२०८३ असार १

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८४० मा कारोबार भएको थियो ।

Read More

टेम्पो भीरबाट फालेको विषयमा वन कार्यालय कैलालीले के भन्यो ?

काठमाडौँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कार्यालयले उक्त घटनाबारे गलत बुझाइ नहोस् भनी वास्तविकता स्पष्ट पारेको छ । कार्यालयका अनुसार सो क्षेत्र चुरे भेगअन्तर्गत पर्ने अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको वन क्षेत्र भएको र लामो समयदेखि सडक किनारको सार्वजनिक वन जमिनमा गैरकानुनी रूपमा भागबण्डा गर्ने, खोका–छाप्रा बनाउने र सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधि हुँदै आएको छ । वन प्रशासनले यसलाई समय–समयमा नियन्त्रण गर्दै आएको बताइएको छ ।

कार्यालयले जनाएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध रूपमा खोका–छाप्रा बनाइएको थियो । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो चल्ने अवस्थामा रहेको सवारी नभई चक्का र इन्जिन बिग्रिएको, सार्नसमेत कठिन हुने कवाडी संरचना मात्र भएको दाबी वन कार्यालयको रहेको छ । सो टेम्पोलाई पसलको टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरिएको कार्यालयको भनाइ छ ।

यसअघि एक महिना अघि नै सो संरचना हटाउन निर्देशन दिइएकोमा अन्य केही छाप्रा हटाइए पनि सो टेम्पोका सञ्चालक घनश्याम धामीले नहटाएको र वन कर्मचारीले धकेलेर उनको घरसम्म पुर्‍याइदिएको समेत उल्लेख छ । पछि सोही व्यक्ति फेरि टेम्पो ल्याएर सोही स्थानमा राखी पसल सञ्चालन गर्दै आएको बताइएको छ । पुनः हटाउन निर्देशन दिँदा समेत उनले अटेरी गर्दै अपशब्द प्रयोग गरेको र हटाउन अस्वीकार गरेको कार्यालयको भनाइ छ । जेठ २९ गते अतिक्रमण हटाउने अभियानका क्रममा सो कवाडी टेम्पो हटाउने प्रयास गर्दा भिरालो जमिन र असन्तुलनका कारण अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयको दावी छ ।

तर सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा टेम्पो धकेलेर भीरमा लडाइएको स्पष्ट देखिएको छ । सामाजिक संजालमा टेम्पो भीरबाट फालिएको विषयको चौतर्फी आलोचना भइरहेको छ ।

Read More

कति बने काँग्रेसका क्रियाशील सदस्य ?

काठमाडौँ । नेपाली कांग्रेसका ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । 

यसअघि काँग्रेसका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो विवरण वडा तहबाट अद्यावधिक गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । जस अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआइडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको फाराम वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा तहबाट अनलाइनमा प्रविष्ट भएका फाराम आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अनुमोदन नभएमा योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था गरिनेछ । 

इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्लासहित बारा र खोटाङमा भने सदस्यता अद्यावधिकको समयसीमा असार ७ गतेसम्म तोकिएको छ । त्यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि यो समय असार १० गतेसम्म कायम गरिएको छ । त्यस्तै नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम संकलन कार्य असार २० गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यस्तै, शुल्क नबुझाएका सदस्यहरूको हकमा सम्बन्धित तहका सभापतिहरूलाई यथाशीघ्र शुल्क संकलन गर्न निर्देशन दिइएको छ । शुल्क नबुझाउने सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी छुट भएका सदस्यहरूले असार २० गतेभित्र आफ्नो प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । आवश्यक विवरण प्रमाणसहित निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ । वडाबाट छुट भएका सदस्यताका लागि सम्बन्धित वडाले पनि थप समय माग गर्न सक्ने व्यवस्था गरिएको छ, जसअनुसार अधिकतम ७ दिनसम्मको अतिरिक्त समय दिन सकिने समितिले जनाएको छ ।

यस्तै, १५औँ महाधिवेशनलाई असर नपर्ने गरी सम्पूर्ण सदस्यता अद्यावधिक कार्यलाई समय मिलान गर्ने निर्णय गरिएको छ । त्यसैगरी ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै युवा केन्द्रित अभियानमार्फत नयाँ सदस्यता वितरण गर्ने निर्णय पनि गरिएको छ । विषय विज्ञमार्फत प्रवेश पाउने तथा विभिन्न कारणले विदेशमा रहेका सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि असार २० गतेसम्म सञ्चालन हुने भएको छ ।

त्यस्तै पुराना सदस्यता नम्बर रहेका सदस्यहरूको हकमा उनीहरूको पुरानो सदस्यतालाई निरन्तरता दिई अद्यावधिक कायम गरिने जनाइएको छ । त्यस्तै, पहिले संकलित तर प्रणालीमा प्रविष्ट नभएका नामहरू पनि असार ७ गतेभित्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले निर्णय गरेको छ ।

Read More

‘मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन’ : प्रधानमन्त्री बालेन शाहको रोचक प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफूले समर्थन गर्ने देश विश्वकपमा सहभागी नै नभएको बताएका छन्।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले विश्वकपका क्रममा धेरै साथीभाइले आफ्नो मनपर्ने टोलीबारे जिज्ञासा राखेको उल्लेख गरेका छन्। विश्वकपको माहोल तातेका बेला समर्थकहरू आ–आफ्ना फेभरेट देशको पक्षमा खुलेर उत्रिरहेका छन्। यस्तै चर्चाबीच शाहले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुक स्टाटसमार्फत उनले लेखेका छन्, धेरैजना साथीभाइले सोध्नुभयो, तपाईंको फेभरेट देश कुन हो विश्वकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।”

शाहको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा रोचक शैलीको प्रतिक्रियाका रूपमा हेरिएको छ। उनको उक्त स्टाटसपछि प्रयोगकर्ताहरूले विभिन्न टिप्पणी गर्दै उनले संकेत गरेको देशबारे अनुमानसमेत लगाइरहेका छन्।

Read More

जंगली हात्तीको आक्रमणमा झापामा एक महिलाको मृत्यु

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जङ्गल क्षेत्रबाट अचानक आएको जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

स्कटल्यान्डको ३६ वर्षपछि विश्वकपमा ऐतिहासिक जित

काठमाडौँ । स्कटल्यान्डले जारी फिफा विश्वकपमा ३६ वर्षपछि पहिलो जित दर्ता गरेको छ । शनिबार समूह ‘सी’ अन्तर्गत भएको खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गरेको हो ।

स्कटल्यान्डको जितमा जोन म्याकगिनले खेलको २८औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । चे एडम्सको प्रहार गोलरक्षक जोनी प्लासिडेबाट फर्किएपछि आएको बलमा म्याकगिनले गरेको प्रहार विपक्षी रक्षकमा ठोक्किँदै जाली चुमेको थियो ।

सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले विश्वकपमा अन्तिम पटक सन् १९९० मा स्विडेनलाई २–१ ले हराउँदै जित निकालेको थियो । त्यसयता टोलीले विश्वकपमा जित हात पार्न सकेको थिएन ।

यसअघि शनिबार नै समूहका बलिया टोली ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेपछि स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा मात्र सहभागी भएको हैटी भने अझै विश्वकपमा पहिलो अंकको खोजीमा छ ।

खेलको १७औँ मिनेटमा स्कटल्यान्डका कप्तान स्कट म्याकटोमिनेले गरेको प्रहार पोस्टको माथिल्लो भागमा लाग्दै बाहिरिएपछि टोली गोल गर्नबाट वञ्चित भएको थियो ।

दोस्रो हाफमा हैटीले बराबरी गोलका केही अवसर सिर्जना गरेको थियो। ७४औँ मिनेटमा रुबेन प्रोभिडेन्सले दिएको पासलाई विल्सन इसिडोरले सदुपयोग गर्न सकेनन्। ८४औँ मिनेटमा फ्रान्ट्ज्डी पिएरोटको हेडर पनि गोलपोस्टको देब्रेपट्टि बाहिरिएको थियो ।

अब स्कटल्यान्डले जुन २० मा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने जुन २५ मा ब्राजिलको सामना गर्ने छ । त्यस्तै हैटीले जुन २० मा ब्राजिलको र जुन २५ मा मोरक्कोको सामना गर्ने छ ।

Read More

जलवायु संकट: तापक्रमले २०३० सम्ममा १.५ डिग्रीको सीमा नाघ्ने

काठमाडौं । जलवायु परिवर्तनका कारण पृथ्वी पहिलेभन्दा तीव्र गतिमा तात्दै गएको छ । यदि हरितगृह ग्यास उत्सर्जन अहिलेको गतिमा नै जारी रह्यो भने सन् २०३० भित्रै तापक्रम १.५ डिग्री सेल्सियसको महत्वपूर्ण सीमा पार गर्ने जोखिम बढ्दै गएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यसको असर समुद्र, कृषि, खाद्य सुरक्षा, जैविक विविधता, अर्थतन्त्र र मानव स्वास्थ्यसम्म गम्भीर रूपमा देखिने बताइएको छ ।

‘अर्थ सिस्टम साइन्स डाटा’ मा प्रकाशित अध्ययनअनुसार सन् २०२५ मा पृथ्वीको औसत तापक्रम औद्योगिक युगभन्दा अगाडिको स्तरको तुलनामा करिब १.३९ डिग्री सेल्सियसले बढिसकेको छ । विज्ञहरूका अनुसार यो अतिरिक्त तापक्रम पूर्ण रूपमा मानव गतिविधिका कारण उत्पन्न भएको हो । जीवाश्म इन्धनको व्यापक प्रयोग, उद्योगबाट निस्कने कार्बन प्रदूषण र ठूलो स्तरको वन विनाश यसका प्रमुख कारण हुन्। पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि दर पहिलेका दशकहरूको तुलनामा अझ तीव्र भएको पनि अध्ययनले देखाएको छ ।

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा विश्वका देशहरूले तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा निकै कम राख्ने र सम्भव भए १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य लिएका थिए। वैज्ञानिकहरूका अनुसार यही सीमाभित्र रहन सकिए जलवायु परिवर्तनका विनाशकारी असर धेरै हदसम्म रोक्न सकिन्छ।

समुद्री सतहको निरन्तर वृद्धि तटीय क्षेत्रका लागि ठूलो जोखिम बन्दै गएको छ। अध्ययनअनुसार सन् १९०१ यता विश्व समुद्र सतह करिब २३ सेन्टिमिटर बढिसकेको छ। समुद्रको तापक्रम पनि निरन्तर बढ्दै गएको छ, जसका कारण समुद्री ताप लहरका घटना बढेका छन्। यसले प्रवाल भित्ति, माछा तथा अन्य समुद्री जीवमा गम्भीर असर पारेको छ। सन् १९९१ को तुलनामा समुद्री ताप लहरका दिनहरू तीन गुणाभन्दा बढी बढिसकेको अध्ययनले देखाएको छ।

वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रम, समुद्री सतह वृद्धि, चरम मौसमी घटना र पारिस्थितिक प्रणालीमाथिको दबाब विश्वका लगभग सबै क्षेत्रमा महसुस भइरहेको छ। यद्यपि अवस्था अझै पूर्ण रूपमा नियन्त्रण बाहिर गएको छैन, तर तत्काल कदम चालिए अझै रोक्न सकिने उनीहरूको भनाइ छ ।

विज्ञहरूले हरितगृह ग्यास उत्सर्जनमा तीव्र कटौती, स्वच्छ ऊर्जातर्फ छिटो रूपान्तरण र जलवायु निगरानी प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

Read More

अमेरिका-इरान शान्ति सम्झौता आज हुने ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । उनले सम्झौता भएपछि होर्मुज जलडमरूमध्य सबै जहाजका लागि पुनः खुला गरिने बताएका छन् ।

ट्रम्पले उक्त सम्झौताअन्तर्गत अमेरिकाले इरानलाई कुनै आर्थिक सहायता नदिने पनि स्पष्ट पारेका छन् । उनले पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनमाथि इरानलाई अर्बौं डलर उपलब्ध गराएको आरोप लगाउँदै त्यसमा १ अर्ब ७० करोड डलर नगद रकम समेत रहेको दाबी गरेका छन् ।

उनका अनुसार क्षेत्रीय अवस्था सामान्य बनेपछि अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित सामग्री पूर्ण रूपमा नष्ट गर्नेछ । उनले यो काम इरानमै वा अमेरिकामा समेत गर्न सकिने बताएका छन् ।

ट्रम्पले भविष्यमा अमेरिका, इरान र समग्र मध्यपूर्वबीच अझ राम्रो सम्बन्ध स्थापना गर्न चाहेको बताए । तर उनले शान्ति प्रक्रिया सफल नभए अमेरिकासँग अन्तिम विकल्प पनि रहेको चेतावनी दिँदै त्यसलाई पुनः प्रयोग गर्न नचाहेको उल्लेख गरेका छन् ।

यसैबीच, अल जजिराका अनुसार अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे इरानमा धारणा विभाजित देखिएका छन् । केहीले युद्ध चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् भने कतिपयले हालैका अमेरिकी गतिविधिपछि अमेरिकामाथि विश्वास गर्न कठिन भएको बताएका छन् ।

अमेरिका नै पटक-पटक आफ्ना प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउँदै इरानले आफ्नो वाचा कहिल्यै नतोडेको दाबी गरिएको छ । अमेरिका फेरि सम्झौताबाट पछि हटे वा इरानमाथि आक्रमण गरे इरानी सेनाले पहिलेभन्दा अझ कडा जवाफ दिने चेतावनी समेत इरानले दिएको छ ।

Read More

३० हजार ट्रामाडोल क्याप्सुल बरामद, तीन जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश नम्बर बीएडी ९२०१ को रातो रङको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल लुकाएर ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले कारको खोजी गरेको थियो।

जेठ ३० गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२३ स्थित गैरी गाउँबाट नख्खुतर्फ आउँदै गरेको अवस्थामा उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल फेला पारेको थियो। रोक्न संकेत गर्दा पनि दुवै सवारीसाधन नरोकी भाग्न खोजेपछि प्रहरीले कारको पछाडिको दाहिने टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।

त्यसपछि गरिएको खानतलासीका क्रममा कारको पछाडिको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा कारमा सवार एक जना र मोटरसाइकलमा रहेका दुई जना गरी तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सितामढी जिल्लाको जानकी स्थान–१८ निवासी ३२ वर्षीय अहमद लड्न तथा जानकी स्थान–६ निवासी ३३ वर्षीय महमद सद्दाम रहेका छन्।

प्रहरीले घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोल, एउटा सुजुकी कार, एउटा मोटरसाइकल तथा पाँच थान मोबाइल फोन बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

Read More

उमेर घटाउने प्रविधिको पहिलो मानव परीक्षण शुरु

काठमाडौँ । चिकित्सा विज्ञानको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक मानिएको बुढ्यौलीको प्रभाव उल्ट्याउने उपचार प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ । पहिलो पटक उमेर बढ्दै जाँदा शरीरमा पर्ने असरलाई कम गर्ने उद्देश्यले विकसित गरिएको विशेष सुई एक व्यक्तिमा प्रयोग गरिएको छ ।

अमेरिकाको बोस्टनस्थित जैविक प्रविधि कम्पनी ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई कोशिका पुनःकार्यक्रमीकरण प्रविधिमा आधारित सुई दिइएको जनाएको छ । परीक्षणअन्तर्गत कालो मोतियाबाट पीडित एक बिरामीको एउटा आँखामा उक्त सुई प्रयोग गरिएको हो ।

यस परीक्षणको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः सक्रिय र युवा अवस्थाजस्तै बनाउनु रहेको छ । वैज्ञानिकहरूले आगामी ६ महिनासम्म यसको प्रभाव तथा सम्भावित दुष्प्रभावबारे निगरानी गर्नेछन् ।

चिकित्सक र अनुसन्धानकर्ताहरूले अब बिरामीको स्वास्थ्य अवस्थामाथि निरन्तर सूक्ष्म अध्ययन गर्नेछन्, जसबाट यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ वा छैन भन्ने पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपचार प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा एकपटक मात्र दिइने जीन उपचारसम्बन्धी सुई लगाइएको छ। त्यसपछि केही सातासम्म विशेष प्रकारका जीवाणुनाशक औषधिको सेवन गराइनेछ ।

यी औषधिले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनलाई सक्रिय बनाउने काम गर्नेछन् । ती जीन सक्रिय भएपछि कोशिकाहरूलाई पुनः युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यो प्रविधिले दृष्टि क्षमतामा उल्लेखनीय सुधार ल्याएको थियो ।

मानव परीक्षणका लागि आँखालाई छनोट गर्नुको कारण शरीरका अन्य अङ्गको तुलनामा आँखालाई अलग र सुरक्षित रूपमा अध्ययन गर्न सकिने भएकाले हो। यसले सम्भावित दुष्प्रभावको निगरानी गर्न पनि सहज बनाउँछ ।

लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलफलिनले यो उपलब्धि केवल आफ्नो कम्पनी वा बुढ्यौलीसम्बन्धी जीवविज्ञानका लागि मात्र नभई सम्पूर्ण चिकित्सा विज्ञानका लागि सम्भावित रूपमा ऐतिहासिक र परिवर्तनकारी क्षण भएको बताएका छन् ।

यदि यो क्लिनिकल परीक्षण सफल भयो भने बुढ्यौलीसम्बन्धी उपचार क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने विश्वास गरिएको छ । यसको दीर्घकालीन लक्ष्य शरीरका सबै कोशिकालाई पुनः सक्रिय र युवा बनाउनुका साथै उमेर बढ्दै जाँदा वंशाणु सामग्रीको कार्यप्रणालीमा हुने परिवर्तनलाई सुधार गर्नु रहेको छ ।

यस प्रविधिमा विश्वका ठूला लगानीकर्ताहरूले समेत चासो देखाएका छन्। अमेजनका संस्थापक जेफ बेजोस तथा ओपनएआईका प्रमुख स्याम अल्टम्यानसहित विभिन्न लगानीकर्ताले यस क्षेत्रमा लगानी गरेका छन् । साथै विश्वका प्रमुख औषधि उत्पादक कम्पनीहरूले पनि यस प्रविधिमा लगानी विस्तार गरिरहेका छन् ।

यसअघि मुसा र बाँदरसम्म सीमित रहेको अनुसन्धान अब मानव परीक्षणको चरणमा प्रवेश गरेको छ।

Read More