाहिर रहेर लामो यात्रा गर्न सक्ने टोलीका रूपमा हेरिएको छ ।

अर्कोतर्फ कुरासाओले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। अनुभवी प्रशिक्षक डिक एड्भोकाटको नेतृत्वमा यो सानो टापु राष्ट्रले ऐतिहासिक छनोट यात्रा पूरा गर्दै विश्वकपमा प्रवेश गरेको हो । जनसंख्याका हिसाबले विश्वकै सानो देशमध्ये पर्ने कुरासाओको यो उपलब्धिले विश्वभर धेरैलाई प्रेरित गरेको छ । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् र उनीहरू अप्रत्याशित नतिजा निकाल्न सक्षम मानिन्छन् ।

जर्मनीका लागि आक्रमणमा काइ हाभेर्ट्ज राम्रो लयमा देखिएका छन् । उनलाई लेरोय साने, जमाल मुसियाला र फ्लोरियन भिर्ट्ज जस्ता खेलाडीले अवसर सिर्जना गरेर सहयोग गर्ने अपेक्षा छ । गोलरक्षकमा अनुभवी म्यानुएल नोयर पुनः फिट भएका छन् । मध्यभागको जिम्मा कप्तान जोशुवा किमिखले सम्हाल्नेछन् । तर टोलीका लागि ठूलो झट्का भने ल्यानार्ट कार्लको चोट हो। बायर्न म्युनिखका यी युवा खेलाडी प्रतियोगिताअघि नै बाहिरिनु जर्मनीका लागि ठूलो क्षति मानिएको छ।

कुरासाओले छनोट चरणमा जमैका र ट्रिनिडाड र टोबेगो जस्ता टोलीलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । त्यसैले उनीहरूलाई कमजोर आँक्न मिल्दैन । टोलीका धेरै खेलाडी नेदरल्याण्ड्सको एरेडिभिसीमा खेल्छन् । कप्तान लेआन्ड्रो बाकुना टोलीको मुख्य आधार हुन् भने उनका भाइ जुनिन्हो बाकुनाको भूमिका पनि महत्वपूर्ण रहनेछ ।

म्यानचेस्टर युनाइटेडको युवा प्रणालीबाट आएका ताहिथ चोङ मध्यभागबाट आक्रमणमा तीव्र खतरा सिर्जना गर्न सक्छन् । कुरासाओले अवसर पाएमा प्रतिआक्रमणमा खेल बदल्ने प्रयास गर्नेछ  ।

जर्मनी सम्भावित सुरुआती टोली

म्यानुएल नोयर. जोशुवा किमिख, जोनाथन टा, निको श्लोटरबेक, डाभिड राउम, लिओन गोरेट्स्का, अलेक्जान्डर पाभ्लोभिच, लेरोय साने, जमाल मुसियाला, फ्लोरियन भिर्ट्ज, काइ हाभेर्ट्ज ।

कुरासाओ सम्भावित सुरुआती टोली

एलोय रुम, जुरलेन गारी, रिचेड्ली बेजोयर, आर्मान्डो ओबिस्पो. शेरेल फ्लोरानुस, लेआन्ड्रो बाकुना, लिभानो कोमेनेन्सिया, डेभेरोन फोनभिल, जुनिन्हो बाकुना, युर्गेन लोकेडिया, ताहिथ चोङ ।

Read More

फ्रान्स पुगे भारतका प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका क्रममा फ्रान्सको निस पुगेका छन् । 

प्रधानमन्त्री मोदी १३ देखि १८ जुनसम्म फ्रान्स र स्लोभाकियाको ६ दिने भ्रमणमा रहेका छन् । प्रधानमन्त्री बनेपछि उनको यो सातौँ फ्रान्स भ्रमण हो । भ्रमणका क्रममा उनी फ्रान्सका निस, एभियान र पेरिस शहर जानेछन् । उनी १३ र १४ जुन निसमा रहनेछन् ।

त्यसपछि १६ र १७ जुनमा एभियानमा हुने जी ७ देशको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । १८ जुनमा उनी पेरिसमा राष्ट्रपति इमान्युएल म्याक्रोँसँगै ‘भिभाटेक’ सम्मेलनमा सहभागी हुनेछन् ।

यस भ्रमणका क्रममा भारत र फ्रान्सबीच प्रविधि, नवप्रवर्तन, स्वास्थ्य प्रविधि, चिकित्सा प्रविधि, कृत्रिम बुद्धिमत्ता, अर्धचालक तथा अन्तरिक्ष प्रविधिसम्बन्धी करिब १२ वटा सहमतिमा हस्ताक्षर हुन सक्ने बताइएको छ ।

भेटवार्ताका क्रममा दुवै देशबीच ११४ वटा राफेल लडाकु विमान खरिदसम्बन्धी सम्झौतामाथि पनि महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। भारतले ती विमानमा आफ्नै हतियार प्रणाली जडान गर्न मिल्ने व्यवस्था चाहेको छ। यससँग सम्बन्धित स्रोत कोडको विषय पनि वार्तामा उठ्न सक्ने बताइएको छ।

यद्यपि उक्त सम्झौताले अझै भारत सरकारको सुरक्षा मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिबाट अन्तिम स्वीकृति पाएको छैन। प्रधानमन्त्रीको भ्रमणपछि मात्रै यसबारे अन्तिम निर्णय हुने जनाइएको छ।

Read More

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको क्रममा आज बेइजिङ पुगेका छन् ।

उनलाई विमानस्थलमा दूतावासकी कार्यवाहक राजदुत रोशन खनाल र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १२२ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँमा १७ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ६ जना घाइते भएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा २६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Read More

विश्वकपमा टर्कीविरुद्ध अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले जारी फिफा विश्वकपमा विजयी शुरुवात गरेको छ ।

आइतबार बिहान सम्पन्न समुह डी  अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा  नेस्टोरी इराङ्कुन्डा र कोनर मेटकाफले एक एक गोल गरेका थिए । अस्ट्रेलियाले खेलको २७औं मिनेटमा इराङ्कुन्डाको गोल गर्दै शुरुवाती अग्रता लिएकोमा दोस्रो हाफको ७५औं मिनेटमा मेटकाफले अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि समुह डी मा अस्ट्रेलियाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल जुन २० मा अमेरिकासँग र जुन २६ मा पराग्वेसँग खेल्ने तालिका छ । त्यस्तै टर्की भने यस खेलमा हार बेहोरेपछि दबाबमा परेको छ । अब टर्कीले जुन २० मा पराग्वेसँग र जुन २६ मा अमेरिकासँग खेल्ने तालिका छन् ।

Read More

अमेरिकासँग सम्भावित सम्झौताविरुद्ध इरानका विभिन्न सहरमा प्रदर्शन

काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा आइतबार सम्झौता हुन सक्ने अपेक्षाबीच इरानका विभिन्न सहरमा त्यसको विरोधमा प्रदर्शन भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सम्झौताबारे सार्वजनिक रूपमा धारणा व्यक्त गरेपछि विरोधका गतिविधि बढेका हुन् । यद्यपि इरानले भने सम्झौतामा हस्ताक्षर हुने मिति वा समयबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

सम्झौताको विरोध गर्ने समूहहरूले राजधानी तेहरानलगायतका स्थानमा प्रदर्शन गर्दै विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहमद बाघेर घालीबाफविरुद्ध नाराबाजी गरेका छन् ।

तेहरानको इब्न सिना चोकमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरू कट्टरपन्थी राजनीतिक समूह ‘पर्सिस्टेन्स फ्रन्ट’ निकट रहेको बताइएको छ । प्रदर्शनकारीहरूले अमेरिका–इरान सम्झौता राष्ट्रिय हितविपरीत हुने दाबी गरेका थिए ।

शनिबार साँझ विदेश मन्त्रालयको भवनअगाडि दर्जनौँ प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले विदेशमन्त्री अराघचीले अमेरिकासँग सम्भावित सम्झौताबारे दिएका अभिव्यक्तिको विरोध गरेका थिए । इरानको फार्स समाचार संस्थाले सार्वजनिक गरेको दृश्यमा प्रदर्शनकारीहरूले अराघचीविरुद्ध नाराबाजी गरेको देखिएको छ ।

सम्झौताको विरोध गर्ने पक्षको भनाइमा यस्तो सहमतिले इरानको हितलाई कमजोर बनाउने र विशेषगरी रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज क्षेत्रमा इरानको प्रभाव घट्ने उनीहरूको तर्क छ ।

विदेशमन्त्री अराघचीले हालै एक टेलिभिजन अन्तर्वार्तामा सम्भावित सम्झौतामा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषय समावेश हुन सक्ने बताएका थिए । उनले होर्मुज जलडमरूमध्यलाई इरानको प्रमुख प्रतिरोधात्मक तथा रणनीतिक क्षमतामध्ये एक भएको उल्लेख गरेका थिए ।

Read More

बर्दियामा सवारी दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु, दुई जना घाइते

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ लालपुरमा सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्।

मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुरका करिब ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेल रहेका छन् । उनी फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत थिए। दुर्घटनापछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा सो दुर्घटना भएको हो । हुलाकी सडक खण्डको लालपुर क्षेत्रमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले प्रहरी टोलीलाई ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका करिब ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार झा घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित मेडिकल कलेज कोहलपुर, बाँकेमा रिफर गरिएको छ ।

यस्तै ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी निवासी करिब ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल गुलरियामा भइरहेको प्रहरीले जनाएको छ ।

Read More