२०८३ श्रावण २५

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेले छलफल गर्न लागेका हुन् । छलफलका लागि कम्पनीका उच्चपदस्थ विदेशी अधिकारी तथा नेपाली साझेदारलाई मन्त्रालयमा बोलाइएको छ ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजे सुरु हुने छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत प्राप्त गरेका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुने जनाइएको छ ।

त्यसक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी आकर्षित गर्न, रोजगारीका अवसर बढाउन तथा कम्पनीले आर्जन गरेको प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणबारे कम्पनीका प्रतिनिधिलाई आफ्ना धारणा खुलस्त राख्न आग्रह गर्नेछन् । साथै, समस्या तथा सुझाव लिखित रूपमा समेत उपलब्ध गराउन भनिनेछ ।

बजेट कार्यान्वयनसम्बन्धी छलफलको यही शृङ्खलामा यसअघि अर्थमन्त्री वाग्लेले उत्पादनमूलक क्षेत्रमा लगानी गरी ठूलो रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यसैगरी, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग समेत बजेट कार्यान्वयनका विषयमा छलफल गरिसकेका छन् ।

Read More

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यढाँचा सार्वजनिक

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको कार्य सञ्चालनसम्बन्धी प्रस्तावित ढाँचा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त ढाँचालाई आधार बनाएर मन्त्रालयसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री पुनले मन्त्रालयको संस्थागत संरचनासहितको कार्यढाँचा सार्वजनिक गर्दै वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा मन्त्रालयका शुभेच्छुकबाट आवश्यक सुझाव मागेका छन् । उनले ढाँचामा कुनै महत्वपूर्ण त्रुटि भए त्यसबारे जानकारी गराउन तथा सुधारका लागि ठोस र उपयोगी सुझाव दिन आग्रह गरेका छन् ।

पुनका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसम्बन्धी विधेयकको मस्यौदा निर्माण कार्य करिब दुई महिनादेखि जारी छ । सार्वजनिक गरिएको ढाँचालाई विधेयक निर्माणको आधारका रूपमा प्रयोग गरिने उनले बताएका छन् ।

प्रस्तावित संस्थागत संरचनामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्धन केन्द्र, कोषलगायत विभिन्न सम्बद्ध निकायको संरचना र भूमिकाको खाका समेटिएको छ ।

Read More

मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको अभाव झेलिरहेका किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मलको आपूर्ति तथा वितरणमा देखिएको समस्या समाधान गर्न कालोबजारी र बिचौलियामाथि प्रभावकारी निगरानी तथा नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले रोपाइँ सकिइसक्दा पनि मधेशसहित देशका विभिन्न क्षेत्रमा किसानले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसकेको उल्लेख गरेका छन् । सरकारले समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार आपूर्ति व्यवस्था प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

उपलब्ध मलसमेत कालोबजारी तथा बिचौलियाका कारण किसानसम्म समान र सहज ढङ्गले पुग्न नसकेको गुनासो व्यापक रहेको प्रचण्डले बताएका छन् । किसानले आवश्यक समयमा मल नपाउँदा कृषि उत्पादनमा समेत असर पर्न सक्ने भन्दै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले समयमै मल आयात तथा वितरणको व्यवस्था मिलाउनुका साथै आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको प्रचण्डले स्मरण गरेका छन् ।

नेपालमा मल आयातको प्रक्रिया जटिल भएकाले आवश्यक तयारी समयमै गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी वर्षका लागि समेत अहिलेदेखि नै योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले मल आयातको प्रक्रिया शीघ्र पूरा गरी पर्याप्त परिमाणमा रासायनिक मल उपलब्ध गराउन, आगामी वर्षको आवश्यकताका लागि समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । साथै, किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन् ।

Read More

चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ। चितवनमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, नर्फिन र फेनारगनलगायत औषधि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Read More

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा केहीबेर अघिदेखि राजदूतहरूसँग भेटवार्ता गरिरहेका छन् । यसअघि राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज भने एक–एक गरी भेटवार्ता गर्न लागेका हुन् ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ ।

Read More

रियादको सोफा कारखानामा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

काठमाडौँ । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । आगलागीमा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधिकारीसँग समन्वय गरी मृतकको पहिचान पुष्टि गर्ने, शव हस्तान्तरण तथा अन्य कानुनी प्रक्रिया अघि बढाउने काम गरिरहेको जनाएको छ ।

घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन दूतावासले टोली परिचालन गरेको छ । मृतकको पहिचान पुष्टि, कानुनी औपचारिकता पूरा गर्ने तथा पीडित परिवारलाई आवश्यक सहजीकरण गर्ने कामलाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मुसा सनैया क्षेत्रमा भएको आगलागीमा प्रवासी बङ्गलादेशी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । घटनाको खबर पाएपछि दूतावासको प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेर विस्तृत विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । मृतकको पहिचान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन् । रियादमा भएको पछिल्लो घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

Read More

विद्युत् सर्ट हुँदा रौतहटमा घरमा आगलागी, १९ लाखभन्दा बढीको क्षति

काठमाडौं रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा विद्युत् सर्ट भएर आगलागी हुँदा १९ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे स्थानीय दिपेन्द्र खरेलको काठले बनेको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीमा घरभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन् ।

आगो लागेको सूचना पाएपछि प्रहरी चौकी दुधिअवा, इलाका प्रहरी कार्यालय लक्ष्मिनिया र सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिए पनि नियन्त्रणमा नआएपछि बाराको कोल्हवी नगरपालिकाबाट दमकल बोलाइएको थियो ।

दमकलको सहयोगमा आगलागी सुरु भएको करिब दुई घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।

प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार आगलागीमा इलेक्ट्रोनिक उपकरण, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, करिब २ लाख रुपैयाँ नगद तथा करिब ३ तोला सुनका सिक्री र औँठी जलेर नष्ट भएका छन् ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट कुल १९ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

Read More

१२ कम्पनीका १६ करोडभन्दा बढी सेयर लकइनबाट खुल्दै, आपूर्ति बढ्ने चिन्ता

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा विभिन्न समूहका लागि छुट्याइएको ठूलो परिमाणको सेयरको लकइन अवधि सकिने क्रम सुरु भएको छ । साउन र भदौमा मात्रै १२ कम्पनीका संस्थापक तथा प्रमोटर, कर्मचारी, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लगायतका समूहको करिब १६ करोड ५ लाख ४४ हजार १३८ कित्ता सेयर लकइनबाट बाहिरिने भएको छ ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानुनी तथा नियामकीय प्रावधान पूरा गरी ती सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । यससँगै बजारमा कारोबारयोग्य सेयरको आपूर्ति बढ्ने भएकाले लगानीकर्ताको चासोसमेत बढेको छ ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लकइन खुलेपछि बजारले त्यसलाई कसरी ग्रहण गर्छ भन्ने आधारमा बजारको दिशा प्रभावित हुन सक्ने बताए । उनका अनुसार लकइन अवधि समाप्त हुनु लगानीकर्ताका लागि अवसरसँगै चुनौती पनि हो ।

आगामी भदौ मसान्तसम्म लकइन अवधि समाप्त हुने कम्पनीमा भुजुङ हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, अपर लोहोरे खोला हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, भागवती हाइड्रोपावर डेभलपमेन्ट, माण्डु हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

यीमध्ये कतिपय कम्पनीमा हाल कारोबार भइरहेको सेयरको तुलनामा लकइनमा रहेको सेयरको मात्रा निकै ठूलो छ । भुजुङ हाइड्रोपावरमा कारोबारयोग्य सेयर करिब ९ लाख कित्ता रहेकामा ८० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर र १० लाख ७० हजार कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयर लकइनमा रहेको छ ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्समा हाल कारोबारयोग्य सेयर १० लाख ९८ हजार २०० कित्ता रहेको छ भने संस्थापक तथा प्रमोटर समूहको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता सेयर लकइनमा छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि ठूलो परिमाणको सेयर लकइनबाट बाहिरिँदैछ । कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता संस्थापक तथा प्रमोटर सेयरसँगै ७ लाख ७१ हजार ५२० कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयरको लकइन अवधि समाप्त हुँदैछ । यसअनुसार कम्पनीको कुल ३ करोड ७१ लाख ४९ हजार १२० कित्ता सेयर लकइनबाट बाहिरिनेछ ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ३ करोड कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता, होटल फरेस्ट इनको १ करोड ६० लाख कित्ता, सुपर खुदी हाइड्रोपावरको १ करोड २४ लाख कित्ता र माण्डु हाइड्रोपावरको १ करोड २० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ ।

ठूलो परिमाणमा सेयर कारोबारयोग्य बन्न लागेपछि बजारमा बिक्रीको दबाब बढ्न सक्ने आशंका लगानीकर्ताले गरेका छन् । विशेषगरी संस्थापक तथा ठूला सेयरधनीले लकइन खुलेलगत्तै सेयर बिक्री गर्न थालेमा सम्बन्धित कम्पनीको सेयर आपूर्ति बढेर मूल्यमा दबाब पर्न सक्ने देखिन्छ ।

यद्यपि, लकइन अवधि समाप्त हुँदैमा सबै सेयर तत्काल बजारमा बिक्रीका लागि आउने भने होइन । लकइन खुलेपछि सेयर बिक्री गर्ने वा आफ्नो लगानी कायम राख्ने निर्णय सम्बन्धित सेयरधनीकै हुन्छ । त्यसैले वास्तविक बिक्री चाप कति हुन्छ भन्ने कुरा बजारको माग, सम्बन्धित कम्पनीको वित्तीय अवस्था, सेयर मूल्य तथा ठूला सेयरधनीको लगानी रणनीतिमा निर्भर हुनेछ ।

Read More

महँगो हवाई भाडाले पर्यटन क्षेत्र प्रभावित भएको सोट्टो नेपालको भनाइ

काठमाडौं। सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको जनाएको छ ।

सोट्टो नेपालले पर्यटन पत्रकारसँग गरेको अन्तरक्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने विदेशी पर्यटक प्रभावित भइरहेको बताए ।

उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्डलाई बलियो बनाउन तथा अव्यावहारिक कर र नियम हटाउन सरकारसँग माग गरे । अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताए ।

सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ ।

कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले संस्थाले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवद्र्धन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार सिङ्गापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपादेउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिएको सोट्टो नेपालले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवद्र्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

Read More

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More