२०८३ श्रावण २५

सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्माद्वारा अस्वीकार

काठमाडौं । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले गरेको आह्वान अस्वीकार गरेको छ । साथै, म्यान्माका लागि आसियान विशेष दूतको भूमिकालाई समेत निरन्तरता दिन आवश्यक नरहेको जनाएको छ ।

म्यान्माका पूर्वसेना प्रमुख तथा वर्तमान राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारबाट सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समर्थन जुटाउने प्रयास गर्दै आएका छन् । तर, उनको सरकारले आसियानको शान्ति पहल कार्यान्वयनमा अपेक्षित प्रगति नगरेपछि उनलाई क्षेत्रीय संगठनका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

आसियानले सन् २०२१ को अप्रिलमा म्यान्मामा हिंसा अन्त्य गर्दै द्वन्द्वरत पक्षबीच संवाद अघि बढाउने पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनका लागि आसियानका विशेष दूतलाई सम्बन्धित पक्षसँग संवाद तथा मध्यस्थताको जिम्मेवारी दिइएको थियो ।

सुकीको अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला म्यान्मा सरकारले गत साता अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिलाई उनीसँग भेट गर्न अनुमति दिएको थियो । सन् २०२१ मा नजरबन्दमा राखिएयता सुकीले कुनै स्वतन्त्र अन्तर्राष्ट्रिय मानवीय संस्थाका प्रतिनिधिसँग भेट गरेको यो पहिलो ज्ञात घटना हो ।

८१ वर्षीया सुकी राजधानी नेपिटोमा अज्ञात स्थानमा नजरबन्दको सजाय भोगिरहेकी छन् । उनका समर्थक तथा मानवअधिकार समूहहरूले उनीमाथि लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै आएका छन् ।

आसियानको वर्तमान अध्यक्ष फिलिपिन्सले सुकीसँग अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको भेटलाई संवाद र मेलमिलापतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेको थियो । फिलिपिन्सले म्यान्मामा रहेका राजनीतिक बन्दीलाई थप मानवीय पहुँच उपलब्ध गराउन आग्रह गर्दै सुकीको ‘पूर्ण र बिना सर्त रिहाइ’ को मागसमेत दोहोर्‍याएको थियो ।

तर, म्यान्माको विदेश मन्त्रालयले शनिबार अबेर जारी गरेको वक्तव्यमा आसियानको उक्त मागप्रति असहमति जनाएको छ । मन्त्रालयले मानवीय आधारमा सुकीको सजाय घटाइएको दाबी गर्दै उनको पूर्ण तथा बिना सर्त रिहाइ कानूनअनुसार मात्र सम्भव हुने जनाएको छ ।

म्यान्मा सरकारले आसियानका वर्तमान विशेष दूत तथा फिलिपिन्सका विदेशमन्त्री मारिया थेरेसा लाजारोसँग सहकार्य जारी राख्ने जनाएको छ । तर, आगामी जनवरी १ देखि सिङ्गापुरले आसियानको अध्यक्षता सम्हालेपछि विशेष दूतको वर्तमान प्रक्रियालाई निरन्तरता दिन आवश्यक नरहेको म्यान्माको भनाइ छ ।

म्यान्मा सरकारले देशमा जनताको वास्तविक इच्छालाई प्रतिबिम्बित गर्ने बहुदलीय निर्वाचनमार्फत नयाँ सरकार गठन भएको दाबी गरेको छ । राष्ट्रपति बनेपछि तीन महिनाभन्दा बढी समयपछि सार्वजनिक भाषण गरेका मिन आङ ह्लाइङले पनि आसियानको शान्ति योजनाप्रति असन्तुष्टि जनाएका थिए । उनले केही आसियान सदस्य राष्ट्रले म्यान्माप्रति भेदभाव गरेको आरोप लगाउँदै आफ्नो सरकारले परिस्थितिअनुसार छुट्टाछुट्टै प्रतिक्रिया दिने बताएका थिए ।

म्यान्मामा डिसेम्बर र जनवरीमा सम्पन्न निर्वाचनलाई भने आलोचकहरूले नागरिक शासन पुनःस्थापना गर्ने प्रयासभन्दा सेनाको राजनीतिक तथा सत्तागत पकड बलियो बनाउने उद्देश्यले गरिएको प्रक्रियाका रूपमा व्याख्या गरेका छन् । उनीहरूले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको तथा सेनाको प्रभावबाट मुलुकलाई बाहिर निकाल्न नसक्ने दाबी गर्दै आएका छन् ।

Read More

लुम्बिनीमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

काठमाडौं लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै अभियान थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग छलफल गर्दै आरोग्य पर्यटन प्रवद्र्धन अभियानबारे जानकारी दिएको छ । स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनका विभिन्न ‘प्याकेज’बारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस लगायतका सेवाका विशेषताबारे जानकारी गराए ।

लुम्बिनी प्रदेश होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आरोग्य पर्यटनलाई प्रभावकारी रूपमा अघि बढाउन यसको बजारीकरणमा जोड दिनुपर्ने बताए ।

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने बताए ।

Read More

अविरल वर्षाले सडक अवरुद्ध, पहिरो र बाढीले देशभर यातायात प्रभावित

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीनालामा आएको बाढी र कटानका कारण प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु क्षेत्रमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको आवागमनसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका विभिन्न सडकखण्डमा थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीको कटानका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Read More

झरीमा पनि रोकिएन शिवभक्तको आस्था, पशुपतिनाथमा बिहानैदेखि घुइँचो

काठमाडौं । झमझम पानी परिरहेको छ। सडकमा पानीको चिसो छ, तर भक्तजनको उत्साहमा कुनै कमी छैन। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा शिवभक्तको बाक्लो उपस्थिति देखिएको छ। हातमा पूजा सामग्री बोकेर भक्तजन लामबद्ध हुँदै भगवान् पशुपतिनाथको दर्शनका लागि अघि बढिरहेका छन्।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए। मन्दिर प्रवेशका लागि चारैतर्फबाट छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ।

झरीले छेकिएन भक्तजनको यात्रा

पशुपतिनाथ दर्शनका लागि गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थानलगायत क्षेत्रबाट भक्तजन आउने क्रम बिहानैदेखि जारी छ।

गौरीनगरसम्मै भक्तजनको लाम देखिएको छ। यद्यपि लाममा बसेका भक्तजनले लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा

साउनको अन्तिम सोमबारको अवसरमा सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि उल्लेख्य भीड छ। बिहानैदेखि भक्तजन हातमा जल तथा पूजा सामग्री लिएर मन्दिरतर्फ पुगेका छन्।

पशुपतिनाथको दर्शनसँगै विशेष पूजा गर्न आउने श्रद्धालुका लागि सहज, सुरक्षित र व्यवस्थित व्यवस्थापन मिलाइएको कोषले जनाएको छ।

सुरक्षा र ट्राफिक व्यवस्थापनमा व्यापक तयारी

दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी र काठमाडौं महानगर प्रहरी परिचालन गरिएको छ।

विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाले पनि व्यवस्थापनमा सहयोग गरिरहेका छन्। सवारी आवागमन सहज बनाउन गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगर क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ।

राति ८ बजेसम्म खुला रहने पशुपतिनाथका ढोका

बिहान ३ बजेदेखि खोलिएका पशुपतिनाथ मन्दिरका चारै ढोका बेलुकी आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिर प्रवेशका लागि चारवटै दिशाबाट लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको चाप बढे पनि लाममा लामो समयसम्म बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ।

स्वास्थ्य सेवासहित भक्तजनका लागि विशेष व्यवस्था

पशुपति क्षेत्रमा दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिइएको छ। प्राथमिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।

देशभरका शिवालयमा उस्तै उत्साह

साउनको अन्तिम सोमबारको अवसरमा काठमाडौं उपत्यकाका अन्य प्रसिद्ध शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत ठूला–साना शिव मन्दिरमा समेत भक्तजनको लाम लागेको रासस प्रतिनिधिहरूले जनाएका छन्।

झरीका बीच पनि शिवालयहरूमा देखिएको भक्तजनको उत्साहले साउनको अन्तिम सोमबारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश भूभागमा बदलीसँगै वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। हिमाली, पहाडी तथा तराईका विभिन्न भूभागमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेकाले मौसमअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

कोशी प्रदेश

कोशी प्रदेशका सबै भूभागमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो प्रदेशका अधिकांश क्षेत्रमा बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मधेस प्रदेश

मधेस प्रदेशका अधिकांश भूभागमा हाल आंशिक बदली रहेको छ। दिउँसो तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

बागमती प्रदेश

बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

राति प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा हुनसक्नेछ। केही स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। राति हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ भने एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका सबै भूभागमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो तराई तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा हाल साधारणतया बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

दिउँसो पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भारी तथा धेरै भारी वर्षा हुने सम्भावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्छ। त्यसैले त्यस्ता क्षेत्रका स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्थाबारे नियमित जानकारी लिएर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न महाशाखाले अनुरोध गरेको छ।

Read More

आजको राशिफल

२०८३ साउन २५ गते (१० अगस्ट २०२६), सोमबार

आज श्रावण कृष्णपक्ष द्वादशी तिथि रहेको छ। साँझ ६ः०६ बजेपछि त्रयोदशी तिथि प्रारम्भ हुनेछ। आज आर्द्रा नक्षत्र रहेकोमा बिहान ११ः४८ बजेपछि पुनर्वसु नक्षत्र रहनेछ। चन्द्रमा मिथुन राशिमा रहने भएकाले आजको दिन विचार, संवाद, भेटघाट तथा नयाँ अवसरका दृष्टिले महत्वपूर्ण रहने ज्योतिषीय संकेत देखिन्छ। विभिन्न राशिका जातकले आफ्नो काम, व्यवसाय, आर्थिक गतिविधि, पारिवारिक सम्बन्ध तथा व्यक्तिगत योजनामा उतारचढावको सामना गर्नुपर्ने भए पनि उचित समय व्यवस्थापन, धैर्य र विवेक अपनाउन सके सकारात्मक परिणाम हासिल गर्न सकिनेछ। कसैका लागि नयाँ अवसर र आर्थिक लाभको बाटो खुल्नेछ भने केही राशिले अनावश्यक खर्च, विवाद, कामको दबाब तथा निर्णयमा देखिने द्विविधाबाट जोगिनुपर्नेछ। आजको दिन आफ्नो क्षमता र परिस्थितिअनुसार अघि बढ्नु लाभदायी हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेलैमा योजना बनाएर काम सुरु गर्दा राम्रो उपलब्धि हासिल हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने मिहिनेतको उचित फल प्राप्त हुनेछ। निरन्तर प्रयत्न गर्दा राम्रा अवसर हात लाग्नेछन् र साथीभाइको सहयोगले आँटेका काम पूरा गर्न सहज हुनेछ। भविष्यमा समेत लाभ दिने कामको थालनी हुन सक्छ। आवश्यक भौतिक साधन जुट्नाले दीर्घकालीन योजना अघि बढ्नेछ। व्यापारमा लाभ हुनेछ भने सेवामूलक कार्यबाट प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मिहिनेत गरे पनि अपेक्षित परिणाम तत्काल हात नलाग्न सक्छ। विभिन्न परिस्थितिका कारण काममा बाधा आउन सक्छ भने आफ्नो परिश्रमबाट अरूले फाइदा उठाउने सम्भावना छ। अध्ययनका लागि पर्याप्त समय दिन नसकिने अवस्था आउन सक्छ। समयमा वचन पूरा गर्न नसक्दा आलोचना खेप्नुपर्ला। द्विविधा बढ्दा निर्णय क्षमता कमजोर बन्नेछ। वादविवादबाट काममा अवरोध आउन सक्छ भने आयस्रोत पनि कमजोर रहने देखिन्छ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

पहिले प्राप्त सफलताले थप महत्वाकांक्षा जगाउनेछ र नयाँ अवसरहरू पनि प्राप्त हुनेछन्। केही कठोर निर्णय लिनुपर्ने अवस्था आए पनि टाढिएका आफन्तसँग पुनः निकटता बढ्नेछ। भेटघाट तथा खानपानमा समय बित्नेछ। सहयोगीहरू जुट्नाले आँटेका काम सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ कामको प्रस्ताव आउन सक्छ भने साथ र सहयोग गर्ने व्यक्तिहरूको संख्या पनि बढ्नेछ। मिहिनेत र लगनशीलताका साथ अघि बढ्दा नाम, दाम र इनाम प्राप्त गर्ने राम्रो अवसर मिल्नेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामबाट अपेक्षित नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ने सम्भावना छ। फाइदाको पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्ने भएकाले सतर्क रहनुहोला। समयमा होस नपुर्याउँदा अनपेक्षित चुनौती आउन सक्छन्। आलोचना गर्नेहरू सक्रिय भए पनि सहयोग गर्नेहरू कमै भेटिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। अनियन्त्रित खर्चले आर्थिक तथा मानसिक दबाब बढाउन सक्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आयआर्जनका स्रोत विस्तार हुनेछन् र दैनिक कामबाट पनि उल्लेख्य लाभ प्राप्त हुनेछ। अवसर र चुनौती दुवैका बीच कर्मक्षेत्रमा अघि बढ्ने समय छ। दीर्घकालीन काममा लगानी गर्ने अवसर मिल्न सक्छ। उपलब्धि हासिल गर्न भने थप मिहिनेत आवश्यक पर्नेछ। नतिजा सुधार्न एउटै काम दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ। प्राप्त लाभको केही हिस्सा अरूलाई दिनुपर्ने परिस्थिति बने पनि समग्रमा परिश्रमको उचित फल प्राप्त हुने समय छ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा र सम्मान दिलाउन सक्छ। साथीभाइको सहयोगले आत्मविश्वास र हौसला बढ्नेछ। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। बुद्धि र विवेकको सही प्रयोगबाट काम सफलतापूर्वक सम्पन्न हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुँदा महत्वाकांक्षी योजना अघि बढ्न सक्छ। समाजमा प्रशंसनीय काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यापारमा लाभांश बढ्ने सम्भावना छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिका कारण लाभ नहुने काममा अल्झिनुपर्ने अवस्था आउन सक्छ। मिहिनेत गरे पनि अपेक्षित मूल्य वा प्रतिफल प्राप्त नहुन सक्छ। अरूको भर पर्नाले पछि परिने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसको उपलब्धि देखिन केही समय लाग्नेछ। अस्वस्थताका बीच कामको बोझ बढ्न सक्छ। आफ्नै क्षेत्रमा समेत अपेक्षाअनुसार प्रदर्शन गर्न कठिनाइ हुन सक्छ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य काममै धन र श्रम बढी खर्चिनुपर्ने अवस्था आउन सक्छ। समस्यालाई गम्भीरतापूर्वक नलिँदा पछि दुःख पाइने सम्भावना छ। गलत व्यक्तिमाथि विश्वास गर्दा धोका हुन सक्छ। अस्वस्थताका कारण कमजोरी महसुस हुनेछ। स्वास्थ्यका लागि नियमित व्यायाम तथा खानपानमा विशेष ध्यान दिनुहोला। गोपनीय कुरा बाहिरिँदा आफ्नो वस्तु वा अधिकारमाथि अरूले दाबी गर्न सक्छन्। बिग्रिएको काम सच्याउन पुनः प्रयास गर्नुपर्नेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

रमाइलो यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्न सक्छ। कामको चापबाट केही राहत मिल्नेछ। व्यवसायबाट मनग्य आम्दानी प्राप्त हुने सम्भावना छ। विभिन्न व्यक्ति वा क्षेत्रबाट सहयोग तथा उपहार प्राप्त हुन सक्छ। प्रशंसनीय काम सम्पन्न हुनेछ। परिवारजनको साथले नयाँ आशा र उत्साह जगाउनेछ। अतिथिका रूपमा सम्मान तथा मानप्रतिष्ठा प्राप्त हुने योग छ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

मिहिनेती व्यक्तिका लागि आजको समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष र ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। आफ्नो पराक्रम र क्षमताका बलमा अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीलाई पार गर्दै काम सफल बनाउन सकिने समय छ। स्वास्थ्य सबल रहनेछ भने विरोधीहरू पनि कमजोर हुनेछन्। व्यापारलगायत लाभदायी कामको सुरुवात गर्न सकिनेछ। महत्वाकांक्षी योजना तथा नयाँ कार्यको शुभारम्भका लागि समय अनुकूल देखिन्छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा काम पूरा नगर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूका लागि आफ्नो बुद्धि, समय र श्रम खर्चिनुपर्ने अवस्था आउन सक्छ। अवसर प्राप्त भए पनि नयाँ काममा हात हाल्नुअघि पर्याप्त सोचविचार गर्नु आवश्यक छ। परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आए पनि गरेको कामले भविष्यप्रति आशा जगाउनेछ। समय र परिस्थितिको मागअनुसार आफूलाई अघि बढाउने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। निरन्तर मिहिनेत गरे अध्ययनमा प्रगति हुनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

सोचविचार नगरी वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। अनावश्यक रूपमा अरूको फाइदाका लागि प्रयोग हुने सम्भावना भएकाले सचेत रहनुहोला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामान वा सम्पत्तिमाथि अरूले दाबी गर्न सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौताको बाटो खुल्न सक्छ। स्थायी सम्पत्तिसम्बन्धी विवाद समाधान गर्न सकिने सम्भावना छ। अनावश्यक सम्बन्ध वा साइनो गाँस्ने व्यक्तिहरूबाट भने सावधान रहनुहोला।

Read More