काठमाडौं। लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै अभियान थालिएको हो ।
निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग छलफल गर्दै आरोग्य पर्यटन प्रवद्र्धन अभियानबारे जानकारी दिएको छ । स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनका विभिन्न ‘प्याकेज’बारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस लगायतका सेवाका विशेषताबारे जानकारी गराए ।
लुम्बिनी प्रदेश होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आरोग्य पर्यटनलाई प्रभावकारी रूपमा अघि बढाउन यसको बजारीकरणमा जोड दिनुपर्ने बताए ।
नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने बताए ।




