२०८३ श्रावण १०

सभामुख अर्यालको सरकारलाई रुलिङ : सांसदले उठाएका विषयमा जवाफ दिन निर्देशन

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयमा स्पष्ट जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न महत्त्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै ती विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

विशेषगरी कर्णाली प्रदेशमा हालै भएको सवारी दुर्घटनाबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

Read More

रुसको ब्यालिस्टिक मिसाइल आक्रमणमा किभमा कम्तीमा १० जनाको मृत्यु, ४६ जना घाइते

काठमाडौं । युक्रेनको राजधानी किभमा सोमबार बिहान रुसले ब्यालिस्टिक मिसाइल प्रहार गर्दै व्यापक आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

किभका मेयर भिटाली क्लित्च्कोले टेलिग्राममार्फत जानकारी दिँदै ऐतिहासिक पोदिल जिल्लास्थित एक भवनको सातौँ र नवौँ तल्लाको भग्नावशेषमा अझै धेरै मानिस फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

किभ सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोका अनुसार पोदिल्स्की जिल्लाको एक आवासीय भवन आंशिक रूपमा भत्किएको छ। डार्नित्सिया जिल्लाका कयौँ बहुमञ्जिला भवनमा पनि क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरू भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ।

“ती सर्वसाधारण बसोबास गर्ने आवासीय भवन हुन्, जहाँ मानिसहरू सुतिरहेका थिए,” त्काचेन्कोले बताएका छन्।

यस्तै, किभ क्षेत्रका गभर्नर माइकोला कालाश्निकका अनुसार किभनजिकैको बुचा सहरमा पनि रुसी आक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

यसअघि गत बिहीबार रुसले किभमा गरेको अर्को आक्रमणमा कम्तीमा ३० जनाको ज्यान गएको थियो। यस वर्षकै सबैभन्दा घातक मानिएको उक्त आक्रमणपछि किभमा शोक दिवससमेत घोषणा गरिएको थियो।

Read More

म्याग्दीको मालिका गाउँपालिकाद्वारा दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई सम्मान

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटमार्फत आइतबार दरवाङमा आयोजित कार्यक्रममा प्रत्येक जोडीलाई तीन हजार पाँच सय रुपैयाँ नगद प्रदान गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद कायम रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सदियौँदेखि जरा गाडेर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विभेद अन्त्यको सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे।

गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्षहरू उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं. १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटालगायत जनप्रतिनिधिहरूले सम्बन्धित जोडीहरूलाई सम्मान गरेका थिए।

कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद तथा अदृश्य हिंसा भोगिरहेका जोडीहरूलाई सम्मान गरिएको उल्लेख गर्दै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्।

Read More

मध्यपूर्व तनाव घटेसँगै ओपेक प्लसको उत्पादन बढ्न सक्ने विश्लेषण

काठमाडौं। मध्यपूर्वमा भू–राजनीतिक तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यातक देशहरूको संगठन ओपेक प्लसले आगामी महिनामा तेल उत्पादन कोटा बढाउन सक्ने बजार विश्लेषणहरूले संकेत गरेका छन्।

साउदी अरब र रुससहितका प्रमुख सदस्य राष्ट्रहरू आगामी अगस्ट महिनाको उत्पादन परिमाणबारे भर्चुअल बैठकमार्फत छलफल गर्ने तयारीमा छन्। स्विस बैंक यूबीएसका वस्तु विश्लेषक जियोभानी स्टोनोभोका अनुसार ओपेक प्लसले अघिल्ला महिनामा लागू गरिएको उत्पादन कटौतीलाई क्रमशः फिर्ता गर्दै दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन बढाउन सक्ने सम्भावना देखिएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्व द्वन्द्वका क्रममा स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधले आपूर्ति शृंखलामा दबाब सिर्जना गरेको थियो। तर पछिल्ला कूटनीतिक विकासपछि समुद्री मार्गमा आवागमन सहज बन्दै गएको र आपूर्ति स्थिति क्रमशः सामान्य हुँदै गएको देखिन्छ।

Read More

मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकप क्वाटरफाइनलमा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत रोमाञ्चक खेलमा इङ्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले अग्रता जोगाउँदै कठिन जित निकाल्यो।

पहिलो हाफमै इङ्ल्यान्डले खेल नियन्त्रणमा लिँदै २–१ को अग्रता बनायो। ३६औं मिनेटमा जुड बेलिङ्घमले हेडरमार्फत गोल गर्दै खाता खोले भने ३८औं मिनेटमा ह्यारी केनको पासमा दोस्रो गोल थपे। ४२औं मिनेटमा जुलियन क्युनियोनसले मेक्सिकोका लागि एक गोल फर्काउँदै खेलमा फर्काउने प्रयास गरे।

दोस्रो हाफ थप नाटकीय बन्यो। ५४औं मिनेटमा इङ्ल्यान्ड १० खेलाडीमा सीमित भयो जब जरेल वानसाहले रातो कार्ड पाए। त्यसपछि पनि इङ्ल्यान्डले ६९औं मिनेटमा पेनाल्टीमार्फत ह्यारी केनको गोलसँगै ३–१ को अग्रता बनायो।

मेक्सिकोका गोलकिपर रुल रेन्जलले इङ्ल्यान्डका एन्थोनीलाई फाउल गरेपछि पेनाल्टी प्राप्त भएको थियो। त्यसको केही मिनेटमै मेक्सिकोले पनि पेनाल्टी पायो र राहुल जिमिनेजले गोल गर्दै खेल ३–२ मा ल्याए।

त्यसपछि बाँकी समय मेक्सिकोले लगातार दबाब सिर्जना गरे पनि इङ्ल्यान्डले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो। यस जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ र अब उसले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।

Read More

काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी सवारी नियम उल्लङ्घनमा कारबाही

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, सिग्नल बत्ती उल्लङ्घन गर्ने १५९ जना र तीव्र गतिमा सवारी चलाउने २०२ जना रहेका छन्।

त्यस्तै लेन अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पेटी तथा सार्वजनिक स्थानमा पार्किङ गर्ने ११०, एकतर्फी नियम उल्लङ्घन गर्ने ६६ र अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ५५ जना कारबाहीमा परेका छन्।

कारबाहीबाट कुल १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Read More

प्रतिनिधि सभामा विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल आज

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। त्यसअघि सो विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव सभामा प्रस्तुत गरिनेछ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित दुई महासन्धिमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। तीमध्ये बाध्यकारी श्रमसम्बन्धी महासन्धि (१९३०) को २०१४ को प्रोटोकल नम्बर–२९ र श्रम निरीक्षणसम्बन्धी महासन्धि (१९४७) नम्बर–८१ समावेश छन्।

सचिवालयका अनुसार आजको बैठकमा विधेयक तथा महासन्धिमाथि प्रारम्भिक छलफल गरी सम्बन्धित समितिमा पठाउने र आवश्यक संसदीय प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।

Read More

राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२:१५ बजे सुरु हुनेछ।

महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिइनेछ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा पनि छलफल हुनेछ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विज्ञान तथा प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको पनि मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

समयमै काम नभएपछि सुर्खेतमा ४ निर्माण ठेक्का रद्द

काठमाडौं। पटकपटक ताकेता र म्याद थप गर्दा पनि काम पूरा नभएपछि सडक डिभिजन सुर्खेतले चार निर्माण ठेक्का सम्झौता अन्त्य गरेको छ।

डिभिजनका सूचना अधिकारी रुपेश केसीका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका शर्तअनुसार समयमै काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो। सम्बन्धित निर्माण व्यवसायीलाई पटकपटक लिखित तथा मौखिक निर्देशन दिइए पनि सन्तोषजनक प्रगति नभएपछि यस्तो निर्णय गरिएको डिभिजनले जनाएको छ।

ठेक्का रद्द गरिएका आयोजनामा गोचे खोलामाथि सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा पुल निर्माण, सुर्खेत–जुम्ला सडकअन्तर्गत खुर्रा खोलामा आरसिसी पुल निर्माण तथा रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डको सडक पुनःस्थापना र संरक्षण कार्य रहेका छन्।

डिभिजनले सार्वजनिक खरिद ऐनको दफा ५९(७) तथा ठेक्का सम्झौताको जीसीसी प्रावधानअनुसार सम्झौता अन्त्य गरिएको जनाएको छ। साथै, पोस्ट टर्मिनेसन मूल्यांकनपछि कानुनी प्रक्रिया अघि बढाइने र सरकारलाई भएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाट असुलउपर गरिने उल्लेख गरिएको छ।

डिभिजनले सूचना प्रकाशित भएको १५ दिनभित्र सम्बन्धित व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक गर्न पनि आग्रह गरेको छ। पछिल्लो समय निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा आयोजना ढिलाइ हुने समस्या बढ्दै गएपछि सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ।

Read More

पोखरा–दुबई उडान दिगो बनाउन फ्लाइ दुबई र पर्यटन व्यवसायीबीच छलफल

काठमाडौं। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई नियमित हवाई उडानलाई दीर्घकालीन र प्रभावकारी बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ।

पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखरासँग आइतबार भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले स्थानीय समुदाय र सरोकारवालाको सहयोगले उडानलाई दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार यो उडानमार्फत गण्डकी प्रदेशका यात्रुले दुबई हुँदै विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तरराष्ट्रिय उडानलाई सफल बनाउन निजी क्षेत्रबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए। फ्लाइ इमिरेट्सका नेपाल महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको बताए।

छलफलमा पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानको अनुमति दिएको थियो। कम्पनीले उडान तालिका सार्वजनिक गर्दै सन् २०२७ मार्च २६ सम्मका लागि बुकिङ खुला गरिसकेको छ।

झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हालसम्म नियमित अन्तरराष्ट्रिय उडानविहीन रहेको अवस्थामा फ्लाइ दुबईको सेवा सुरु हुन लागेकाले यसले पोखराको पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Read More